इलाम । विद्युत प्राधिकरणसँग समन्वय नगरिकन भौतिक संरचना निर्माणले इलामको राजमार्ग र ग्रामीण क्षेत्रका सडकका विद्युतिय पोलहरु धरापका रुपमा रहेका छन् । सडक निर्माण, स्तरउन्नती र विस्तार गर्ने क्रममा विद्युत प्राधिकरणसँग समन्वय नगर्दा विद्युतिय पोलहरु धरापको रुपमा रहेका हुन् ।
भौतीक संरचना निर्माणको सर्भे हुँदा देखिनै विद्युत प्राधिकरणका विद्युतिय पोलहरु भए नभएको यकिन गर्ने र सो पोलहरु सार्नुपरे योजना कार्यान्यन गर्ने निकायले खर्च बिहोर्नुपर्ने व्यवस्था छ । तर योजना निर्माण र कार्यान्वयन चरणसम्म आइपुग्दा विद्युत प्राधिकरणसँग समन्वय नगरि काम गर्नाले इलामका सयौँ विद्युतिय पोलहरु धरापको रुपमा रहेका छन् ।
नेपाल विद्युत प्राधिकरण इलामका शाखाका अनुसार सडक विभागले विस्तार गर्दै आएको मेचीराजमार्ग र राँके रवि सडक खण्ड निर्माण क्षेत्रका विद्युतिय पोलहरु धरापका रुपमा रहेका हुन् । सडकको सर्भे गर्दादेखि समन्वय आवश्यक भएपनि योजना कार्यान्वयन भएपछि मात्रै विद्युतिय पोलहरुको हटाउन र सार्नका लागि जानकारी दिने भएकाले धेरै विद्युतिय पोलहरु धरापका रुपमा रहेको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख पंकज गोइतेले बताए ।
प्राधिकरणका अनुसार सडक डिभिजन इलामले मेचीराजमार्ग रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा सडक खण्डमा विस्तार गर्दै आएको छ । ३३ केभि प्रशारण लाइन भएको सो क्षेत्रमा सडक विस्तारको सर्भे हुँदादेखि नै समन्वयन भएको भए सजिलो हुन्थ्यो वितरण केन्द्र प्रमुख गोइत भन्छन्–‘सर्भे सकिएर योजनाको काम शुरु भएपछि विद्युतिय पोल सार्न अनुरोध आएको छ र धेरै पोलहरु धरापको रुपमा रहेका छन् । निर्माण कम्पनीले पोलहरुको उचाई ख्याल नगरि माटो थुपारेका छन् भने प्रशारण लाइनको पोल वरिपरि खनेर धराप बनाएकाले पानी पर्ने वित्तिकै पोल ढल्लाकी भन्ने पिर प्राधिकरणलाई छ, गोइतले भने ।
सडक डिभिजन इलामले कन्याम क्षेत्रमा योजना कार्यान्वय पछि पाँच वटा पोलहरु मात्रै सार्न अनुरोध गरेपनि अहिले ३३ केभि प्रशारण लाइनका ११ वटा पोल सडक विस्तार गर्दा धरापको रुपमा रहेका छन् । प्राधिकरणले कन्याम क्षेत्रमा रहेका पोलहरु परिवर्तनका लागि ११ लाख रुपैयाँ खर्च लाग्ने स्टामेट गरिएको छ ।
त्यस्तै रोङ गाउँपालिका क्षेत्रमा पनि सडक डिभिजन कर्यालय इलामले सडकको दाँयाबायाँ विस्तार गर्दै आएको छ । सडक विस्तार गरेपनि विद्युत प्राधिकरणलाई अहिलेसम्म सो क्षेत्रका पोलहरुको स्थान परिवर्तनका लागि अनुरोध गरिएको छैन । कुटिडाँडा बजार क्षेत्र र हाँसपोखरी आसपासमा १५ वटा पोलहरु परिवर्तन गर्नुपर्ने भएपनि सडक डिभिजनबाट आफुखुसि काम हुँदा विद्युतिय पोलहरु धरापको रुपमा रहेका छन् । मेचीराजमार्ग विस्तारकाको काम गर्दै आएको सडक डिभिजन इलामको ल्याण्डलाइन नम्बरमा फोन गरेपनि सम्पर्क हुन सकेन । सुचना अधिकारी ध्रुब कुमार झाको ९८४४१८००५१ फोन जानकारी लिन फोन गरेपनि यो समाचार तयार पार्दा सम्म अफ रहेको थियो ।
राँके रबि सडक खण्डमा पनि उस्तै

