इलाम । सरकारले विभिन्न चरणमा गरेर जनयुद्धमा ज्यान गुमाउने प्रहरी, जनमुक्ती सेना, तराई आन्दोलनका मृतक लगायत २ हजार भन्दा बढीलाई शहिद घोषणा गरेको छ । तर पनि अझै समाज रुपान्तरणमा प्राण आहुती दिनेहरुको योगदान भने ओझेलमै छ । तिनै मध्येका एक हुन बमप्रसाद बान्तवा । ठिक आजकै दिन ४१ बर्ष अघि (२०३६ साल बैशाख २८ गते) तत्कालिन निरंकुश पञ्चायती शासकले बम प्रसादको हत्या गरेको थियो । रत्न कुमार वान्तवासंगै क्रान्ति गरेका बमप्रसाद अझै शहिद घोषणा हुन सकेका छैनन् । पार्टीले शहिद घोषणा ग¥यो तर सरकारबाट अझै हुन सकेको छैन ।
को हुन बमप्रसाद ?
वि.स २००९ साल जंगविर राई र परमेश्वरी राईको कोखबाट उनको जन्म भएको थियो । भानुभक्त मावि मंगलबारेमा एसएलसीसम्म अध्ययन गरेका उनी सानै देखि हक्की स्वभावका थिए । बमप्रसाद बान्तावा रत्नकुमार वान्तवाका बालसखा र विश्वासीलो साथी समेत थिए । रत्नकुमार वान्तवा विएड अध्ययन गरेर इलाम आएपछि बमप्रसाद अझै उनको नजिक भएर काम गर्न थाले । २०३२ सालमा अखिल नेपाल कोअडिनेसन केन्द्र इलाम जिल्ला कमिटीसंग आवद्ध भए जस्को सचिव थिए झलनाथ खनाल । अन्य सदस्यमा रत्नकुमार बान्तवा, गणेश राई, अगम बान्तवा, भक्त देवान, बमप्रसाद वान्तवा र वसन्त पराजुली थिए ।
बुर्जुवा शिक्षा बहिस्कार गर्दै गाउँगाउँमा गएर जनतालाई संगठित गर्नुपर्छ भन्ने मान्यताका साथ रत्नकुमार बान्तवा क्याम्पसको जागिर छाडेर २०३३ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय हुन थालेपछि बमप्रसादले उनको पदचाप पछयाएका थिए । २०३४ सालमा चमैता चित्रेमा रहेको रत्नकुमार वान्तवाको घरमा सुरुङ बनाउने कार्यमा उनी पनि सक्रिय रुपमा लागे । अखिल नेपाल किसान संघ इलामका अध्यक्ष समेत रहेका बमप्रसाद २०३५ फागुन २१ गते सुखानीमा मारिएका पाँच जनाको स्मृति दिवस पारेर रत्नकुमार वान्तवाको नेतृत्वमा इलामभरि व्यापक पर्चा छर्ने कार्यमा सहभागी थिए । शहीदको बदला लिन पंचायती शासन ढाल्ने, राजतन्त्रको उन्मूलन गर्ने र जनवादी शासन स्थापना गर्ने उद्देश्यका साथ पर्चा छरेका थिए । तत्कालिन पञ्चायती सिपाहीले २०३५ साल चैत्र २७ गते इभाङमा रत्नकुमार वान्तवाको हत्या ग¥यो ।
यसरी मारिए
रत्नकुमार बान्तवाको खोजीमा निस्किएको प्रहरीले २०३५ चैत २४ गते इभाङमा रत्नकुमार बान्तवा भन्ने ठानेर गाउँले किसान निमा शेर्पालाई गोली हानेर हत्या ग¥यो । निमा शेर्पाको अनुहार र जिउडाल रत्नकुमार बान्तवासँग मिल्दोजुल्दो थियो । सुराकीले रत्नकुमार भनेर औँल्याएपछि निमालाई प्रहरीले गोली हानेको थियो । रत्नकुमार र निमाको हत्यापछि गाँउमा प्रहरीका ज्यादती बढ्न थाल्यो । सोही समय बमप्रसाद साखेजुंगको ध्वजबहादुर राईको घरमा लुकेर बसेका थिए । त्यो एक महिना चित्रे नजिकको महभीरको जंगल, कालिखोला, सिंखर्क तिर भौतारिएर बसेका थिए ।
राजनीतिक अनि भूमिगत चेत भएका बम रत्नको बदला लिनुपर्छ भनेर बैशाख १ गते रत्नको श्रदान्जली सभामा कसम खाएका थिए । धेरै दिनको अनिन्द्रा भोकले जर्जर भएका बम बान्तावा र उनीसँग हिडी रहेका अशोक राई साखेजुंगको ध्वजबहादुर राईको घरमा बैशाख २८ गते विहानपख पक्राउ परे । पक्राउ परेको दिनभर यातना दिएर राखे । यातनाबाट चार पटक बेहोश भए पनि कुनै गोप्य कुरा खोल्न नमानेको कारण अपराहन्न ३ बजे पुलिसले गोली हानी हत्या गरेको थियो । २०३६ बैैसाख २८ गते बमप्रसाद मारिएपछि प्रहरी प्रशासनको अपरेशन अन्त्य भएको थियो । बमप्रसाद सम्झनामा देउमाई नगरपालिकाको चमैता चित्रेमा रत्नकुमारसंगै पुर्णकदको शालिक बनाइएको छ । त्यसैगरी इलाम नगरपालिकामा अर्धकदको शालिक छ । जस्मा हरेक बर्ष रत्न– बम प्रतिष्ठानले श्रद्धाञ्जली सभा आयोजना गर्दै आएको छ ।
शहिदको सुचीमा समेटिने आश
सभामा हरेक बर्ष बमप्रसादलाई शहिद घोषणको पहल गर्ने प्रतिवद्धता जाहेर हुन्छ । तर उनीसंगै निमा अझै सरकारको शहिदको सुचीमा अट्न सकेका छैनन् । रत्नकुमार बान्तवाले सहादत प्राप्त गरेको ३७ वर्षपछि २०७२ फागुन २२ गते केपी ओली नेतृत्वको सरकारले शहीद घोषणा ग¥यो । तर बमप्रसाद अझै पनि शहिदका सुचीमा समेटिने आश रहेको छ ।