फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोकमा सन्त ज्ञानदिलदास बारे बहस एवं संवाद कार्यक्रम सम्पन्न भएको छ । ज्ञानदिलदास प्रतिष्ठान, इलामको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले ज्ञानदिलदासमा सामाजिक रुपान्तरणमा खेलेको भुमिकाको बारेमा चर्चा गरेका थिए । प्रतिष्ठानका अध्यक्ष गुरुभत्त लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा फाकफोकथुम सरोकार समाज, इलामका सचिव एवं सामाजिक अभियन्ता प्रकाश परियारले ज्ञानदिलदास एवं फाकफोकथुम पर्यटनको सवालमा संम्भावना, चुनौति एवं अवसरमा चर्चा गरेका थिए ।
गाउँपालिका प्रमुख रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवं उपप्रमुख सरस्वती राइको विशेष आतिथ्यता भएको कार्यक्रममा प्रतिष्ठानको उपाध्यक्ष गोविन्द दर्नालले स्वागत मन्तब्य राखेका थिए । बालकृष्ण लामिछानेले ज्ञानदिल बारे चर्चा तथा सिंह देवि माविका विद्यालय ब्यवस्थापन समिती अध्यक्ष लक्ष्मण घतानी, ३ नं। वडा अध्यक्ष राजन पौडेल र नेपाली कांग्रेसका नेता उपेन्द्र पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि पालिका प्रमुख रामकुमार श्रेष्ठले ज्ञानदिलदास अब सिंगो फाकफोकथुमको साझा सम्पति एवं हिरा भन्दा महत्त्वपूर्ण रहेकोले बताए । उनले ज्ञानदिलदास सम्बन्धी खोज अनुसन्धान, प्रकाशन एवं प्रसारण गर्दै अन्तराष्ट्रिय स्तर सम्म पुर्याउन लागि लाग्न आग्रह गरे । यसै गरि विशेष अतिथी उपाध्यक्ष सरस्वती राईले फाकफोकथुमको ख्याति बढाउन र विकास निर्माणलाई युद्द स्तरमा अघि बढाउन भारतको सिक्किम एवं दार्जीलिङ र नेपालको ओखलढुंगाको रुम्जाटार सँग भागिनी सम्बन्ध स्थापनाको लागि पहल गर्ने उल्लेख गर्दै खोज अनुसन्धानमा लाग्ने लेखकलाई धन्यवाद दिइन् ।
बिरभद्र कार्की डोलिले लेखे ज्ञानदिलदासको इतिहास
नेपाल पर्यटन बर्ष २०२०लाई लक्षित गर्दै ज्ञानदिलदास एवं फाकफोकथुमको पर्यटन प्रबर्द्धनको लागि विभिन्न कार्यक्रम आयोजना गरि महोत्सव गरिने भएको छ । ज्ञानदिलदास बारे अनुसन्धानत्मक कृति भारतको सिक्किममा साहित्यकार एवं लेखक बिरभद्र कार्की डोलि द्दारा लिखित ज्ञानदिलदास अध्ययन ग्रन्थ विमोचन साथै ज्ञानदिलदास बारे खोज अनुसन्धान गर्ने लेखक तथा साहित्यकारलाइ सम्मान गरिने भएको छ ।
पर्यटन बर्ष सफल बनाउनको निम्ति फाकफोकथुम गाउँपालिका, फाकफोकथुम सरोकार समाज इलाम, ज्ञानदिलदास प्रतिष्ठान लगायत संघसंस्थाको संयोजन एवं आयोजनामा पर्यटन संग सम्बन्धित प्रकासन एवं प्रचारण, स्थानीय कलासंकृतिको प्रद्दर्सन, खेलकुद कार्यक्रम, अतिरिक्त कृयाकलाप, साहित्यिक कार्यक्रम गरिने भएको छ ।
को थिए ज्ञानदिलदास
