इलाम । अजरबैजानमा आयोजना हुने फिफा यु–१५ विश्वकप तथा फेस्टिभल २०२६ का लागि कोशी प्रदेशस्तरीय खेलाडी छनोट कार्यक्रम सुरु भएको छ। छनोट कार्यक्रमको पहिलो दिन खेलाडीहरूलाई ३४ वटा टिममा विभाजन गरी प्रतिभा पहिचान तथा छनोट गरिएको छ।
कोशी प्रदेश फुटबल संघका उपमहासचिव पूर्ण फत्रका अनुसार छनोटमा इलामका ७५ जनासहित कोशी प्रदेशका १४ जिल्लाबाट २ सयभन्दा बढी खेलाडी सहभागी हुनेछन् । पहिलो दिन ताप्लेजुङ, इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, उदयपुर र भोजपुर जिल्लाका खेलाडीहरूले छनोटमा सहभागिता जनाएका थिए।
सहभागी खेलाडीहरूको प्राविधिक क्षमता, खेल कौशल तथा प्रदर्शनका आधारमा छनोट प्रक्रिया अघि बढाइएको छ। त्यस्तै, छनोट कार्यक्रमको दोस्रो दिन आज खोटाङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, ओखलढुङ्गा र धनकुटा जिल्लाका खेलाडीहरूको छनोट गरिनेछ।
प्रदेशस्तरीय छनोटबाट उत्कृष्ट खेलाडी पहिचान गरी आगामी चरणका लागि छनोट गरिने कोशी प्रदेश फुटबल संघले जनाएको छ। अजरबैजानमा हुने फिफा यु–१५ विश्वकप तथा फेस्टिभल लाई लक्षित गरी देशभरबाट प्रतिभावान युवा खेलाडी छनोट गर्ने कार्यक्रमअन्तर्गत कोशी प्रदेशमा पनि छनोट प्रक्रिया सञ्चालन गरिएको हो।