Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

आज जनयुद्धको २५औं दिवस : रुकुमबाट यसरी सुरु भएको थियो जनयुद्ध

आज जनयुद्धको २५औं दिवस : रुकुमबाट यसरी सुरु भएको थियो जनयुद्ध

  • मेगराज खड्का
  • बिहिबार, फाल्गुन १ २०७६


आज जनयुद्धको २५औं दिवस : रुकुमबाट यसरी सुरु भएको थियो जनयुद्ध

तत्कालिन नेकपा माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० बर्षे जनयुद्धको २५औं दिवस आज मनाइँदैछ। जनयुद्ध शुरू भएको दिनलाई स्मरण गर्दै पूर्वमाओवादीबाट विभाजन भएका, जनयुद्धमा संलग्न नेता-कार्यकर्ता र शहीद परिवारले यो दिवस मनाउने गर्छन्। सिन्धुली र गोरखालगायत केही जिल्लाका बैंक तथा प्रहरी पोष्टहरु कब्जा गर्दै शुरू भएको जनयुद्धकै कारण नेपालमा राजतन्त्रको अन्त्य भएको थियो।
द्वन्द्वरत माओवादी तथा संसदवादी सात राजनीतिक दलहरुबीचको सम्झौता पश्चात २०६२/६३ मा भएको जनआन्दोलनबाट प्रतिनिधिसभा पुनर्स्थापना भएको थियो। पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकले नेपालबाट राजतन्त्र अन्त्य भएको घोषणा गरेको थियो। रुकुमबाट यसरी सुरू भएको थियो जनयुद्ध अन्तरिम संविधान, पहिलो र दोस्रो संविधानसभा, संविधान घोषणा, स्थानीयरप्रदेशरसंघको निर्वाचन हुँदै नेपाल अहिले राजनीतिक संक्रमणको दायराबाट क्रमशः बाहिर निस्कँदैछ।
जनयुद्धको नेतृत्व गरेका तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साविकको एमालेसँग पार्टी एकीकरणपश्चात हाल सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष छन्। जनयुद्ध सञ्चालन गर्ने मातृ पार्टी नेकपा माओवादी पटक-पटक पुनर्गठन र विघटन व्यहोर्दै अहिले विभिन्न समूहहरुमा टुक्रिएको छ। मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लवदेखि गोपाल किराँतीसम्मले पूर्व माओवादी आन्दोलनकै पृष्ठभूमी समात्दै फरक समूहहरुबाट राजनीति अघि बढाएका छन्। १० बर्षसम्म चलेको हिंसात्मक शसस्त्र विद्रोहका क्रममा करिब १७ हजार नेपालीहरुले ज्यान गुमाएको थिए।
रुकुमबाट यसरी सुरु भएको थियो जनयुद्ध
तत्कालीन नेकपा माओवादीले ऐतिहासिक जनयुद्ध सुरु भएको दिन। फागुन १। रुकुम रोल्पाबाट सुरु भएर १२ वर्ष चलेको जनयुद्धका क्रममा १५ हजार बढीले ज्यान गुमाए। तत्कालीन जनयुद्धको नेतृत्व गरेको नेकपा माओवादी अहिले शान्ति प्रक्रियामार्फत सरकार र सदनमा आएर संसदीय राजनीतिमा छ। त्यस्तै, माओवादी केन्द्रले संसदीय व्यवस्थामा भुलेर जनयुद्धको एजेन्डा बिर्सिएको र जनयुद्धका कार्यभार पूरा गर्न भन्दै विप्लव नेतृत्वको र मोहन वैद्य नेतृत्वको माओवादी अहिले एकीकृत जनक्रान्तिको अभ्यासमा छन्।
चुनाव बहिष्कारमा प्रभाव जमाउने र सक्रिय विप्लव माओवादी पछिल्लो समयमा कम सक्रिय देखिन्छ। नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर अहिले नेपाल कम्युनिस्ट पार्टी बनेका छन्। उनीहरू संसदको सबैभन्दा ठूलो दल बनेर झण्डै दुईतिहाइको सरकार चलाइरहेका छन्। जनयुद्धको सुरुवात २०५२ माघ २९ गते सोमबार रुकुमको दुली–१ स्थित साँरदुलामा रहेको एउटा घरको तल्लो कोठाबाट आक्रमणको योजना बनेको थियो। सो आक्रमणमा सहभागी पहलसिङ घर्तीमगरका अनुसार दिनभर युद्धको योजना बनाइयो।
त्यहाँ तत्कालीन नेकपा–माओवादीले घोषणा गरेको जनयुद्धको पहिलो कारबाहीस्वरूप आठविसकोट राडीमा रहेको इलाका प्रहरी चौकी कब्जा लगायतका विषयमा छलफल भएको थियो। जनयुद्ध घोषणापछिको पहिलो कारबाहीको निशानामा थिए रुकुमको आठविसकोट, रोल्पाको होलेरी र सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी। आठविसकोट इलाका प्रहरी कार्यालय आक्रमणको राजनीतिक कमान्डर थिए हालको एकीकृत नेकपा माओवादी त्यागी विप्लव माओवादीमा लागेका हेमन्तप्रकाश ओली सुदर्शन र फिल्ड कमान्डर थिए पूर्वमन्त्री गणेशमान पुन रश्मि।
