इलाम । २० बर्षपछि घरेलु भुमीमा भएको १३ औ सागमा इलामका खेलाडीले २ स्वर्ण १ रजत र १ कास्य प्राप्त गरेका छन् । पुरुष फुटबल र उसुमा स्वर्ण पाएका इलामेलीले महिला फुटबलमा रजत र महिला बीच भलिबलमा कास्य पाउन सफल भए । पुरुष तर्फको फुटबलमा भुटानलाई पराजित गर्दै १३ औ सागको स्वर्ण जित्ने टोलीमा सन्दकपुर गाउँपालिका–५ जमुनाका छिरिङ गुरुङ अटाए । उमेर समुहका खेलाडी छिरिङले नेपाली डिफेन्सिङ लाइन सम्हालेका थिए । छिरिङ हाल च्यासल क्लबमा आवद्ध रहँदै शहिद स्मारक लिगको तयारीमा जुटिसकेका छन् ।
१२ औ सागको स्वर्णका लागी इलामका नवयुग श्रेष्ठले महत्वपुर्ण योगदान दिएका थिए । देउमाई नगरपालिका–३ की जुनी राईले ६० किलो तौल समुहमा बंगलादेशी खेलाडीलाई हराउदै उसुबाट देशका लागी ३६ औ स्वर्ण दिलाइन् । १२ औ सागमा उनी रजत पदकमा सिमित हुन पुगेकी थिइन् । उनी हाल नेपाल पुलिसमा असई ( प्रहरी सहायक निरिक्षक) पदमा कार्यरत छिन् ।
त्यसैगरी महिला फुटबलमा सुर्योदय नगरपालिका–१२ तिनघरेकी एन्जिला तुम्बापो सुव्वाले नेपाली गोलपोष्ट सम्हाल्दै रजत पदक प्राप्त गरिन् । सधै झै यस पटक पनि नेपालले स्वर्णको प्रतिस्पर्धामा भारतसँग पराजय भोग्नुप¥यो । २०६८ सालबाट फुटबल सुरु गरेकी एन्जिला सन २०१६ देखी नेपाली राष्ट्रिय टिमकी मुख्य गोलरक्षकको रुपमा छिन् । उनी हाल शसस्त्र प्रहरीमा जवान पदमा कार्यरत छिन् । भारतमा भएको १२ औ सागमा रजत पदक प्राप्त गर्ने टोलीमा समेत एन्जिला थिइन् । सोही प्रतियोगिताबाट उनले सिनियर टोलीमा डेव्यु गरेकी थिइन् ।
पहिलो पटक समावेश गरिएको बीच भलिबल खेलमा नेपाली भलिबल टिमकी पुर्व कप्तान बिनिता बुढाथोकीले कास्य पदक हात पारिन् । माङसेवुङ गाउँपालिका–१ गजुरमुखीकी विनिता र धनगढीकी नेविका चौधरीको टोलीलाई शिर्ष २ मा पुग्नका लागी श्रीलंकाका खेलाडी बाधक बने । विनिताले विगत लामो समय नेपाली भलिबल टिमको नेतृत्व गरेकी थिइन् । उनी पनि शसस्त्र प्रहरीमा आवद्ध छिन् ।
यो पनि पढनुहोस्
इलामको तिनघरे देखी राष्ट्रिय टिम गोलरक्षकसम्म एन्जिलाको फुटबल यात्रा
इलामकी जुनी : जसले १२ औ सागको स्वर्ण सपना १३ औ मा पुरा गरिन्