इलामको पाँचथरको सीमा भएर धनकुटा जोड्ने राँके रबि भेडेटार सडक खण्डमा पनि विद्युतिय पोलको काम पनि उस्तै छ । राँके रबि भेडेटार सडकमा ७५ वटा ३३ केभि प्रशारण लाइनको विद्युतिय पोलहरु परिवर्तन गर्नुपर्ने हुन्छ । सडक आयोजनाले विद्युतिय पोल हटाउन निवेदन दिएपछि प्राधिकरणबाट स्टामेट गरि रकम जम्मा गर्न आयोजनालाई अनुरोध गरेपनि पैशा जम्मा नगर्दा पोलहरु धरापका रुपमा रहेका छन् । सडक आयोजनाले विद्युतिय पोलहरु हटाउन अनुरोध गरेपछि प्राधिकरणले पोल परिवर्तन गर्दा लाग्ने स्टामेट सहित रकम जम्मा गर्न कात्तिक २० गते पत्र लेखेको थियो ।
तर त्यो पत्रको अहिलेसम्म कुनै जवाफ नआएपछि प्राधिकरणले काम गर्न सेको छैन । सडक आयोजना क्षेत्रका ७५ वटा पोलहरु हटाउन २२ लाख रुपैँया आयोजना कार्यान्वयन कार्यालयले प्राधिकरणलाई जम्मा गर्नुपर्ने हुन्छ । विद्युतिय पोल हटाउने स्वीकृति लिएर हामीले सडक आयोजनालाई पैशा जम्मा गर्न अनुरोध गरौँ तर महिनौँ दिन बितेपनि जवाफ आएको छैन प्राधिकरण इलाम वितरण केन्द्र प्रमुख गाईते भने–‘ बजेट नआई काम गर्ने अवस्था छैन, बर्षा लागिसक्यो पोल ढल्दा हामीले दोष खेप्नुपर्ने र क्षतिपुर्ति तिर्नुपर्छ ।’
सडक विस्तारबाट पोलहरु झुण्डिएको र माटो थुपारिएकाले उचाई कम भएकाले दुर्घटना निम्तिने अवस्था छ । राँके रबि सडक खण्डको निर्माण कम्पनीका प्रतिनिधि केदार पौडेलले सडक खण्डमा विद्युतिय पोल चाँडो हटाउनका लागि आफुहरु पनि हरसम्भव प्राधिकरणलाई सहयोग गर्ने बताए । हामीलाई काम गर्न विद्युतिय पोल, वन र घर टहराबाट समस्या रहको छ पौडेलले भने–‘विद्युतिय पोल हटाउनका लागि हामीले प्राधिकरणलाई अनुरोध गरेका थियो त्यसपछि हामीले प्रगतिबारे बुझ्न पाएका छैनौँ । उनी भन्छन्–‘विद्युतिय पोल हटाउन लाग्ने रकम हामी निर्माण कम्पनीको तर्फबाट नै तत्कालका लागि व्यवस्था गरेर भएपनि विद्युतिय पोलहरु हटाउने योजनामा छौ ।’ हामीले हाम्रो कामलाई अघि बढाउने प्राधिकरणलाई बुझाउने पैशा अहिले आफै बुझाउँछौ र पछि सरकारसँगै लिने गरि काम अघि बढाउने निर्माण कम्पनीका प्रतिनिधि केदार पौडेलले बताए ।
यस्तो छ विद्युतिय पोल परिवर्तन गर्न प्राधिकरको कार्यविधि
विद्युत प्राधिकरणका विद्युतिय पोल हटाउन प्राधिकरणले छुट्टै कार्यविधि बनाएको छ । जसमा ४००÷२३० भोल्टेजका विरतण लाइनको पोल हटाउन व्यवस्था प्राधिकरणको प्रादेशीक कार्यालयले स्वीकृत दिने व्यवस्था छ । सडक विस्तारको लागि ११ केभिका प्रशारण लाइनको पोल हटाउन प्राधिकरणको उप–कार्यकारी निर्देशकले स्वीकृत दिनेछ । त्यस्तै ११ केभिको रिङ्गमेन लाइन , व्यक्ति वा संस्थाको ११ केभि लाइन, सडक विस्तारको लागि ३३ केभि लाइनको पोल परिवर्तन गर्नुपरेमा प्राधिकरणको कार्यकारी निर्देशकले स्वीकृति दिने व्यवस्था छ ।
प्राधिकरणका विभिन्न तहबाट पोल परिवर्तनका लागि स्वीकृती पछि पोल परिवर्तन गर्न चाहाने आयोजना वा व्यक्ति परिवर्तन गर्दा लाग्ने खर्च बेहोर्नुपर्ने व्यवस्था छ । प्राधिकरणको कार्यविधि अनुसार विद्युतिय पोल परिवर्तन गर्न प्राधिकरणको प्राविधिकबाट स्टामेट हुनेछ र सो स्टामेट अनुसारको रकम प्राधिकरणलाई १५ दिनभित्र बुझाउनु पर्ने व्यवस्था छ ।
प्राधिकरणमा रकम जम्मा गरेपछि लागत अनुमान ५ लाख रहेको काम ३ महिनाभित्र, ५ लाखदेखि २० लाखसम्म खर्च हुने क्षेत्रको ६ महिना भित्र र २० लाख भन्दा माथि खर्च गरि विद्युतिय पोल परिवर्तन गर्नुपरेमा एक वर्ष भित्र पोल परिवर्तनको काम सम्पन्न गर्ने कार्यविधिमा उल्लेख छ । स्थानीय तहको हकमा भने विद्युतिय पोल परिवर्तन गर्दा प्राधिकरणले ३० प्रतिशत खर्च बेहोर्ने व्यवस्था छ ।