कन्याम । ५८ औं रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी कन्याम उपशाखाको आयोजनामा रेडक्रस तथा रक्तसंचार परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता तथा उपशाखाका सभापति वेद प्रसाद गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा इलाम जिल्ला नेपाल रेडक्रस सोसाईटी सभापति शिव गौतम बिशेष अतिथिको रुपमा रहेका थिए ।
कार्यक्रममा शाखाका कोषाध्यक्ष प्रेम गिरीले स्वागत मन्तब्य र सहसचिब भुपाल खड्काले उपशाखाको प्रगति बिबरण र भावी कार्यक्रम पेश गरेका थिए । इलाम जिल्ला रेडक्रसका परामर्शदाता रोम आचार्यले रेडक्रस तथा रक्त संचार र सभापति गौतमले जिल्ला शाखाको भुमिकाको बारेमा आफनो धारणा राखेका थिए ।
उपशाखाले बिपदको बेला गर्ने मानविय सेवा, समय समयमा आयोजना गर्ने रक्तदानको कार्यक्रम, विद्यार्थीहरुको लागि विभिन्न शैक्षिक प्रतियोगितात्मक कार्यक्रम आदिलाई निरन्तरता दिंदै आगामी दिनमा नगरपालिका भित्रै रक्त युनिट संचालन, एम्बुलेन्स संचालन आदिको लागि राखेको जिज्ञासा माथि बोल्दै नगर प्रमुख राईले नगरपालिका रेडक्रस जस्ता संस्थाहरु सँग सहकार्य गरि आगाडी बढ्न तयार रहेको बताए ।
उनले १५ शैय्यामा स्तरोन्नति हुन लागेको फिक्कल अस्पतालमा रक्त युनिट संचालनको लागि कक्ष दिन सकिने बताए । उपशाखाले गत आर्थिक बर्षमा मा प्रदेश सांसद विकास कोषबाट बिनियोजित रकमबाट आफ्नै भवनको मर्मत सुधारको काम सम्पन्न गरेको थियो ।
