इलाम । नेपाल जापान फुटबल संघले ब्लड क्यान्सर पिडित कसुमी राईको उपचारको लागि १ लाख ६१ हजार रुपैया भन्दा बढि सहयोग प्रदान गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी शिब खड्का र पुर्व राष्ट्रिय खेलाडी बसन्त गौचनको अग्रसरतामा संकलन गरिएको १ लाख ५६ हजार २९ रुपैया र शिबहरी पाैडेलले थप सहयाे गरेकाे ५ हजार गरी कुल १ लाख ६१ हजार २९ रुपैया नगद नेपाली महिला टिमका प्रशिक्षक हरि खड्का र महिला टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले कसुमीका बुवा एपीएफका पुर्व खेलाडी एवम महिला टिमका प्रशिक्षक नरकुमार राईलाई प्रदान गरे ।
त्यसैगरी जुनियर फुटबल एकाडेमी सानेपाका प्रशिक्षक र स्टाफहरुले समेत २० हजार रुपैया सहयोग प्रदान गरेका छन् । बिगत ८ महिना देखी क्यान्सर पिडित कसुमीको हाल कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । कसुमीको उपचारका लागि भनेर हालसम्म करिब १० लाख रुपैया सहयोग प्राप्त भएको छ । देशविदेशमा हुने नेपालीहरुले अझै सहयोग रकम जुटाउने प्रतिवद्धता दिएको नरकुमारले बताए । कसुमीको बारेमा लोकल सन्देशले निरन्तर समाचार सम्प्रेषण गर्दै आइरहेको छ ।
हाल महिला फुटबलमा बलियो स्थितिमा रहेको एपिएफ महिला टिमको निमार्णकर्ता नै राई हुन् । राष्ट्रिय टिमकी गोलरक्षकसमेत रहेकी इलामकै एन्जिला तुम्वापो सुब्बासहित सावित्रा भण्डारी (साम्बा), अनिता बस्नेत, अनिता केसी, मनमाया लिम्बू, गीता राना, सरु लिम्बू जस्ता खेलाडीहरूलाई प्रशिक्षण दिएर राईले नेपाली राष्ट्रिय टोलीका भरपर्दा खेलाडीको रुपमा उभ्याउन सफल भएका छन् ।
