इलाम : जातीय भेदभाव र छुवाछूतका घटनामा सरोकारवालाहरुको भूमिका र अभ्यास बिषयक सार्वजनिक बहस आज इलाम सदरमुकाममा सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरुले विभेदका घटनाहरुमा सरोकारवालाहरु नै जिम्मेवार नबनेको गुनासो गरेका छन् । जातीय भेदभाव र छुवाछूतका घटनाका पींडितहरुको न्यायको लागि संविधान एवं प्रचलित कानूनहरु कार्यान्वयनमा सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने भन्दै कार्यक्रमका सहभागिहरुले सबैको सामूहिक पहल र प्रतिबद्धताबाट मात्रै कुसंस्कारको रुपमा रहेको जातीय भेदभाव र छुवाछूतको अन्त्य हुनेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले जातीय भेदभाव र छुवाछूत समाज कलंकको रुपमा रहेको भन्दै यसको अन्त्यको लागि सबै सरोकारवालाहरु जिम्मेवार र प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । उनले भने– “विभेदको अन्त्यको लागि सबैभन्दा बढी राज्य जिम्मेवार बन्नुपर्दछ र कानूनको कार्यान्वयनमा कसैले अवरोध गर्नु हुँदैन ।”
जिल्ला समन्वय समितिकी उपप्रमुख चित्रकला बराईलीले विभेदको अन्त्यको लागि सबैभन्दा बढी राज्यका निकायहरु जिम्मेवार बन्नुपर्ने बताईन् । जातीय विभेदका घटनाहरुमा राज्यका निकायहरुको भूमिका प्रभावकारी नभएकै कारण यस्ता घटनाका पींडितहरुले न्याय नपाउने गरेको उपप्रमुख बराईलीले गुनासो गरिन् । दलित समुदायलाई आर्थिक, शैक्षिक, राजनीतिक लगायत सबै हिसाबले माथि नउठाइकन समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान सफल नहुने उनले बताईन् ।
उच्च अदालत विराटनगर, इलाम इजलासका रजिष्ट्रार नवराज दुलालले विभेदको अन्त्यको लागि पहल, प्रयत्न भइरहेको भएपनि अभ्यासमा कतिपय कमीकमजोरीहरु रहेको स्वीकार गरे । “दलित समुदायले भोगिरहनुपरेको विभेद सम्झदा नै दुःख लाग्छ ।” उनले भने– “विभेद मानवीय कुरा पनि हो र यो गम्भिर अपराध हो ।”
कार्यक्रममा बोल्दै नेकपा इलामका कार्यालय सचिव एवं दलित अधिकारकर्मी नवराज शंकरले आजसम्म दलित समुदायले विभेद र अपमान सहिदिएका कारण सामाजिक सद्भाव कायम भएको बताए । तर अब सद्भाव खल्बलिने नाममा विभेद र अपमान सहेर बस्नु नहुने उनले बताए । “मान्छे एक पटक मर्दछ तर दलित समुदाय विभेद, छुवाछूत र अपमान सहेर दिनहुँ जिउँदै मरिरहेको छ ।” उनले भने– “समाजमा विभेद ज्यूँका त्यूँ छ, फरक यति हो कि हिँजो भएका र आज हुने विभेदका स्वरुपमा भिन्नता आएका छन् ।”
विभिन्न संस्कार, परम्पराका नाममा समाजमा जातपात र छुवाछूत विद्यमान रहेको जिल्ला सरकारी वकिल युवराज महतले बताए । कतिपय घटनामा आफूहरुले कानूनको परिपालना गर्ने गर्दा दलित समुदायमाथि न्याय नभइ अन्याय हुने गरेको उनले बताए । “म जातमा माथि तल कहाँ पर्छु थाहा छैन तर म पनि जातीय भेदभाव र छुवाछूत विरुद्धको अभियान्ता हुँ” उनले भने– “विभेदका विरुद्धमा सबै अभियान्ताहरु एकजुट भएर लाग्नुपर्दछ ।”
कार्यक्रममा दलित जनाधिकार मञ्चका महासचिव प्रकाश परियारले विभेदको अन्त्यको लागि दलित समुदायको संगठित प्रयास अपरिहार्य रहेको बताए । बुज्रुकहरुकै सोंच र व्यवहारमा नै विभेद हट्न नसकेको भन्दै महासचिव परियारले जनप्रतिनिधि, कर्मचारी, प्रहरी प्रशासन, पत्रकार लगायतका सबैखाले सरोकारवालाहरु जिम्मेवार बन्न नसकेकै कारण समस्या रहेको बताए ।
कार्यक्रममा मानव अधिकार मञ्च, नेपालका सचिव अधिवक्ता देवेन्द्र विश्वकर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । सार्वजनिक बहसको बिषयमा रहेर वरिष्ठ प्रहरी उपरिक्षक नवीनकुमार राई, सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, नेकपाका जिल्ला कार्यालय सदस्य भक्त केसी, नेपाली कांग्रेसका धनमान बराईली, जनता समाजवादी पार्टीका छिकिन तामाङ्ग, गैरसरकारी संस्था महासंघका अध्यक्ष कमल नेपाल, जनजाति महासंघ जिल्ला समन्वय परिषद्का उपाध्यक्ष दिपक गुरुङ्ग, जिल्ला बार एशोसिएसनका अध्यक्ष तारानाथ पराजुली लगायतले बोलेका थिए ।
उत्पीडित जातीय अधिकार मंच इलाम र इलाम नगरस्तरीय दलित समन्वय समितिको संयुक्त आयोजना एवं गैरसरकारी संस्था महासंघ इलाम, जनजाति महासंघ जिल्ला समन्वय परिषद् इलाम, नेपाल पत्रकार महासंघ इलाम र मानव अधिकार मञ्च नेपालको सहकार्यमा भएको कार्यक्रम इलाम नगरस्तरीय दलित समन्वय समितिका अध्यक्ष मनकुमार बराईलीको अध्यक्षतामा भएको थियो ।
