इलाम । नेपाली खेलकुदको इतिहासमा इलामले छुट्टै पहिचान बनाएको छ । विशेषगरी इलाम सदरमुकामस्थित इलाम नगरपालिकाले जिल्लाको फुटबल, एथ्लेटिक्स, भलिबल, ब्याडमिण्टनदेखि महिला फुटबलसम्मको विकासमा महत्वपूर्ण योगदान दिएको छ । इलामको खेलकुद इतिहासले राणा शासनकाल सम्झाउँछ । तत्कालिन इस्ट इण्डिया कम्पनीले तत्कालिन श्री ५ को सरकारसँग सन् १८१६ मा सुगौली सन्धी भएको करिब १० बर्षपछिको अवधिबाट इलामको ठुलो टुँडिखेलमा फुटबल भित्रिएको कथन पाइन्छ । राइटर छविलाल काफ्लेको जग्गा नेपाली सेनाले आफ्नो स्वामित्वमा लिएपछि इलाममा खेलमैदानको विकास क्रम सुरु भयो ।
वि.सं. १९९० को दशकतिर टुँडिखेलमा राणा टिम र रैती टिमबीच पेट्रोलमेक्स बालेर खेलिएको फुटबलको अझै पनि चर्चा हुने गर्छ । त्यही जगमा टेकेर अहिलेको इलामको खेलकुद विकास भएको देखिन्छ । फिक्कल–पशुपतिनगर क्षेत्रमा छिटपुट रुपमा खेलकुद गतिविधि भए बाहेक अन्य सबै इलाम बजारकेन्द्रित हुन्थ्यो । राणाकालमा सुरु भएको खेल संस्कृतिले आज खेलमैदान निर्माण, राष्ट्रपति रनिङ शिल्डमा वर्चस्व र खेल पूर्वाधार विस्तारसम्मको यात्रा तय गरेको छ ।

मनोरञ्जनको माध्यमको रुपमा सुरु भएको खेलले अहिले पहिचानको आधार तय गरेको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा हुने इलाम गोल्डकप र क्लब ओएसिसले आयोजना गर्ने महिला गोल्डकप दर्शक बटुल्ने प्रतियोगिताको रुपमा स्थापित भएका छन् । विद्यालयस्तरीय, स्थानीय तथा जिल्लास्तरका खेल गतिविधिहरू सञ्चालन हुँदै आएको ठूलो टुँडिखेल इलामको खेलकुद गतिविधिको केन्द्र बन्दैछ । इलामका धेरै खेलाडीको खेल जीवनको सुरुवात यही मैदानबाट भएको हो भने यहीँबाट विभिन्न खेल विधामा राष्ट्रियस्तरका खेलाडी उत्पादन भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको पहिलो ब्याच अर्थात गोल्डेन जेनेरेसनको सदस्य लोकबन्धु गुरुङ र सुवास राई यहीँका उत्पादन हुन् । टुडिँखेलमै दौडिएकी प्रमिला रिजालले सन् २०१२ को लण्डन ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरिन् । फुटबल, एथ्लेटिक्स, कराँते, तेक्वान्दो, भलिबल, क्रिकेट तथा पछिल्लो समय ब्याडमिण्टनमा पनि इलामका खेलाडीहरूले उपस्थिति जनाइरहेका छन् ।

जिल्ला ब्याडमिण्टन संघका अध्यक्ष हुकुमलाल थेवे पछिल्लो समय इलाम नगरपालिकाले खेलकुद र खेलाडीको विकासमा लगानी गरेको बताउँछन् । ‘हामीलाई अघिल्लो बर्ष नौलाख रुपैयाँ उपलब्ध गराइएको थियो । त्यसले प्रदेशस्तरीय व्याडमिण्टन प्रतियोगिता सम्पन्न ग¥यौँ’, उनले भने, ‘युवा खेलाडी उत्पादन गर्न नगरपालिकाले निःशुल्क उपलब्ध गराएको कृष्ण भक्तराज मेमोरियल कभर्ड हलमा सिनियर र जुनियर खेलाडीहरुको प्रशिक्षण भइरहेको छ ।’
विद्यालय खेलकुद र अभिभावकत्वमा जोड
राष्ट्रपति रनिङ शिल्डको १३औँ संस्करणमा २४ स्वर्ण, ७ रजत र १० कांस्य, १४ औँ संस्करणमा २५ स्वर्ण, १८ रजत र १८ कास्य तथा १५औँ संस्करणमा २२ स्वर्ण, १३ रजत र ८ कांस्य पदक जित्दै लगातार तीन पटक जिल्ला च्याम्पियन बनेको इलाम नगरपालिकाले आगामी आ.व.को नीति तथा कार्यक्रममा प्रदेशस्तरीय प्रतियोगितामा समेत उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्य कोरेको छ ।
यसका लागि खेलाडीको पूर्वतयारी, नियमित अभ्यास, सबै खेल विधाका खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता सञ्चालनलाई निरन्तरता दिने साथै युवालाई खेलसँगै रोजगारी र उद्यमशीलतामा जोड्ने उद्देश्यले रोजगारीमा सहजीकरण गर्ने नीति अवलम्बन गरिएको छ । विद्यालयस्तरको खेलकुदमा गरिएको लगानीको प्रतिफलस्वरुप खेलाडी उत्पादन भइ रनिङ शिल्डमा उपलब्धी हासिल भएको र स्थानीय संघसंस्थाले खेल संस्कृतिलाई निरन्तरता दिएको देखिन्छ ।

