Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

इलामकी क्रिकेटर प्रतिभा नगद १ लाख सहित सम्मानित

इलामकी क्रिकेटर प्रतिभा नगद १ लाख सहित सम्मानित

  • सन्देश सम्वाददाता
  • बुधबार, असार २४ २०८३


इलामकी क्रिकेटर प्रतिभा नगद १ लाख सहित सम्मानित

इलाम । इलामकी दृष्टिविहिन क्रिकेटर प्रतिभा राई र सुनसरीकी सुनिता खवास प्रदेश खेलकुद विकास बोर्डबाट जनही नगद १ लाख सहित सम्मानित भएकी छन् । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि माङसेबुङ गाउँपालिकाकी राई र चतराकी खवास सहित १ सय जना भन्दा बढी खेलाडी, अग्रज खेलकर्मी र खेलकुद पत्रकारहरूलाई सम्मान गरिएको हो ।

दुवै जना सम्मानित क्रिकेटरले गत बर्ष भारत र श्रीलंकामा भएको एसबिआई प्रथम पहिलो दृष्टिबिहीन महिला क्रिकेट विश्वकपमा सहभागिता जनाउँदै उपविजेता बनेका थिए । अष्ट्रेलिया, श्रीलंका, पाकिस्तान, अमेरिकालाई पराजित गरेको नेपाल टिम भारतसंग पराजित बन्दै उपविजेता बनेको थियो । बोर्डले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको वर्गीकरण गर्दै पदक प्राप्त गर्ने खेलाडीहरूलाई पदक अनुसार नगदसहित सम्मान गरेको हो।

त्यस्तै, प्रतियोगितामा महिला टोलीका प्रशिक्षक उदयपुरका नरेन्द्र निरौलालाई २५ हजारसहित सम्मान गरेको छ । कार्यक्रममा राष्ट्रिय कुस्ती प्रतियोगिता, ३० औँ पुरुष र ११ औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता, ४६ औँ नेशनल एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता ,२० औँ राष्ट्रिय जुडो प्रतियोगिता, २५ औँ राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिता, एनएसए कप पौडी च्याम्पियनसिप, राष्ट्रिय बुद्धिचाल प्रतियोगिता, नेकोस राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता, ४२ औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा कास्य, रजत र स्वर्ण पदक विजेता खेलाडीहरूलाई क्रमश : जनही १५ हजार, २५ हजार र ५० हजारसहित सम्मान गरिएको थियो। उक्त खेलहरूका प्रशिक्षक र व्यवस्थापकहरूलाई समेत जनही १० हजारसहित सम्मान गरिएको थियो।

त्यस्तै, राष्ट्रिय यु-२० एथलेटिक्स च्याम्पियनसिपलगायत जुनियर विधाको प्रतिस्पर्धामा कास्य पदक विजेतालाई ६ हजार र रजत पदक विजेतालाई ८ हजार सम्मान गरिएको छ ।  दुबईमा सम्पन्न एसियाली युथ पारा गेम्स अन्तर्गतको टेबलटेनिसको यु-२३ सिंगल्स क्लास ७० प्रतियोगितामा रजत पदक प्राप्त गर्न सफल स्वीकृत न्यौपानेलाई समेत ५० हजार नगदले सम्मान गरिएको छ ।
१३ अग्रज खेलकर्मी, ५ खेलकुद पत्रकारलाई सम्मान
सम्मान कार्यक्रममा बोर्डले कोशी प्रदेशमा बसोबास गर्दै प्रदेश तथा राष्ट्रको खेलक्षेत्रमा योगदान गरेका अग्रज खेलकर्मीलाई समेत सम्मान गरेको थियो। कार्यक्रममा भारोत्तोलनका पार्थ सारथी सेन गुप्ता, खेलकर्मी गणेशप्रसाद दुलाल, एथलेटिक्सका नारायण यादव र नारायणबहादुर प्रधान, ब्याडमिन्टनका उदयकुमार अर्याल, तेक्वान्दोका कुलबहादुर गुरुङ, टेबलटेनिसका विकेन थापालाई सम्मान गरिएको थियो।

त्यस्तै, फुटबलका मनिष तिम्सिना र भगिरथ आले , कराँतेका कुविरमान राई र कुशल श्रेष्ठ, जुडोका गंगाबहादुर खड्का र आईटिएफ तेक्वान्दोका राजेन्द्र धिमाललाई सम्मान गरिएको छ । अग्रज खेलकर्मीहरूलाई जनही २५ हजारसहित सम्मान गरिएको थियो। कार्यक्रममा खेलपत्रकारहरू मोरङका विनोद भण्डारी, सुनसरीका अर्जुन सुवेदी र अमर काफ्ले, ओखलढुंगाका नवराज कार्की, इलामका नमिन ढकाललाई प्रदेशको खेलक्षेत्रको विकास, विस्तार र प्रगतिमा योगदान गरेबापत सम्मान गरिएको थियो ।

त्यस्तै, नेपाली क्रिकेट टोलीका व्यवस्थापक अर्जुन पौडेल, बोर्डका कर्मचारी मध्ये उत्कृष्ट कार्यक्रम प्रमुख विमल पोखरेल, राजीव सुवेदी र नरकुमार बस्नेतलाई समेत जनही १० हजारसहित सम्मान गरेको थियो। सम्मानित खेलकर्मी, पत्रकारहरूलाई बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री रामप्रसाद मेहता, उपाध्यक्ष वसन्तराज अर्याल, सदस्य सचिव घोषलगायतले सम्मानपत्र र रकम हस्तान्तरण गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार