Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकाको नमुना सामुदायिक वनमा बैज्ञानिक वन ब्यवस्थापन कार्य विवादित बन्दै

माई नगरपालिकाको नमुना सामुदायिक वनमा बैज्ञानिक वन ब्यवस्थापन कार्य विवादित बन्दै

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ २१ २०७७


माई नगरपालिकाको नमुना सामुदायिक वनमा बैज्ञानिक वन ब्यवस्थापन कार्य विवादित बन्दै

माई । इलामको दक्षिणी क्षेत्र माई नगरपालिका वडा नम्बर–२ र ४ मा रहेको नमुना सामुदायिक बन उपभोक्ता समुहले बैज्ञानिक बन ब्यबस्थापनको काममा आन्तरिक विवाद सुरु भएको छ । सामुदायिक बनले बैज्ञानिक वन ब्यबस्थापनका नाममा १ सय ३८ थान हरिया ठाँडा रुख कटान गर्ने डिभिजन बन कार्यालय इलामबाट आदेश ल्याई रुख कटान गर्न थाले पछी विवाद सतहमा आएको हो । नमुना बन समुह भित्रको माई–२ मा पर्ने खरमरे डाँडामा समुहले रुख कटान गर्न शुरु गरेपछी उपभोक्ता र पदाधिकारीहरु बिच आरोप प्रत्यारोप समेत हुने थालेको छ । बैज्ञानिक बन ब्यवस्थापन भनेको हुर्केको छोरोलाई मारेर अब जन्मने छोराले पछी पाल्छ भन्नु सरह भएको उपभोक्ता रुद्र फुयाँलको धारणा छ ।
नमुना सामुदायिक बनकोे दुई नम्बर ब्लकमा रहेकोे ११६ नम्बरको सुखुवा जातको र ३०१ नम्बरको एक थान कुकाठ जातको रुख काटी सकिएको छ । उपभोक्तालाई समेत जानकारी नदिई एकाएक रुख काटिएकाले उपभोक्ता आक्रोशित भएका छन । रुख काटिए पछी विवाद पेचिलो रुप लिएको हो । बुढा, सय बर्ष पुगेका, आख्ला भएका र जोखिममा परेका १ सय ३८ वटा रुख काटीन लागेको हो बन समुहले जानकारी दिएको छ । डिभिजन बन कार्यालय इलामको स्वीकृती र निर्देशनमा काम भएको बन समुहले जनाएको छ ।
चुरे क्षेत्रमा हरिया रुख काटनु भनेको दोस्रो पुस्तालाई चुरेमा बस्ती बस्न निषेध गर्नु सरह भएको स्थानीय युवा कोबित दहालको भनाई छ । दहालका अनुसार ३ सय ५२ जना उपभोक्ताको हस्ताक्षर गरि हरियो रुख कटान रोक्न समेत डिभिजन कार्यालय इलाम लगायत मातहत निकायमा अनुरोध गरेका छन । नमुना सामुदायिक बनमा ५ सय ५० जना उपभोक्ता रहेका छन । चुरे क्षेत्रमा बैज्ञानिक बनका नाममा रुख कटान गर्नु भनेको भुक्षय गर्नु र पानीका श्रोतहरुको अन्त्य गर्नु रहेको बताईएको उपभोक्ता प्रेम प्रसाद दहालको भनाई रहेको छ । मस्ते गाँउका २०–२५ परिवारको पानीको श्रोत समेत सोही स्थानमा रहेको बताएको छ ।
माई–२ का वडाध्यक्ष खम्बसिंह लिम्बु आफ्नो वडामा एक सय ७४ जनाको हस्ताक्षर सहित रुख कटान रोक्न निबेदन आएकाले वडाका जनप्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको बताए । अनुगमन पछी निबेदन गर्ने उपभोक्ताहरुलाई जनप्रतिनिधिका हैसियतले आफ्नो कार्यकाल भरि हरिया रुख कटान गर्न सहमति नदिने प्रतिबद्धता व्यक्त गरे । वडाध्यक्ष लिम्बुले चुरे क्षेत्रमा रुख कटान गर्नु भनेको भुक्षय र प्रकोपलाई निम्तो गर्नु रहेकाले कुनै हालतमा रुख काट्न नदिने बताए । माई नगरपालिकाका समाजसेबी तथा नेपाली काँग्रेसका सभापति कृष्ण खाकीले भने उपभोक्तालाई थाहा नै नदिई चुरे अतिक्रमण गर्नु गलत भएको धारणा भएको बताए । लकडाउनका समयमा बिपन्नलाई राहात प्रदान गर्ने बेलामा होडबाजी गरेर वन काटिनु निन्दनीय भएको उनको प्रतिक्रिया छ ।