नगरबाट विद्यालयस्तरका खेलाडी र वडाहरुमा इन्डोर खेलकुदलाई प्रोत्साहन गर्न एक वडा एक खेलमैदान निर्माण गर्ने योजनाअनुरुप मैदान स्तरोन्नति तथा कभर्ड हल निर्माण जस्ता काम भइरहेको छ । वडा नं ८ सिङफ्रिङमा नगर गौरवको योजनामा समावेश गरेर बहुउद्धेश्यीय कभर्ड हल निर्माणकाे काम अघि बढाएको नगर प्रमुख केदार थापाले बताए ।

आ.व. २०७९/८० देखि हालसम्म विभिन्न शीर्षकमा खेलकुद प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड, खेल सामग्री वितरण, खेल पूर्वाधार निर्माण तथा खेलाडी प्रोत्साहन कार्यक्रमका लागि बजेट छुट्याइएको छ । इलाम नगरपालिकाले आफ्नो क्षेत्रमा मात्र नभएर अन्य पालिकामा हुने खेलकुदका कार्यक्रमहरुलाई समेत बजेट सहयोग गर्दै आएको छ । इलाम नगरपालिकाले जिल्लाको पहिचानको रुपमा स्थापित इलाम गोल्डकपलाई हरेक बर्ष ११ लाख रुपैयाँ दिने सम्झौता गरेको छ । तेश्रो संस्करणको इलाम गोल्डकप दौरान नगर प्रमुख केदार थापाले रेडहर्स फुटबल क्लबका अध्यक्ष सजितसिंह खत्रीसँग खेलमैदानमा नै हरेक बर्ष बजेट सुनिश्चितातासहितको सम्झौता गरे ।

महिला फुटबलको आधारभूमि भएको कारण क्लब ओएसिसले आयोजना गर्ने महिला फुटबललाई नगरले प्राथमिकतामा राखेको छ । नगरले महिला र पुरुषबीच हुने दुवैखाले ठूला फुटबल प्रतियोगिताको अभिभावकत्व लिँदै आएको छ । खेलकुद क्षेत्रका जानकारहरूका अनुसार बजेटको ठूलो हिस्सा प्रतियोगिता केन्द्रित हुने गरेको छ । दीर्घकालीन खेलाडी विकास, प्रशिक्षक उत्पादन, खेल विज्ञान, पोषण र नियमित प्रशिक्षणमा लगानी आवश्यक देखिन्छ । नगरपालिकाले नगर खेलकुद विकास समितिमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएपनि खेलकुदलाई आर्थिक विकास, पर्यटन र युवा रोजगारीसँग जोड्ने दीर्घकालीन रणनीति आवश्यक देखिन्छ ।
साहसिक खेलकुदको सम्भावनायुक्त क्षेत्र
इलाम नगरपालिकामा फुटबल, क्रिकेट, मार्सल आर्टस, ब्याडमिण्टन मात्र होइन् साहसिक खेलकुदको विकाससमेत गर्न सकिन्छ । इलाम नगरपालिका–३ पुवामझुवा क्षेत्रमा प्याराग्लाइडिङको सम्भाव्यता खोजी, परीक्षण उडान तथा पूर्वाधार निर्माणका प्रारम्भिक प्रयाससमेत भए । स्थानीय छेलेथुम्कीबाट २०७६ सालमा गरिएको प्याराग्लाइडिङको परीक्षणले भौगोलिक बनावट, उडानका लागि आवश्यक हावाको अवस्था र अवतरण क्षेत्र उपयुक्त रहेको देखाएको थियो ।

