चुलाचुली । दक्षिणि इलामको चुरे क्षेत्रमा शसस्त्र प्रहरीको सीमा सुरक्षा बेस क्याम्प राखिएपछि आपराधिक घटनामा कमी आएको छ । झापासँग सीमा जोडिएको चुलाचुली, माङ्सेबुङ्ग गाउँपालिका र माई नगरपालिका क्षेत्रमा शसस्त्र प्रहरी सुरक्षा बेस क्याम्प राखिएपछि जनतामा सुरक्षाको अनुभुति भएसँगै चोरी तस्करीमा पनि कमि आएको हो ।

जनसंख्या र चुरे क्षेत्रमा नेपाल प्रहरीको टोलीबाट मात्रै सुरक्षा पहुँच नपुगेपछि शसस्त्र प्रहरीको बेस क्याम्प राखिएको थियो । तीन वटै स्थानीय तहमा एक÷एक वटा शसस्त्र प्रहरीका सुरक्षा वेस क्याम्प रहेका छन् । शसस्त्र प्रहरी निरिक्षकको नेतृत्वमा रहने शसस्त्र प्रहरीको सुरक्षा बेस बसेपछि नियमित रुपमा गस्ति हुन थालेपछि आपराधिक घटनामा कमी आएको चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले बताउनुभयो । ‘सुरक्षा बेश क्याम्प राखेपछि शान्ति सुरक्षाको महसुस जनताले गरेका छन्, अध्यक्ष राईले भन्नुभयो–‘चुरे क्षेत्रबाट चुलाचुली गाउँपालिकाको बाटो भएर काठ तस्करी पनि हुने गरेपनि अहिले रोकिएको छ ।’

माङ्सेबुङ्ग गाउँपालिकाको चिसोपानी, माई नगरपालिकाको दानाबारी र चुलाचुली गाउँपालिकाको कमल क्षेत्रमा शसस्त्र प्रहरी बेस क्याम्प राखिएका छन् । चुरे क्षेत्रमा राज्यको उपस्थित नहुँदा बहुमुल्य सखुवा काठको तस्करी अत्याधिक हुने गरेको चुरे क्षेत्रमा शसस्त्र प्रहरीको क्याम्प राखिएपछि तस्करीमा कमी आएको डिभिजन वन इलामका साहायक वन अधिकृत याम बहादूर रुम्बाले बताउनुभयो । ‘शसस्त्र वन रक्षक भएपनि सुरक्षा उपस्थित पर्याप्त थिएन शसस्त्र प्रहरीको उपस्थित भएपछि काठ तस्करीमा धेरै कमी आएको देखिन्छ, रुम्बाले भन्नुभयो–‘सखुवाको वन तस्करी नियन्त्रणमा आएसँगै वन कार्यालयको संरक्षण कार्यक्रम प्रभावकारी भएको छ ।’
चुरे क्षेत्रमा पर्ने दक्षिणि इलामका तीन स्थानीय तहमा रहेका सामुदायीक वनबाट झापा जिल्ला हुँदै भारतसम्म सुखवाका काठ तस्करी भएपछि स्थानीय जनप्रनिधिहरुले पनि शसस्त्र प्रहरीको सुरक्षा बेस राख्न माग गरेका थिए । स्थानीय जनप्रनिधिहरुको माग अनुसार जिल्ला सुरक्षा समितिले सुरक्षाको अति संवेदनशिल मानिएका र तस्करले प्रयोग गर्ने मुख्य नाकाहरुमा सुरक्षाकर्मीको टोली राखेको थियो । नेपाल प्रहरीको उपस्थित भएपछि अपाराधिक घटना धेरै भएकाले शसस्त्र प्रहरीको क्याम्प स्थापना गरिएको चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताउनुभयो । शसस्त्र प्रहरीको क्याम्पका लागि आवश्यक आवस गृह निर्माणका लागि गाउँपालिकाले हरेक वर्ष सहयोग गर्दै आएको राईले जानकारी दिनुभयो ।

शसस्त्र प्रहरीको उपस्थिति भएपछि आनन्दले बस्न पाइएको चुलाचुली १ का मानबहादूर मिश्रले बताउनुभयो । ‘शसस्त्र प्रहरी नहुँदा घरमा ढुङ्गा हान्ने, ग्याँटिसले ढुङ्गा बर्साउने घटना समेत घटेका थिए, ८० वर्षिय मिश्रले भन्नुभयो–‘अहिले आनन्दले रात कटाउन पाएका छौँ ।’

चुरे क्षेत्रका तीन वटै सुरक्षा बेसबाट नियमित रुपमा २४ सै घण्टा गस्ति हुने भएपछि पछिल्लो समय चोरी तस्करीमा कमी आएको मिश्रको भनाइ छ । चुरे क्षेत्रमा वर्षातको समयमा हुने विपद्का घटनाहरुमा उद्धारका लागि खट्ने भएकाले स्थानीय जनता खुशि रहेको शसस्त्र प्रहरीको चुलाचुली बेसक्याम्पका प्रमुख भोला खत्रीले बताउनुभयो । ‘शान्ति सुरक्षासँगै चुरे क्षेत्रमा वर्षातमा धेरै बाढी पोहिरोको घटना हुने भएकाले हामी विपद्का घटना हुन नदिन जनचेतनामुलक र उद्धारको काम पनि खटिरहेका छौँ ।