इलाम । कोरोना भाईरसको कारण देश लकडाउनमा रहेको बेला मानव अधिकार मञ्च नेपाल, ईलामले प्रदेश नं १ कोरोना जनसुरक्षा कोषको खातामा १ लाख रुपैयाँ जम्मा गरेको छ । संस्थाका उपाध्यक्ष वीर बहादुर खड्काले जिल्ला समन्वय समिति ईलामका प्रमुख गणेश बरालमार्फत बैंक भौचर हस्तान्तरण गरे।
बिश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको सङ्क्रमण फैलिन नदिन तथा यसको रोकथाम र नियन्त्रणका लागि १ नं प्रदेश सरकारद्वारा स्थापना गरिएको कोषमा रकम जम्मा गरिएको हो । मञ्चका कार्यसमिति तथा कर्मचारीहरुको सेवासुविधाबाट रकम व्यवस्थापन गरिएको मानव अधिकार मञ्च ईलामका मन कुमार बराईलीले जानकारी दिए । देशमा परेको विपद्को समयमा सामाजिक संस्थाले गरेको यस कामको सरकारको तर्फबाट जिसस प्रमुख गणेश बरालले धन्यवाद ज्ञापन गरे ।
कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । कोष राष्ट्रिय बाणिज्य बैङ्क विराटनरको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।