इलाम : इलाम नगरपालिका इलामको सातौ नगरसभा आजबाट शुरु भएको छ । इलाम नगरपालिका नगरसभाहलमा नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा सञ्चालन भएको आजको बैठकमा प्रदेश नं १ का भुमि व्यवस्था तथा कृषि राज्यमन्त्री राम बहादुर रानाकाे प्रमुख आतिथ्यता रहेको थियो । । सभामा नगरसभा सदस्य श्री नुतनदेव दुलाल श्री नारद प्रसाद लम्साल र श्री चित्रमाया गुरुङ्गले शुभकामना मन्तव्य राखेका थिए ।

बैठकको कार्यसूचि अनुसार सभाको पहिलो बैठकमा आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम उपप्रमुख श्री सुशिला नेम्वाङ्गले प्रस्तुत गरेकी थिइन् । उक्त नीति तथा कार्यक्रममा जम्मा ६ जना सदस्यले आफ्नो जिज्ञासा राखेका थिए । त्यसै गरी आजै बसेको दोश्रो बैठकमा आर्थिक बर्ष २०७७/७८ को आर्थिक प्रस्ताव तथा विनियोजन प्रस्ताव आर्थिक समिति संयोजक नारद प्रसाद लम्सालले पेश गरेका छन् । उनले आगामी आर्थिक बर्षको लागि १ अर्ब ३ करोड ७३ लाख १२ हजार बराबरको बजेट विभिन्न शिर्षकमा विनियाेजनका लागि प्रस्तावमा ल्याएका छन् । बैठकमा पेश भएका सवै प्रस्तावहरु सर्वसम्मत रुपमा पास भएको छ । आषाढ १० गते २ वटा बैठक बस्ने कार्यसूची रहेको छ ।
