Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

ऐतिहासिक गोर्खे बजारलाई पुनर्जीवन दिनुपर्छ :  प्रदेश प्रमुख 

ऐतिहासिक गोर्खे बजारलाई पुनर्जीवन दिनुपर्छ :  प्रदेश प्रमुख 

  • सन्देश सम्बाददाता
  • सोमबार, भाद्र २९ २०८३


ऐतिहासिक गोर्खे बजारलाई पुनर्जीवन दिनुपर्छ :  प्रदेश प्रमुख 
सुर्योदय (गोर्खे) । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले इतिहास मेट्न नहुने भन्दै ऐतिहासिक गोर्खे बजारलाई पुनर्जीवन दिनुपर्ने बताएका छन् ।  अनौपचारिक भ्रमणमा इलाम आएका खापुङले सोमबार सूर्योदय नगरपालिका–१ स्थित ऐतिहासिक गोर्खे बजार पुगेर पर्यटन, कृषि र उद्योगका दृष्टिकोणले सम्भावना भए पनि ओझेलमा परेको भन्दै त्यसलाई अझ विकास निर्माणमा तिब्रता दिनुपर्नेमा जोड दिए ।
ऐतिहासिक व्यापारिक केन्द्र गोर्खे बजार स्थित राम मन्दिर, नाकामुरा करियापा ध्यान केन्द्र, जिल्लाकै पहिलो साना जलविद्युत् आयोजना लगायतका क्षेत्र अवलोकन गरेपछि वडा कार्यालयमा आयोजित एक छलफल कार्यक्रममा उनले इतिहास बनाउन कठिन हुने भन्दै पुर्खाले रचेको इतिहासलाई मासिन नदिन तीन तहका सरकार एक भएर लाग्नुपर्ने बताएका छन् ।
राणाकाल अघि अस्तित्वमा रहेको यो बजार आउने–मिरो पुरानो धोको थियो । यहाँका भन्सार, सरकारी बैंक, उद्योग, जलविद्युत् आयोजना अहिले सबै बन्द   रहेछन् । तीन तहका सरकारले गोर्खेको इतिहास ब्युँताउनुपर्छ, उनले भने, इतिहास संरक्षण गर्न सकिएन भने सजिलै मेटिएर जान्छ, तर इतिहास बनाउन चाहिँ सजिलो छैन । गोर्खेलाई पुनर्जीवन दिन म सरकारसँग समन्वय गर्छु ।
वडाध्यक्ष राजकुमार सेरिङले आवश्यक पहल तथा सहजीकरण गरिदिन माग गर्दै प्रदेश प्रमुख खापुङ समक्ष ज्ञापनपत्र बुझाए । मयुङ खोला क्षेत्रको समग्र सौन्दर्यीकरण तथा पर्यटन पूर्वाधार विकास, ऐतिहासिक गोर्खे बजार संरक्षण तथा पुनर्जीवन, नाकामुरा करियापा ध्यान केन्द्र क्षेत्र संरक्षण तथा सौन्दर्यीकरण, पर्यटन सडक गोर्खे–बाँगिन–थुम्के स्तरोन्नति गर्न सरकारसँग आवश्यक समन्वय गरिदिन माग गरिएको छ ।
तीन दशक अघिसम्म जिल्लाकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको गोर्खे बजार अचेल सुनसान छ । राणाकालीन समय अघि नै अस्तित्वमा रहेको यो बजार इलामसहित पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम लगायतका मानिसहरूको जडीबुटी, नगदे बाली बिक्री गर्ने र नुन–चामल किन्ने केन्द्र थियो ।  तर अहिले यहाँका अधिकांश ठुला व्यापारी नै विस्थापित भइसकेका छन् । गोर्खे स्थित जिल्लाकै पहिलो साना जलविद्युत् आयोजना हाल बन्द अवस्थामा छ । ६४ किलोवाटका आयोजना पशुपतिनगर र गोर्खे बजारलाई लक्षित गरेर सञ्चालन गरिएको थियो ।
स्थानीय अर्जुनकुमार भट्टराईले अहिले गोर्खे बजारको प्राङ्गणमा कोशी प्रदेशका प्रमुख परसुराम खापुङ भ्रमणमा आउँदा खशि भएको बताए । प्रदेश प्रमुखले  प्रत्यक्ष पैदल यात्रामा गोर्खेको ऐतिहासिक ठाउँहरूको चाहिँ भ्रमण गरेको  र प्रदेश प्रमुखप्रति हामी आम गोर्खेबासीहरूले धन्यवाद दिनुपर्ने  भट्टराईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार