इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले छिमेकी मुलुक भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी नेपालका विशिष्ट मित्र भएको बताएका छन् । पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति श्रद्धान्जली व्यक्त गर्दै वरिष्ठ नेता खनालले नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्रा मार्फत एक समवेदना सन्देश पठाएका हुन् ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै पूर्व प्रधानमन्त्री खनालले आफ्नो समवेदना सन्देशमा भनेका छन् , ‘भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनको खबर पाउँदा म अत्यन्त दुःखी छु ।’ नेता खनालद्धारा जारी विज्ञप्तीमा भारतको परराष्ट्रमन्त्री लगायतका विभिन्न जिम्मेवारीमा रहँदा मुखर्जीले नेपाल भारत सम्बन्धका विभिन्न आयाममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पनि उल्लेख छ ।
दुई देशबीचको सम्बन्ध सुदृढ पार्न मुखर्जीको ठूलो योगदान रहेको उल्लेख गर्नुहुँदै वरिष्ठ नेता खनालले मुखर्जी नेपालका एक हितचिन्तक र कुशल मित्र रहेको स्मरण गरे । खनालले आफ्नो समवेदनामा भनेका छन् , ‘म दिवंगत नेता मुखर्जीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछु ।’