इलाम । लकडाउनका बेलापनि इलामको नेपाल भारत सीमा क्षेत्रमा लुकिछिपि मानिसको आवतजावत भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । सीमा क्षेत्रको १८ स्थानमा शसस्त्र प्रहरीको सुरक्षा पोष्ट राखिएपछि सीमा क्षेत्रका नागरिकले सुरक्षाको अनुभुति गरेका छन् ।
नेपाल भारत सीमानाको साढे ५२ किलोमिटर क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको टोली खटाइएको छ । लकडाउनका बेला पनि लुकीछीपी नेपाल प्रवेश गर्नेको व्यक्ति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

लकडाउन शुरु भएसँगै ७ स्थानमा शसस्त्र प्रहरीको टोली राखिएको थियो । पहाडी क्षेत्रमा चोरबाटोहरु अधिक भएको र भौगोलिक कठिनाईका कारण सुरक्षाकर्मी ११ स्थानमा थपिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले बताए । खुल्ला सीमा भएर आएका मानिस क्वारेन्टाइनमा नजाने र कोरोनाको जोखिम बढ्ने भएकाले साढे दुई किलोमिटरको फरकमा सुरक्षाकर्मीको पोष्ट राखिएको छ ।

झापाको सीमा जोडिएको इलामको रोङ गाउँपालिकाको पाटापुरदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुरसम्म शसस्त्र प्रहरीको सुरक्षा पोष्ट राखिएको हो । सीमा क्षेत्रमा सुरक्षाकर्मी थपिएपछि लुकिछिपि आवातजावत रोकिएको छ । सुरक्षाकर्मीले सीमानमा नियमित रुपमा गस्ति गर्ने काम हुँदै आएकाले सीमानाका नागरिकले सुरक्षित भएको अनुभुति गरेको माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताए ।

शसस्त्र प्रहरी बाहेक सीमा क्षेत्रमा नेपाल प्रहरीको ३ वटा चौकीहरुबाट पनि सीमानाको नियमित अनुगमन हुँदै आएको छ । कोरोनाको संक्रमण रोकिएपछि हटाइने सुरक्षामर्कीको अस्थाई पोष्टहरु राख्नका लागि स्थानीय तहले नियमित समन्वय गर्दै आएका छन् ।