सन्त ज्ञानदिल दासको जन्म विस १८७८ मा भएको थियो । उनको जन्म फाकफोकथुम गाउँपालिका–३ आमचोकमा भएको थियो भनिदै आएको छ ।उनीसम्बन्धी विभिन्न तथ्यांक निर्विवाद छैनन् । केही विद्वानले उनी आमचोकमा नभई फिक्कलमा जन्मिएका हुन् भनेका छन् । वास्तवमा उनी लामिछाने ब्राहृमण परिवारमा जन्मिएका थिए तर उनी जाति व्यवस्थाका विरोधी भएका कारण आफू पनि आफ्नो वास्तविक नामले चिनिन चाहेनन् ।
उनी नेपाली साहित्यकार तथा आध्यात्मिक व्यक्ति थिए। उनलेभानुभक्त आचार्य भन्दा अगाडि भक्ति गीतहरू र कविताहरू रचना गरेका थिए। नेपाली साहित्यको इतिहासमा भक्तिधाराको निर्गुण भक्ति धाराका केन्द्रीय कवि हुन् ज्ञानदिलदास। यस धाराका कविहरूले निर्गुण, निराकार ब्रह्मको व्याख्या गरेर आध्यात्मिकता र ईश्वरभक्ति झल्काउँछन्। संसारलाई झूटो मान्ने, संसारिक राग, द्वेष, रोचक, भोगविलासको प्रवृत्तिबाट मुक्ति खोज्नुपर्छ, पारमार्थिक चिन्तन गर्नुपर्छ भन्ने निर्गुण भक्तिधाराको मुख्य विशेषता हो ।
५े बेद लगायत पौराणिक ग्रन्थहरूको गहन अध्ययन गरेका यिनले दार्जीलिङका पादरी ए टर्नबुललाई शास्त्रार्थमा पराजित गरेका थिए।े यिनले पूर्वी नेपाल तथा भारतको दार्जीलिङ, सिक्किम र भुटान सम्म जोसमनी धर्म सम्प्रदायको प्रचार गरेका थिए। नेपालमा ज्ञान प्रचार गरेको, विद्रोही कविता रचना गरेको आदि आरोपमा तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले यिनलाई पक्राऊ गरेर ६ महिना जेलमा राखेका थिए। त्यसपछि जोसमनी सन्त परम्पराको प्रचार गर्दै यिनी भारतको दार्जीलिङ, सिक्किम र भुटान सम्म पुगेका थिए।
ज्ञानदिलदासको रचनामा तत्कालिन सामाजिक व्यवस्था, जातीय असमानता, लिंगीय विभेदका विरूद्ध बिद्रोह पाइन्छ। पुरुषले एउटी श्रीमती माथि जतिवटा पनि विवाह गर्न पाउने महिलाले आफ्नो श्रीमान् मरेपनि अर्को विवाह गर्न नपाउने प्रथाको यिनी कट्टर विरोधी थिए। बेद, पुराणको गहन अध्ययन नै नगरी पाखण्डी रूपले कर्मकाण्ड गराउने प्रथाको यिनी ठाडो विरोध गर्दथे।
यिनको उदय लहरी नामक कृति प्रमुख थियो। त्यसका अतिरिक्त झ्याउरे भजन, ट्ङ्ना भजन लगायतका कृतिहरू पनि यिनले रचना गरेका थिए। इलामबाट जोसमनी धर्मको प्रचारको सिलसिलामा यिनी दार्जिलिङको रङ्गबुलमा एक धामको स्थापना गरि लामो समय बसेक थिए। त्यही क्रममा १८७७ सालतिर उदय लहरीको रचना गरेका थिए।
उदयलहरी १०९ पद्यमा लेखिएको कृति हो। यो झ्याउरे लयमा लेखिएको छ। दार्जीलिङमा रहँदा लेख्न सुरू गरेको उदय लहरी यात्राको क्रममा सिक्किम पुगेर पूरा गरेका थिए। ज्ञानदिलदासको निधन पश्चिम सिक्किमको गेलिङमा सन् १९४० मा भएको थियो। उनको स्मृतिमा ज्ञानदिलदास साहित्य पुरस्कारको स्थापना भएको छ।