फिक्कल । यस भन्दा अघिका नयाँ बर्षको पहिलो दिन पूर्वी इलामको कन्याममा खुट्टा राख्ने ठाउँ भेट्न मुस्किल हुन्थ्यो । वाह्य भन्दा पनि आन्तरिक पर्यटकले भरिभाराउ हुने कन्याम आज २०७७ सालको पहिलो दिन एक्लो र सुनसान छ । अघिल्ला वर्षहरुको पहिलो दिन यहाँ पर्यटकहरुको घूईंचो लाग्ने गथ्र्यो । विशेषगरी छिमेकी जिल्लाका आन्तरिक पर्यटकहरुको पहिलो रोजाइमा कन्याम नै उत्कृष्ठ गन्तब्य बन्थ्यो। भारतीय नागरिकहरुको पनि उत्तिकै भीड हुन्थ्यो ।
यतिबेला यहाँको रित्तो सडक र पार्किङ क्षेत्र सवारी साधनको व्यग्र पर्खाइमा छ भने निला रंगका रित्ता ट्रलिहरु आँखा नझिम्काई पर्यटकलाई पर्खिरहेका देखिन्छन । घोडाहरु त लामै विश्राममा छन, अनि छुर्पी र ललीपप गुमनाम भएका छन् । कन्याम मात्र होइन पूरै देशभरका पर्यटकीय क्षेत्रको अवस्था अहिले यस्तै रहेको छ । कारण हो कोरोनाको उदण्डता । कारोना भाइरसको जोखिम र महामारी नियन्त्रणका लागि देशमा यतिबेला लकडाउन जारी छ । सोमबार विहानको तथ्यांक अनुसार, विश्वभर कोरोनाबाट १ लाख १४ हजार बढीको ज्यान गइसकेको छ ।
तस्विर साैजन्य : राज गिरी