विधि र प्रक्रियाका आधारमा कार्ययोजना बनाएर काम अघि बढाइयो : अध्यक्ष आर्चाय
यता बन समुहका अध्यक्ष छबिलाल आचार्यले भने बिधि र प्रकृयाका आधारमा कार्यायोजना बनाई कार्य गरिएकाले आफ्नो कार्ययोजना सम्पन्न गर्न लागेको बताए । आर्थिक बर्ष २०७४/०७५ देखि आर्थिक बर्ष २०८३/०८४ सम्मका लागि प्रस्ताब गरिएको बन ब्यबस्थापन कार्य योजना बमोजिम गरिएको उनको भनाई छ । बैज्ञानिक बन ब्यवस्थापनको प्रारम्भिक बाताबरणिय प्रभावको बारेमा २०७४ साल पुष १६ गते सुचना प्रकाशित गरिएको र उपभोक्ताको निर्णय तथा बिभिन्न १० बटा संस्थालेको स्वीकृतीका आधारमा कार्य गरेको आर्चायले जानकारी दिए ।
बैज्ञानिक बन ब्यवस्थापन कार्यान्वयन गर्दा कुनै भौतिक, जैविक, आर्थिक, सामाजिक र साँस्कृतिक पक्षहरु तथा यिनका अन्तर सम्बन्धित क्षेत्रहरुमा पर्ने प्रभावहरुको बारेमा कुनै पनि प्रभाव पर्ने छैन भनी सरोकारवालाहरुले स्वीकृती दिए बमोजिम कार्य गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । बैज्ञानिक बन ब्यबस्थापन ठीक छ भनी पहिला स्वीकृती दिने अहिले आएर अवरोध गर्ने कार्य गलत भएको उनको भनाई छ ।
बाताबरण संरक्षण नियमावली–२०५४ को २ (७) बमोजिम अनुरोध पछी बैज्ञानिक बन ब्यबस्थापनका लागि स्बीकृती दिने निकायहरुमा माई नगरपालिकाको कार्यालय, वडा कार्यालय वडा नम्बर २ र ४, पशु सेवा कार्यालय माई नगरपालिका, नेपाल रेडक्रस सोसाईटी उपशाखा दानाबारी, कन्काई उच्च मावि, लोदिया प्रहरी चौकी, गरुवा आधारभुत बिद्याल, लालीगुराँस सामुदायिक बन समुह, कल्पतरु सामुदायिक बन समुह, पशु सेवा केन्द्र दानाबारी लगायत रहेको बन समुहका अध्यक्ष आचार्यले दाबी गरे ।
नमुना सामुदायिक बनको पाँच सय ५४५.४५ हेक्टर बन क्षेत्रमा बैज्ञानिक बन कार्यक्रम सञ्चालनको कार्य योजना बनाई कार्य शुरु गरिएको आर्चायले बताए । नमुना सामुदायिक बन लाई ८० भागमा बिभाजन गरी प्रत्येक बर्ष एक क्षेत्रमा बैज्ञानिक बन ब्यबस्थापन गर्न लागिएको होे । बैज्ञानिक बनको अबधारण बमोजिम बिँउ रुखका माध्यमबाट तथा साना उत्पादन हुदै गरेका बिरुवाको संरक्षणबाट नयाँ बिरुवा उत्पादन हुने बताईएको छ । बनलाई हरियाली बनाउने कार्य नै बैज्ञानिक बन ब्यबस्थापन रहेको पदाधिकारीहरुको दाबी छ ।
गत बर्ष देखि माई कै लालिगुराँस, सुखानी, बसन्त सामुदायिक बन लगायत इलामका पाँच सामुदायिक बनमा बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम लागु गरिएको डिभिजन बन कार्यालय प्रमुख मेघराज राईले बताए। डिभिजन बन कार्यालय प्रमुखका अनुसार राज्यले बनाएको नीतिका आधारमा १९ डिग्री भन्दा तलको भिरालो क्षेत्रमा माउ रुख राखी बुढा रुख हटाउने र नयाँ रुख उत्पादन गर्ने कार्य नै बैज्ञानीक बन ब्यबस्थापन हो । बिभिन्न कुप बनाई क्रमै संग ८० बर्षमा उत्पादन चक्र कायम राख्ने बिधी भएकाले यो बिधि उत्तम रहेको जानकारी दिए । देशका बिभिन्न जिल्लामा बैज्ञानिक बन ब्यबस्थापनको काम हुदै गरेको डिभिजन कार्यालय इलामका प्रमुख राईको दाबी छ । कोरोना भाईरसको कारण बिश्व महामारी संक्रमण भएको तथा देश राष्ट्रिय स्वाधीनताका लागि सिमा विवाद भएको बेला माई नगरपालिकाको वडा नम्बर–२ र ४ मा भने बैज्ञानीक बन ब्यवस्थापनको विवाद पेचिलो बनेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार