इलाम । इलाम नगरपालिकाले नगरबासीहरुलाई विद्युतिय चुल्हो (इन्डक्सन) मा अनुदान दिने भएको छ । इलाम नगरपालिका नगर कार्यपालिकाले ग्याँसको आयात प्रतिस्थापन गरि विद्युत खपतको बृद्धि गर्नका साथै काठ, दाउराको उपयोगमा कम गराई वातावरण संरक्षण गर्ने उद्देश्यका साथ विद्युतिय चुल्होमा अनुदान दिने भएको हो । उक्त चुल्होमा ७५ प्रतिशत अनुदान दिने नगरले निर्णय गरेको हो ।
पुष ५ गते बसेको नगर कार्यपालिकाको बैठकबाट उक्त कार्यक्रमको निर्णय भएको हो । राष्ट्रिय ग्रामीण तथा नविकरणिय कार्यक्रम अन्र्तगत गरिने कार्यक्रममा नगरका गृहिणी महिलाहरूलाई चुल्होको प्रयोग सम्बन्धमा चेतना अभिबृद्धिका लागि समेत अभिमुखिकरण कार्यक्रम समेत गर्ने निर्णय भएको छ । यस निर्णयको नगरबासीहरुले सकरात्मक पहल भएको टिप्पणी गरेका छन् ।
पछिल्लो समयमा ग्रामीण र सहरी क्षेत्रमा खाना पकाउन विद्युतीय चुलोको प्रयोग बढिरहेको छ। अन्य इन्धनभन्दा सस्तो, भान्सा सफा र आधुनिक देखिने, पकाउन सजिलो र सुरक्षित हुने, आगो नफैलनेलगायत कारणले विद्युतीय चुलोप्रति उपभोक्ताको आकर्षण बढेको हो।