इलाम । आज कृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा आराधना गरी देशभर मनाईंदै छ । हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । ज्ञान, भक्ति र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ ।
मामा कंश लगायतको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंशको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गराएका थिए ।
बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलनोत्सवका रुपमा पनि मनाउने गरिन्छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको मानिन्छ । कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।आजको दिन मानिसहरु ब्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति संगीत गाउँछन् ।
थारु समुदायमा पनि कृष्णाजन्माष्टीको बेग्लै रौनक
देशैभर हिन्दू धर्मावलम्वी समुदयले श्रीकृष्ण जन्माष्टमी पर्व मनाइरहेका छन् । तराईका थारु समुदयले पनि यो पर्व धुमधामका साथ मनाउँछन् । कृष्ण जन्माष्टमी पर्व मनाउने थारुहरुको आफ्नै मौलिक चलन छ । थारुहरुले अष्टिम्की भन्ने यस पर्वको पहिलो दिन बिहानैदेखि निरहार व्रत बसिन्छ । दिउँसो गाउँको मुली तर्थात मतहवाको घरको बैठक कोठाको भित्तामा अष्टिम्की कला बनाउँछन् । चित्रमा भएको कला ब्रम्हाण्ड सृष्टिसँग सम्बन्धित हुने मान्यता रहिआएको छ ।
ब्रतालुहरु त्यसै दिन साँझ नजिकै खोला, नदी, कुवामा नुहाउने र झिसमिसे रात पर्न लागेको समयमा आ-आफ्नो घरमा टपरीमा तयार गरिएको पूजा सामाग्री र त्यसको माथि राखिएको माटाको पालामा दियो बालेर एकै समयमा मतहवाको घरमा जम्मा हुने गर्दछन । झिसमिसे रातमा पूजा सामाग्रीसहितको बलेको दियो भएको टपरी हातमा लिएर एकै किसिमको थारु ड्रेस लगायका युवतीहरु मतहवाको घरमा जादै गरेको दृश्य सच्चिकै मनमोहक देखिन्छ ।

![]()
मतहवाकोे घरमा जम्मा भएर अष्टिमकी गीत गाउँदै भित्तामा बनाइएको अष्टिम्की चित्रलाई पालैपालो सबैले पूजा गरिन्छ । यही अष्टिम्की पर्वदेखि थारु समुदायको हार्या गुरइ सुरुहुने गर्छ । बैशाख जेठमा ढुर्या गुरई मनायर बन्द गरिएको नाचगान र मादल यसै पर्बदेखि खुल्ने गर्दछ ।
यो पर्बमा ब्रत बसेर पूजाआजा गर्दा मनोकामना पुराहुने जनविश्वास छ । यो दिनमा पूजाआजापछि पनि अन्न नखाइ फलफुल मात्र खाएर सुतिन्छ । भोलिपल्ट अष्टिमीको दोस्रो दिन बिहानै उठेर अघिल्लो दिन पूजा गरिको महतवाको घरमा जम्मा भइ पूजा गरिएका पूजा सामाग्री लिएर खोला नदीमा सेलाउनुपर्छ । पूजा सामाग्री खोलामा सेलाएपछि ब्रतालुहरुको ब्रत सकिन्छ र आ–आफ्नो घर जाने परम्परा छ । यसै दिन आ-आफ्ना विवाहित चेलीहरुलाई उपहार पठाइदिने चलन छ, जसलाई अग्रासन भनिन्छ ।