इलाम । इलामको इतिहास, समाज, संस्कृति, जीवनशैली र आर्थिक विकासक्रमलाई समेटिएको पुस्तक ‘इलामको नालीबेली’ सार्वजनिक गरिएको छ । लेखक तथा नेपाल सरकारका पूर्वसचिव खेमराज नेपालद्वारा लिखित पुस्तक मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।
इलाम समाज काठमाडौंको आयोजनामा भएको विमोचन कार्यक्रममा शिक्षाविद् प्राध्यापक डा। केदारभक्त माथेमा, इलाम नगरपालिकाका प्रमुख केदार थापा, नेपाली कांग्रेसका सचेतक निश्कल राई, राजनीतिक विश्लेषक डा। सुरेन्द्र केसी, अग्रज पत्रकार धर्म गौतमलगायतको उपस्थिति थियो ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै कांग्रेस सचेतक निश्कल राईले इलामको विकास र समृद्धिका लागि पुस्ताबीच सहकार्य आवश्यक रहेको बताए । इलामप्रति माया, सद्भाव र समृद्धिको सपना बोकेका अग्रजहरूको अनुभव तथा सुझाव नयाँ पुस्ताका लागि महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
इलामको पहिचान र विशेषतालाई पुस्तकमार्फत उजागर गर्ने प्रयास गरेको भन्दै राईले लेखक नेपाललाई बधाई दिए । इलाममा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका लेखकको अनुभव र अध्ययनले भविष्यमा इलाम कस्तो बनाउने भन्ने परिकल्पना गर्न सहयोग पुग्ने उनले बताए ।
नयाँ पुस्ताले इलामको विकासका लागि अग्रजहरूको सल्लाह, सुझाव र सहयोगलाई निरन्तर आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै उनले उमेर मात्रै योग्यताको मापदण्ड नभई अनुभव र क्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुने धारणा राखे । पुरानो पुस्ताको अनुभव र इतिहासलाई बिर्सेर अघि बढ्दा समाजको अस्तित्व कमजोर हुन सक्ने उनले बताए ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाले पुस्तकलाई इलामको इतिहास, पहिचान र सामाजिक विकास समेटिएको महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजका रूपमा व्याख्या गरे । लामो अध्ययन, अनुसन्धान, स्थलगत भ्रमण तथा विभिन्न व्यक्तिसँगको संवादबाट तयार पारिएको पुस्तकले इलामको ऐतिहासिक, सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाबारे बुझ्न महत्त्वपूर्ण सहयोग पुग्ने उनले बताए ।
दुई हजार वर्षभन्दा पुरानो इतिहासदेखि इलामको धर्म, संस्कृति, जातजाति, परम्परा, शिक्षा, उद्योग तथा समाज विकासमा योगदान पुर्याउने व्यक्तिहरूका विषय पुस्तकमा समेटिएको नगरप्रमुख थापाले उल्लेख गरे । पुस्तकलाई लेखकको व्यक्तिगत सिर्जनामा मात्रै सीमित नराखी इलामको सार्वजनिक सम्पत्तिका रूपमा लिनुपर्ने मान्यतासहित नगरपालिकाले प्रकाशनमा अपनत्व लिएको उनको भनाइ थियो ।
थापाले लेखक नेपाल सरकारी सेवाबाट निवृत्त भएपछि पनि समाज विकासका क्षेत्रमा सक्रिय रहेको बताए । नाम्सालिङ विकास संस्थामार्फत करिब २० देखि २२ जिल्लामा वैकल्पिक ऊर्जा, जीविकोपार्जन, जलवायु अनुकूलन तथा वातावरण संरक्षणका क्षेत्रमा योगदान पुर्याएको उल्लेख गर्दै नगरपालिकाले पनि विभिन्न काममा सहकार्य गरेको जानकारी दिए ।
कार्यक्रममा इलाममा मेडिकल कलेज स्थापना गर्न सकिने सम्भावनाबारे समेत चर्चा गरिएको थियो । पाँचथर, ताप्लेजुङ, तेह्रथुम र झापासँगको भौगोलिक निकटता तथा छिमेकी मुलुकसँगको पहुँचका कारण इलाम मेडिकल शिक्षाको उपयुक्त केन्द्र बन्न सक्ने नगरप्रमुख थापाले बताए ।
१८० पृष्ठमा समेटिएको पुस्तकमा वि।सं। २००० अघिको इलामको ऐतिहासिक पृष्ठभूमि, नामकरण, बसोबास, जातजाति तथा समुदाय, उत्पादन प्रणाली, व्यापार, बजार, कृषि, वनस्पति, वनजंगल, भाषा, भेषभूषा, चालचलन, खानपान, धार्मिक तथा सांस्कृतिक सम्पदा र खोलानालालगायतका विषय तथ्यपरक रूपमा प्रस्तुत गरिएको छ ।
इलामको समग्र इतिहासलाई एकीकृत रूपमा अभिलेखीकरण गर्ने प्रयास पुस्तकमा गरिएको छ । इलाम नगरपालिकाको प्रकाशन तथा ग्लोबल प्रकाशन गृह, डिल्लीबजार काठमाडौंको मुद्रणमा प्रकाशित पुस्तकको मूल्य पाँच सय रुपैयाँ राखिएको छ । लेखक नेपालका यसअघि ‘समाज, संस्कार र शासन’ तथा ‘मिश्रित जातजाति स् हामी नेपाली’ पुस्तक प्रकाशित छन् ।