इलाम । भारतले नाकाबन्दी सुरु गरेकाे छ । शनिबार बिहानैदेखि भारतले नेपालगञ्ज नाका बन्द गरेको हो । नेपाली अधिकारीलाई पछि मात्रै साे बारेमा मौखिक जानकारी दिइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्द गरेकोबारेमा औपचारिक रुपमा जानकारी नआएको बताए । ‘उनीहरुको आज राम मन्दिरबारेको फैसला छ रे । त्यही भएर नाकामा कडाई गरेका छन् ।’ प्रमुख जिल्ला अधिकारी खड्काले भने । भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका सील गर्नु परेको बताएको छ ।
भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेको बताइएकोछ । भारतीय प्रहरीले नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन् । बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएका छन् । बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र परेका छन् ।