साँरदुलाको प्रशिक्षणले कुनै तालिमविनै प्रहरी चौकी आक्रमण गर्ने मानसिकता सबैमा खडा गरिदिएको थियो। आक्रमण गर्ने टोलीका सदस्यलाई प्रशिक्षणबाहेक अन्य तालिमको व्यवस्था थिएन। माघ २९ गते दिनभर सोही घरको तल्लो तलामा इलाका प्रहरी कार्यालय कब्जाको तयारी, आवश्यक बन्दोबस्त, म्याप अध्ययन, इप्रकामा सम्भावित जनशक्ति लगायतका विषयमा सुदर्शन र रश्मिले प्रशिक्षण दिएको सो मोर्चाका एक सदस्य पहलसिङ घर्तीमगर बताउँछन्।
दिनभरको प्रशिक्षणपछि फिल्ड कमान्डर गणेशमान पुनको नेतृत्वमा इलाका प्रहरी कार्यालय आठविसकोट आक्रमणका लागि माओवादीका लडाकुहरू साँरदुलाबाट अघि बढेका थिए। साँरदुलाबाट आठविस डाँडागाउँ गाविसमा पुगेर बेलुकीको खानापछि अघि बढेका उनीहरू राती ११ बजे आक्रमणका निम्ति राडी पुग्छन्। हाते माइकमार्फत कमान्डर गणेशमान पुनले प्रहरीलाई आत्मसमर्पणका निम्ति आग्रह गर्छन्। त्योसँगै अन्य पनि प्राप्त निर्देशनबमोजिम अघि बढ्छन्। माओवादीले करिब दुई घण्टापछि इलाका प्रहरी कार्यालय कब्जा गरे।
त्यहाँ रहेका सम्पूर्ण बन्दोबस्तीका सामान पनि उनीहरूले कब्जामा लिन्छन्। त्यसपछि जनयुद्ध जिन्दावादको नारा लगाउँदै माओवादीहरू आफ्नो सेल्टरतिर लागे। माघ २९ गते राति ११ बजे चौकी आक्रमणको निम्ति राडी पुगेका उनीहरू फागुन १ गते बिहान ३ बजे सफलता हात पारेर फर्किए। पहिलो आक्रमणका हतियार जनयुद्धको थालनीको पहिलो आक्रमणमध्येको एक आठविसकोट इलाका प्रहरी कार्यालय आक्रमणमा माओवादीले घरेलु हतियार प्रयोग गरेको थियो। घर्तीमगर सम्झन्छन्हा- ‘हामीसँग लट्ठी, घरेलु हतियार, साबेल, गैँती, बेल्चा, घनसहित केही थान बार बोर बन्दुक, केही भरुवा बन्दुक र एउटा राइफल मात्र थियो।’
उनका अनुसार जनयुद्धको पहिलो लडाइँमा कुनै पनि हतियार फायर भएन। जनयुद्ध थालनीको पहिलो आक्रमणमा कसैको हताहती पनि भएन। चौकी कब्जाबाट थ्री नट थ्री राइफलको गोली, डाइनामाइट, फ्युल वायर, अन्य बन्दोबस्तीका सामग्रीहरू माओवादीले कब्जामा लिए। त्यसबाहेक त्यहाँ अन्य हतियार नै त्यहाँ थिएन। माओवादीले पनि सोचेअनुसारको हतियार कब्जा गर्न सकेन। प्रहरी कर्मचारीको तलब बुझ्न सदरमुकाम पुगेका प्रहरीले हतियार पनि सँगै सदरमुकाम ल्याएपछि चौकी हतियारविहीन थियो। प्रहरी चौकीमा भएको विभिन्न निवेदन मुद्दामामिलाका कागजात पनि नष्ट गरिएको थियो। प्रहरी चौकी आक्रमण गर्न दुई दर्जन बढी माओवादी थिए।
सफल आक्रमणको निम्ति विभिन्न समूह विभाजन गरिएको थियो। जनयुद्धको पहिलो आक्रमण कुनै कारणवश असफल भयो भने जनयुद्धको आगामी बाटो असहज पनि बन्न सक्ने सोचाइले जितको पूर्ण आत्मविश्वास साथ युद्ध प्लान बनेको घर्तीमगर सम्झन्छन्। त्यसैले पनि आक्रमण सफल बनाउन विभिन्न समूह निर्माण गरिएको थियो। विशेष गरी समूहले पाएको आफ्नो जिम्मेवारी पूरा गर्नै पर्ने थियो। रुकुम मुरुका दौलतराम घर्ती, विजय घले जो २०५३ मंसिर ३ गते डोल्पाको त्रिवेणी प्रहरी चौकी कब्जा गर्ने क्रममा मारिएका थिए। उनले आक्रमण समूहको कमान्डिङ गरेका थिए। उनको समूहको मुख्य जिम्मेवारी चौकीमा रहेका हतियार कब्जा गर्नु थियो।
रिजर्भ समूहका कमान्डर थिए महेश्वर गहतराज ुअथकु। उनको समूहले युद्ध सामग्री सकिएको खण्डमा थप मद्दत गर्ने जिम्मेवारी पाएको थियो। यज्ञश्वर शर्मा ‘बारुद’लाई एसल्ट ग्रुपको कमान्डर बनाइएको थियो भने मेघबहादुर श्रेष्ठ ‘महेश’ स्टकिङ समूहका कमान्डर थिए। त्यसरी भएको थियो जनयुद्धको पहिलो आक्रमण। (थाहाखबरका लागी मेगराज खड्काले तयार पारेको सामाग्री)

प्रतिक्रिया
सम्बन्धित समाचार