इलाम । समुद्री सतहबाट ३ हजार २ सय मिटरमा रहेको छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिंघारिएकाे अर्को उत्कृष्ट पर्यटकीयस्थल हो । वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालिगुराँस अनि छिन्तापुको काखैमा रहेको पोखरीहरुमा कंचनजङ्गा कुम्भकर्ण हिमालको दृश्यले पर्यटकहरुको मनै वहलाउँछ । छिन्तापु आसपासमा साँस्कृतिक महत्व रहेका तालपोखरी, फुस्रेपोखरी, छिन्तापु पोखरी लगायतका दर्जनौ पोखरीहरुले अझ मन प्रफुल्लित बनाउँछ ।

सन्दकपुर गाउँपालिका- २ मा अवस्थित छिन्टापु विश्वभरका पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । छिन्टापु पुग्ने पर्यटकलाई फागुन, चैत र बैशाखमा ढकमक्क फुल्ने चाँप गुराँस र सुनाखरीले पर्यटकलाई फेरि अर्को पटक आउँ – आउँ बनाउँछ । छिमेकी जिल्ला पाँचथरसँग सीमा जोडिएको छिन्टापु पर्यटकीय हिसाबले उत्कृष्ट भएसँगै पर्यटकीय पूर्वाधार निर्माणको कामले गति लिँदै गएको छ ।
छिन्टापुसम्मको भ्रमणलाई सहज बनाउन माईपोखरीदेखि टप्पु, खप्परे छिन्टापु पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । प्रदेश नम्बर १ सरकारको १५ लाख बजेटबाट पदमार्ग निर्माण गरिएको सन्दकपुर गाउँपालिका उपाध्यक्ष सोभा पराजुलीले बताइन् ।

हिमाली दृश्यमा मज्जाले रमाउन सकिने छिन्टापुमा पर्यटक पु¥याउनका लागि चालु आर्थिक वर्षमा पनि २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । पाँचथर र इलामको सीमा क्षेत्रमा प्राकृतिक टावर झै उभिएको छिन्टापु जलभण्डारको हिसाबले पनि चिनिन्छ । अग्ला डाँडोमा पुग्दा मन फुरुङ्ग बनाउने प्राकृतिक सुन्दरतामा रम्ने पर्यटकहरुका लागि पूर्वाधार निर्माणले प्राथमिकता पाएको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन् । ‘पर्यटकहरु जाँदा खाने र बस्ने आफै बोकेर जानुपर्ने बाध्यता छिन्टापुमा छ, लिम्बुले भनिन्–‘ प्रदेश सरकारको पहलमा पदमार्ग, सडक र अन्य पूर्वाधार निर्माणका लागि डिपिआर गर्ने सम्मको तयारी भइरहेको छ ।’

पर्यटकीय पूर्वाधार निर्माणमा पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकाले पनि पहल गरिरहेको छ । छिन्टापुलाई कालोपत्रे सडकबाट जोड्नका लागि इलाम नगरपालिकाको धारापानी, बुधबारे, गोरुवाले हुँदै छिन्टापु र पाँचथरको प्राङबुङ्गसम्म जोड्ने सडकको डिपिआर गर्ने काम सकिएको सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले बताइन् ।

इलामका सबैभन्दा धेरै सीमसार र पोखरीहरु रहेको छिन्टापु क्षेत्रमा ३६ प्रजातिका गुराँसका बोटहरु रहेका छन् । चैत्र र बैशाखमा छिन्टापु पुग्ने पर्यटकहरु गूराँसका फुलहरुमा घण्टौसम्म रम्ने भएकाले यहाँपुग्नेले गुराँसको राजधानीको परिचय दिँदै आएका छन् । लोपाेन्मुख वन्यजन्तु रेडपाण्डा, भिरमौरी, झारल, पुतली र सयौँ प्रजातिका चराहरुको बासस्थान रहेको छिन्टापुमा क्षेत्र देश विदेशका पर्यटकहरुको आकर्षणको केन्द्र भएपनि पर्यटन पूर्वाधार निर्माणमा जोड दिँदै आएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । पूर्वाधार निर्माणका लागि अहिले स्थानीय सरकारदेखि संघीय सरकारसम्म पर्यटकीय पूर्वाधारको प्रस्ताव गरिएको छ, राईले भन्नुभयो–‘छिन्टापुको विकासका लागि पहिला डिपिआर बनाउने योजनामा गाउँपालिका रहेको छ ।’

छिन्टापु पर्यटकीयस्थल बस्नका लागि व्यवस्थित होटलहरु निर्माण नभएपनि ग्रामीण बस्तिहरुमा होमस्टे निर्माण गरिएको वडाध्यक्ष गिरिराज खनालले बताउनुभयो । छिन्टापु जाँदा बाटोमा पर्ने माईमझुवा गाउँका होमस्टे र ग्रामीण होटलहरुमा लोकल कुखुराको सुप, सिस्नो र कोदोको ढिडोको स्वादिलो खाना र न्यानो आतिथ्य सत्कार गरिँदै आएको छ । छिन्टापुको यात्रामा जाँदा माईमझुवाको बुधबारे, कमेरे, मितेरे चौक र फेमेगुरु क्षेत्रमा होमस्टे संचालनमा रहेको वडाध्यक्ष खनालको भनाइ छ ।
छिन्टापु पुग्न इलाम सदरमुकामबाट ३५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ । पुर्व पश्चिम राजमार्गको झापाको चारआलीबाट मेचीराजमार्ग समातेर ७५ किलोमिटर यात्रा गरेपछि इलाम सदरमुकाम पुगिन्छ । इलाम सदरमुकाममा बास बस्नका लागि व्यवस्थित होटल र लज छन् । इलाम बजारबाट ४ किलोमिटरको यात्रामा बिब्ल्याँटे बजार पुगिन्छ । बिब्ल्याँटे बजारबाट अलिक अगाडि बढेपछि मेचीराजमार्ग छोडेर उत्तरतर्फ लाग्नुपर्छ । बिब्ल्याँटे बजारबाट १२ किलोमिटर यात्रा गरेपछि रामसार क्षेत्र माईपोखरी पुगिन्छ । माइपोखरी स्न २००८ मा रामसार सुचिमा सुचिकृत भएको पर्यटकीय तथा धार्मिकस्थल हो ।

माईपोखरीको भ्रमणपछि नजिकै सन्दकपुर गाउँपालिकाको केन्द्र रहेको देउराली हुँदै आठ किलोमिटर यात्रापछि माईमझुवाको बुधबारे बजार पुगिन्छ । र छिन्टापु जान झण्डै ७ किलोमिटर कच्चि सडक यात्रापछि गोरुवाले बजार पुगिन्छ । गाडीको यात्रा हाम्रो यही सकिन्छ । गाडीको यात्रा पछि प्राकृतिक टावरमा रहेको छिन्टापु पुग्न झण्डै डेढ घण्टाको पैदल यात्रा गर्नुपर्ने हुन्छ । छिन्टापुको पदयात्रा लागि माइपाेखरी, देउराली, टप्पु, खप्परे, ढुङ्गेपानी, गुराँसे हुँदै छिन्टापु सम्म यात्रा गरिन्छ । २ करोड ३८ लाखमा निर्माण हुँदै आएको छिन्टापुबाट गोरुवाले फुस्रेपोखरी सन्दकपुर हुँदै हाँगेथाम चोयाटार ढाप पोखरीसम्मको पदमार्ग प्रयोग गर्न सकिन्छ । यो पदमार्ग चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुनेछ ।