इलाम । आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माणमा जुटेका इलामका स्थानीय तहले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन् । सडक, खानेपानी र पूर्वाधारलाई प्राथमिकता दिँदै आएका स्थानीय तहले आगामि आर्थिक वर्षको बजेटका प्राथमितामा कृषि र स्वास्थ्य परेका हुन् । अघिल्ला आर्थिक वर्षमा पूर्वाधार र पर्यटन उद्योगलाई प्राथमिकता दिएको इलाम नगरपालिकाले आगामि आर्थिक वर्षको बजेटमा कृषि र स्वास्थ्य क्षेत्र प्राथमिकता दिएर बजेट निर्माण गरेको छ । कोरोना भाइरसले अर्थतन्त्र कमजोर भएपछि श्रममा आधारित रोजगारी सिर्जना गर्न कृषि क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गर्ने नगरपालिका प्रमुख महेश बस्नेतले बताए । ‘हामीले पूर्वाधार निर्माण र पर्यटनलाई प्राथमिकताका साथ काम गरिरहेका थियौँ,–प्रमुख बस्नेतले भने–‘विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरसले अर्थतन्त्र नै कमजोर बनाएकाले रोजगारी सिर्जना हुने गरि कृषि र रोग नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन बजेटमा प्राथमिकता दिएका छौँ ।’
३६ करोड ६६ लाखको बजेट सिलिङ रहेको चुलाचुली गाउँपालिकाको प्राथमिकता कृषि क्षेत्रमा परेकाे छ । चुलाचुली गाउँपालिमा बसोबास गर्नेको मुख्य पेशा कृषि रहेकाले कृषिमा आधुनकीकरण गर्ने योजना समेटेर बजेट ल्याउने गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताए । ‘झापाका बजारसँग चुलाचुलीको सजिलै पहुँच पुग्ने भएकाले हामी गाउँपालिकाबासीलाई कृषि र तरकारी खेती प्रति अघि लगाउने योजनामा छौँ–अध्यक्ष राईले भने–‘कोरोनाको रोग फैलिएकाले देश र विदेशबाट रोजगारी गुमाएर घर फर्किनेको संख्या धेरै हुने भएकाले उनीहरुलाई स्वरोजगार बनाउन कृषिलाई व्यवसायीकरण गर्ने योजना छ ।’ चुलाचुली गाउँपालिकाले विकास निर्माणका काममा पनि स्थानीय नागरिकलाई प्राथमिकता दिने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए ।
इलामका दशवटै स्थानीय तह अहिले आगामि आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माणमा जुटेका छन् । कोरोना भाइरसका कारण टोल तथा वडा भेला नगरेपनि जनप्रतिनिधिहरु टोल–टोलमा पुगि योजना संकलन गरि प्राथमिकता छनौट गरेका थिए । प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य घोषित सन्दकपुर गाउँपालिकाले कृषि र पर्यटकलाई प्राथमिकता राखेको गाउँपालिका अध्यक्ष उदय राईले बताए । ‘नयाँ योजना हामीले छनौटमा कम प्राथमिकता दिएका छौँ, अध्यक्ष राईले भने–‘हामी कृषि र पर्यटक मार्फत हाम्रो गाउँपालिकाको अर्थतन्त्रलाई चलायमान बनाउँछौँ ।’ विकास निर्माणमा स्थानीय श्रम शक्तिकाे उपयोग गरि विकास निर्माणका कामलाई अघि बढाउँदै गाउँमै रोजगारी सिर्जना गर्ने गाउँपालिकाको योजना छ । पुराना योजनाहरुलाई पुरा गर्ने र नयाँ योजनालाई प्राथमिकताका आधारमा छनौट गरिँदै आएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । माङ्सेबुङ्ग गाउँपालिकाले कृषि क्षेत्र पशुपालन र कोरोना रोकथामलाई प्राथमिकता दिएर बजेट निर्माण गरेको छ ।
३३ करोड ११ लाखको बजेटको सिलिङ गाउँसभामा पेश गर्ने गरि निर्माण भएको बजेटमा रोजगारीका अवसर सिर्जना हुने खालका सीपमुलक कार्यक्रममा बजेट विनियोजन गर्ने गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । स्वास्थ्य संस्थाको स्तराेन्नती, औषधि खरिद, क्वारेन्टाइनहरुको सुधार गर्ने गरि स्वास्थ्य क्षेत्रमा काम हुँदै आएको छ । फजुल खर्च कम गर्दै विकासका योजनाहरुलाई निरन्तरता दिने काम भइरहेको छ, प्रमुख प्रशासकिय अधिकृत डिल्लिराम सुवेदीले भने–‘नयाँ योजनालाई भन्दा पनि पुराना विकासका योजनाहरुलाई पुरा गर्ने गरि बजेट विनियोजन गरेका छौँ ।’
चियाको राजधानी रहेको इलामको सूर्योदय नगरपाकिलाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता राखेको छ । पर्यटकीय नगर घोषित नगरपालिकाले स्वास्थ्य पछि कृषि, शिक्षा, रोजगारलाई प्राथमिकतामा राखेको नगरपालिकाको भौतिक पूर्वाधार विकास समितिका संयोजक होम कार्कीले बताए । अघिल्ला वर्षहरुमा पूर्वाधारलाई प्राथमिकता दिएको नगरपालिकाको प्राथमिकताको पाँचौ नम्बरमा रहेको छ ।
अघिल्ला आर्थिक वर्षमा सडक र पूर्वाधारका योजनालाई प्राथमिकता दिएपनि आगामि आर्थिक वर्षमा रोजगार, कृषि र स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिएका गाउँसभामा बजेट पेश गर्ने योजना रहेको माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए । देउमाई नगरपालिकाले ७२ करोड बढीको बजेट विनियोजन गरेको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिएको प्रमुख सुर्य पोखरेलले बताए । माई नगरपालिकाको नगर सभा आजबाट शुरु हुँदैछ । निति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको नगरपालिकाका प्रशासकिय अधिकृत नविन कुमार पौडेलले बताए ।
रोङ गाउँपालिकाको गाउँसभा पनि आजबाट शुरु हुने भएको छ । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालका अनुसार स्थानीय तहले आगामि आर्थिक वर्षमा कृषि, स्वास्थ्य, शिक्षा र श्रममा आधारित रोजगारलाई प्राथमितामा राखेका छन् । वैदेशिक रोजगारबाट फर्केनेको संख्या अधिक हुने भएकाले उनीहरुलाई रोजगारी डो¥याउन सक्ने योजनाप्रति स्थानीय तहको प्राथमिकता रहेको बरालको भनाई छ । स्थानीय तहले खाध्यान्न बाली र नगदेवाली उत्पादनमा वृद्धि गर्न किसान लक्षित योजना बजेटमा समेटेका छन् । १० वटा स्थानीय तह रहेको इलाममा सबै स्थानीय तहले अहिले गाउँ तथा नगर सभा गर्दैछन् ।