काठमाण्डौ :वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चित्र अंकित तीन वटा सिक्का निष्काशन गरेको छ । शताब्दी पुरुष जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले टकमरी गरिएका सिक्का निष्काशन गरेको हो । वि सं १९७७ वैशाख ३० गते तिथि अनुसार बैशाख कृष्ण नवमीका दिन ललितपुरको बखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा उनकाे जन्म भएको हो ।
ललितपुर महानगरपालिकाले आग्रहमा राष्ट्र बैकले क्युप्रोनिकेल धातुबाट बनेको रु १०० दरका ९ तौल २५ ग्राम, व्यास ३७ एम।एम, निष्काशन संख्या १० हजार थान र चाँदीबाट बनेका रु १००० तौल १० ग्राम, व्यास २९ एमएम, निष्काशन संख्या २५ हजार थान र २५०० रुपैया“को सिक्का ९ तौल ८ दशमलब ५ ग्राम, व्यास २९ एमएम, निष्काशन संख्या १० हजार थान निष्काशन गरेको थियो ।
राजा, राजपरिवारका सदस्य बाहेक जिवित हुँदा नै आफ्नो चित्र अंकित सिक्का निष्काशन गर्न पाउनुहुने वाङमय शताब्दी पुरुष जोशी पहिलो व्यक्ति हुन । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख वरिष्ठ कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार दोस्रो जनआन्दोलन भन्दा अघि जिवित छँदा राजा र राजपरिवारका सदस्यहरुको मात्र टकमरी गरिएका सिक्का निष्काशन हुने गर्दथ्यो ।

‘जोशी जिवित हुँदा नै राष्ट्र बैंकले यसरी सम्मान गर्न पाउनु नेपाल र नेपालीको लागि गौरवको विषय हो। ’ प्रवक्ता समेत रहेका निरौलाले भने ‘सिक्का निष्काशनले जोशीको योगदानलाई अविस्मरणीय बनाउने छ।’ टक्सारले नेपालका ऐतिहासिक अवसर एवंम सामाजिक र सांस्कृतिक निधिहरुलाई अविस्मरणीय बनाउनका लागि स्मारिका सिक्काहरु निष्काशन गर्दै आएको छ ।
राष्ट्र बैंकका प्रवक्ता निरौलाका अनुसार यस अघि नेपाल अधिराज्यको संविधान –२०४७ र नेपालको संविधान – २०७२ जारी भएको अवसरमा स्मारिका सिक्का जारी गरिएको थियो । त्यसैगरी गौतम बुद्ध, आदिकवि भानुभक्त आचार्य, सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा उनीहरुको चित्र अंकित टकमरी गरिएका सिक्का जारी गरिएको थियो । त्यस्तै वन्यजन्तु अंकित स्मारिका सिक्का पनि निष्काशन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
अर्थमन्त्रीद्वारा सिक्का अनावरण
यसैबीच महानगरपालिकाले मंगलबार एक समारोहको आयोजना गरी सिक्काको अनावरण गरियो । सिक्का अनावरण गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कुनै पनि सम्पदा सय वर्ष पुगेपछि पुरातात्विक सम्पदाको रुपमा लिईने नियम अनुसार जोशी आफै्र जिवित सम्पदा रहेको धारणा राखे । ‘जोशी स्वयंमा जिवित धरोहर हुनुहुन्छ । उहाँको चित्र अंकित सिक्का निष्काशनबाट जोशीको योगदान सम्मान गरेको हो ।यो हाम्राे लागि गौरवको विषय हो ।’ अर्थमन्त्री डा खतिवडाले भने

जोशीको योगदानलाई कदर गरेर सिक्का निष्काशन गर्न पाउनु सरकारको लागि पनि गौरवको विषय रहेको पनि अर्थमन्त्री खतिवडाको भनाई रहेको छ ।सो अवसरमा ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले राष्ट्रियताको भावना बढाउन संस्कृतिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै संस्कृति मार्फत सिंगो राष्ट्रलाई जोड्न जोशीले महत्वपूर्ण योगदान पु¥याउनुभएको विचार व्यक्त गरे
सो अवसरमा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जोशीको सम्मानबाट जिवित छँदा नै व्यक्तित्वको योगदान कदर गर्न संस्कार बसाउन प्रयास गरेको बताए । जोशी सय वर्ष पुगेको अवसरमा वर्षभरि विविध कार्यक्रम आयोजना गरी मनाउने कार्यक्रम अनुसार सिक्का निष्काशन भएको सत्यमोहन जोशी मूल समारोह समिति कार्यसम्पादन समितिका संयोजक श्रीगोपाल महर्जनले बताए । उपप्रमुख गीता सत्यालले जोशीलाई सम्मान गर्न पाउँदा सबैमा गौरवको सञ्चार भएको धारणा राखिन ।