फिक्कल । प्रयोगविहिन रहेको सुर्योदय नगरपालिका वडा नम्बर–४ को सूर्योदय प्राथमिक विद्यालयको भवनमा अब गाउँघर क्लिनिक संचालनमा आउने भएको छ । २०५३ सालमा स्थापना भएर विद्यार्थी अभावका कारण गत बर्षबाट बन्द रहेको विद्यालयलाई गाउँघर क्लिनिक संचाल गर्ने तयारी भएको हो । पठनपाठन रोकिएपछि विद्यालय भवन आदर्श टोलले संरक्षण गरिरहेको थियो ।
विद्यालय बन्द भएपछि प्रयोगविहिन भएको सो भवनको सदुपयोग गरि गाउँघर क्लिनिक संचालन गर्न हस्तान्तरण गरिएको टोलका सह—सचिब गोम बहादुर बस्नेतले बताए । श्रीअन्तु स्वास्थ्य चौकीले करिब १५ बर्ष अघिबाट संचालन गरिरहेको उक्त क्लिनिक आदर्श टोल विकास संस्थाको मातहतमा आएपनि कार्यालय विहिन अवस्था थियो । अहिले सम्म स्थानिय समाजसेवी टिकामाया कार्कीको घरमा संचालित क्लिनिकले आफ्नै भवन पाएको हो ।
आदर्श टोल विकास संस्थाको आयोजनामा मंगलबार भएके हस्तान्तरण कार्यक्रममा दुई सामाजिक ब्यक्तिहरुलाई सम्मान गरिएको छ । विद्यालयको स्थापनाकालमा भवन निर्माणका लागि चारआनी जग्गा दान गर्ने डम्बरदेवी कार्की र क्लिनिक संचालनका लागि घर उपलब्ध गराउने टिकामाया कार्कीलाई सम्मान गरिएको हो ।
कार्यक्रमको अवसरमा स्थानिय जयकला बस्नेतले कार्यालयलाई एक थान बेड उपलब्ध गराएकी छन् । आमा समुहकी अध्यक्ष भुवनेस्वरी घिमिरेको अध्यक्षता एवम् श्रीअन्तु स्वास्थ्य चौकी छिरुवाकी अनमी हेम कुमारी शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा टोलकी उपाध्यक्ष बालकुमारी घिमिरेले स्वागत मन्तब्य राखेकी थिइन् । कार्यक्रम टोल विकास समितिका सचिब राम प्रसाद दाहालले संचालन गरेका थिए ।