इलाम । इलाम नगरपालिका वडा नम्बर– ८ सिङ्फ्रिङ स्थित डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालमाको क्वारेन्टाइन राखीएका एक युवा फरार भएका छन् । इलाम अस्पतालको रेफरपछि चैत्र २३ गते देखि क्वारेन्टाईनमा राखिएका सन्दकपुर गाउँपालिका ३ सुलुबङ्ग घर भएका सरोज अधिकारी सोमबार राती फरार भएका हुन् ।
अधिकारी भारतको सिलिगुडीबाट हालै घर आएका थिए । उनलाई कोरोना भाइरस सङ्क्रमित हुन सक्ने आशंकामा इलाम अस्पतालले क्वारेन्टाइनमा राख्न पठाएको थियो । भारतको सिलिगुडी क्षेत्रमा केही दिन अघि १ जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।डा मेघबहादुर पराजुली सामुदायिक अस्पताल क्वारेन्टाइन वार्डका इन्चार्ज दिपक पौडेलका अनुसार अधिकारीको स्वाब परीक्षण गर्नै नपाई उनी क्वारेन्टाइनबाट भागेका हुन् ।
अधिकारी कोरोना भाइरस प्रभावित क्षेत्रबाट हालै घर आएको हुँदा निजको खोजतलास गरी पुनः क्वारेन्टाइनमा नराखे निजले समुदायलाई नै कोरोना भाइरसको प्रकोपमा पार्न सक्ने सम्भावना रहेको इन्चार्ज पौडेलले बताए । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले निजलाई कही कतै कसैले देख्नु भएमा तुरुन्त नजिकको वडाध्यक्ष, वडा सदस्य, महिला स्वास्थ्य स्वयम्सेविका वा प्रहरीमा खबर गरी सहयोग गर्न सबैमा आग्रह गरे । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक हीरा पाण्डेले अधिकारीको व्यापक खोजतलास भइरहेको बताए
यसैगरी आज चैत्र २५ गते विश्व स्वास्थ्य दिवसका अवसरमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले कोरोना भाइरसको प्रकोपबाट आफू बच्न र अरुलाई बचाउन अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन साथै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सुझाव तथा आग्रहलाई परिपालन गर्न अनुरोध गरेका छन् । उनले आम नगरवासीहरुमा कोरोना भाइरस महामारीको अवस्थामा धैर्यधारण र सहयोगको लागि आग्रह गर्दै विश्व स्वास्थ्य दिवसको अवसरमा आम नगरवासीहरुमा सुस्वास्थ्य र आरोग्यताको कामना गरेका छन् ।