Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

भीमसेनथान मन्दिर आसपास खुल्ला राख्न इलाम नगरपालिकाको प्रक्रिया अगाडी बढ्ने

भीमसेनथान मन्दिर आसपास खुल्ला राख्न इलाम नगरपालिकाको प्रक्रिया अगाडी बढ्ने

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र १० २०७६


भीमसेनथान मन्दिर आसपास खुल्ला राख्न इलाम नगरपालिकाको प्रक्रिया अगाडी बढ्ने

इलाम । इलाम नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । नगरप्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले वडा नं. ७ मा रहेको प्यागोडा शैलीको भीमसेनथान मन्दिर व्यवस्थापन सम्वन्धी निर्णय गरेको छ । वडाध्यक्ष नरेश श्रेष्ठको संयोजकत्वमा बनेको कार्यदलको प्रतिवेदन अनुसार ४ वटा कित्तामा रहेको मन्दिरको वरिपरि खुला भाग राख्न, ऐतिहासिक पुरातात्विक सांस्कृतिक महत्वको मन्दिरको संरक्षण तथा सम्वद्र्धन र सार्वजनिक हितका लागि जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जा तथा अन्य खर्च नगरपालिकाले व्यहोर्ने गरी अधिग्रहण गर्ने निर्णय गरिएको प्रवक्ता ठाकुर नारायण श्रेष्ठले बताए ।
नगरपालिकाले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ (क) बमोजिम उक्त जग्गा प्राप्तिका लागि अधिग्रहण प्रक्रिया बढाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरी साविकको वडा नं. १ (क) को कित्ता नम्बर ९५,९६,९८ र १२४ को क्षेत्रफल क्रमशः ३६.००, ३८.००, ६१.३२, ३६.०० वर्ग मिटर जग्गामा कुनै पनि किसिमको निर्माण कार्यको लागि नक्सापास कार्य रोक्का राख्ने निर्णय गरेको श्रेष्ठले बताए ।
निकुञ्जपथदेखि टेलिकमसम्म जाने बाटो मदन दिपबिम मार्ग
इलाम नगरपालिका वडा नं. ७ निवासी संगीतकार तथा कलाकार स्व. मदन दिपबिमको योगदानको कदर गर्दै उनको सम्मानमा निकुञ्जपथदेखि चियाबारी हुँदै टेलिकमसम्म जाने बाटोको नाम मदन दिपबिम मार्ग राख्ने निर्णय गरेको छ । नगरपालिका, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७५ बमोजिम घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र प्रदान गर्नका लागि सो कार्यविधिको दफा २ को उपदफा ३ अनुसार जाँचबुझ समितिबाट पेश भए अनुसार इजाजत पत्र प्रदान गर्ने निर्णय गरेको छ ।
इलाम नगरपालिका अन्तर्गत आ.ब. २०७६/०७७ को कार्यक्रममा अन्तर वडास्तरीय फुटवल प्रतियोगिताको लागि रु १० लाख रकम विनियोजन भएको हुनाले उपयुक्त समय मिलाएर वडास्तरीय फुटवल प्रतियोगिता सम्पन्न गर्ने निर्णय भएको छ । प्रतियोगिताको प्रथम पुरस्कार रु. १ लाख २५ हजार र दोस्रो पुरस्कार रु. ७५ हजार राखिने भएको छ । साथै टिम तयारीको लागि प्रत्येक वडालाई रु. ५० हजारका दरले उपलब्ध गराउने भएको छ ।
यसैगरी यस नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ अनुसार स्वीकृत कार्यविधि तथा निर्देशिका अनुसार गठन गरिएका समिति तथा प्रतिष्ठानहरुको व्यवस्थित परिचालन सम्बन्धमा संस्थाका पदाधिकारी (अध्यक्ष, सचिव, कोषाध्यक्ष), वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु समेत सहभागी हुने गरी अभिमुखीकरण कार्यक्रम संचालन गर्ने गराउने निर्णय भएको छ । बैठकमा इलाम नगरपालिकाकी उपप्रमुख सुशिला नेम्वाङ्ग, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार