इलाम । माता तिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनको अवसर पारेर इलाम नगरपालिका वडा नं ४ बरबोटे घर भइ रोजगारीको सिलसिलामा कतारको दोहामा रहेकी टीका दुलाल चापागाईंले माईभगवती बृद्धाश्रम इलामलाई ५० हजार रुपैयाँ सहयोग गरेकी छिन् । सहयोग गर्नलाई धनभन्दा पनि मन ठूलो हुनुपर्दछ भन्ने भनाईलाई चरितार्थ गर्दै विदेशमा पसिना बगाएर दुःख गरेको कमाईबाट आमाहरुको सम्मानमा उनीसहित श्रीमान् तेजप्रसाद र छोरा राजन दुलालको नाममा सहयोग गरेकी हुन् ।
सहयोग हस्तान्तरणको लागि आवश्यक समन्वय टिकाका साथी सामाजिक अभियान्ता नवराज शंकरले गरेका थिए ।माईभगवती बृद्धाश्रम इलामकी अध्यक्ष बिष्णु दाहाल सुब्बासँग परामर्श गरेर लकडाउनका कारण आवत–जावतमा समस्या भएकाले बृद्धाश्रमको नेपाल बैंक लिमिटेड इलाम शाखामा रहेको खाता नम्बर ०४००१०००८३८३२४०००००१ मा रकम जम्मा गरिएको शंकरले बताए । इलामको माइखोलास्थित राजदुवालीमा रहेको माईभगवती बृद्धाश्रम इलाममा ९ जना आमा र ३ जना बुवाहरु गरि जम्मा १२ जना आमा(बुवाहरु रहेको आश्रमकि अध्यक्ष बिष्णु दाहाल सुब्बाले बताइन् ।