काठमाण्डौ । चैत ११ देखि जारी लकडाउनलाई वैशाख २५ सम्म लम्ब्याउने निर्णय सरकारले गरेको छ। आइतवार बसेको मन्त्रिपरिषद् बैठक यस्तो निर्णय लिएको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार साँझ बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय लिएको हो। उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले शनिबार लकडाउनलाई कम्तीमा एक साता लम्ब्याउन सिफारिस गरेको थियो।
पछिल्लो समय देशका पहाडदेखि तराईका विभिन्न जिल्लामा कोरोना संक्रमित देखिने क्रम बढ्दै गएपछि सरकारले लकडाउनलाई पनि निरन्तरता दिएको हो। लकडाउन लम्ब्याए पनि यसको मोडालिटीबारे सरकारले विस्तृत जानकारी दिएको छैन।
सीमानाका वैशाख ३१ सम्म बन्द रहने
सरकारले अन्तर्राष्ट्रिय सीमानाका वैशाख ३१ गतेसम्मलाई बन्दै राख्ने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लक डाउनको १० दिन थपेसँगै सीमानाका बन्दलाई पनि निरन्तरता दिएको हो। बाह्य जगतबाट कोरोनाको जोखिम अझै रहेकाले सीमानाकाहरु वैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बताए। बैठकले इपिएस अन्तरर्गत कोरिया जाने श्रमिकहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजाने अनुमति दिने निर्णय पनि गरेको छ।