नौ बर्षअघिबाट इलाम नगरपालिका–८ महभिरमा रक क्लाइम्बिङको सम्भाब्यता खोजिएको थियो । त्यहाँ प्राकृतिक चट्टानलाई उपयोग गर्दै रक क्लाइम्बिङका लागि आवश्यक संरचना निर्माणको काम पनि अघि बढाइएको थियो । प्राकृतिक भीरमा बोल्टिङ गरी प्रशिक्षण तथा साहसिक खेल सञ्चालनको तयारी गरिएको थियो । २०७९ सालमा समेत करिब ५० मिटर अग्लो पहरामा निर्माण गरिएको रक क्लाइम्बिङ नयाँ र आकर्षक गन्तव्य रहेकाले नियमित रूपमा बजेटको व्यवस्था गरि पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले बताएका थिए । तर अहिले पूर्ण रुपमा संचालन हुन सकेको छैन् ।
यी दुवै पहलले इलाममा साहसिक खेलकुदको सम्भावना पुष्टि गरेका थिए । तर त्यसयता स्थानीय सरकारको निरन्तरता र योजनाको अभावमा ती प्रयासहरू विस्तार हुन सकेका छैनन् । नगर प्रमुख केदार थापाले साहसिक खेल पर्यटनको विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले साहसिक खेलकुदको सम्भावना अध्ययन र जनशक्ति विकासका लागि यसअघि नै प्याराग्लाइडिङ तालिम सञ्चालन गरिएको बताउँदै इलामका पाटेनागी, रातमाटे लगायतका क्षेत्र प्याराग्लाइडिङका लागि सम्भावना बोकेका गन्तब्य रहेको उल्लेख गरे । प्रमुख थापाले निजी क्षेत्रले लगानी र सञ्चालनमा चासो देखाए स्थानीय सरकार आवश्यक सहकार्य र समन्वय गर्न तयार रहेको स्पष्ट पारे ।
टुँडिखेलको डिपिआर र नेपाली सेनासँग सहकार्य
सदरमुकामको ठुलो टुँडिखेलमा नेपाली सेनासँगको सहकार्यमा विभिन्न गोल्डकप प्रतियोगिता हुँदै आएको थियो । प्रतियोगिता आयोजना हुने समयमा आयोजकहरुलाई चुनौती देखिन्थ्यो । केदार थापा नेतृत्वको नगर कार्यपालिकाले सेनासँगको सहकार्यमा टुँडिखेललाई आधुनिक खेल मैदानका रूपमा विकास गर्ने योजना अघि सारेपनि मुर्त रुप पाउन सकेको छैन ।

नगर प्रमुख थापाले नेपाली सेनाका तत्कालिन प्रधान सेनापतीलाई भेटेर टुँडिखेलको बारेमा जानकारी गराएका थिए । टुँडिखेलको स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काममा इलाम नगरपालिका र नेपाली सेनाबीच सहकार्य भएको देखिन्छ । टुँडिखेललाई बहुउद्देश्यीय खेल परिसरका रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो । आधुनिक दर्शकदीर्घा, खेल मैदान, अभ्यासस्थल तथा अन्य पूर्वाधार निर्माणको अवधारणा अघि सारिएको छ ।
प्रमुख थापाले टुँडिखेलम स्तरोन्नतिका लागि नयाँ पहल अघि बढाइएको बताए । उनले भने, ‘टुँडिखेलको डीपीआर परिवर्तन गरेर स्तरोन्नतिको काम अघि बढाउँदैछौँ । नेपाली सेनाले पनि यसमा चासो दिएको छ । सबै पक्षसँग समन्वय र प्रयत्न गरिरहेका छौँ । लागत बढेकाले पुरानो डीपीआर संशोधन गरेर आगामी आर्थिक वर्षमा स्टेज र प्यााराफिट निर्माणको काम सुरु हुन्छ ।’
पर्याप्त बजेट नहुँदा अधुरो माईभगवती रंगशाला
नगरपालिकाले शुरु गरेको खेलकुद क्षेत्रको जिल्लाकै सबैभन्दा महत्वाकाङ्क्षी खेल पूर्वाधार आयोजना भने बजेट अभावले अधुरै छ । आठ वर्ष अघिदेखि वडा नं. १० गोदकस्थित राजदुवाली टाप्पुमा निर्माणाधीन माई भगवती रङ्गशालाले पूर्णता पाएको छैन । करिब १२० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने लक्ष्यसहित २०७५ सालमा सुरु भएको आयोजनामा हालसम्म कोशी प्रदेश सरकार र इलाम नगरपालिकाको समपूरक अनुदानमार्फत चार करोड आठलाख २३ हजार रुपैयाँ खर्च भएको छ । उक्त रकमबाट पर्खाल, प्याराफिट, रेलिङलगायतका आधारभूत संरचनामात्र निर्माण हुँदा आयोजनाको भौतिक प्रगति करिब १० प्रतिशत मात्रै पुगेको छ ।

शुरुका चार वर्ष आयोजनाले केही बजेट पाएपनि त्यसपछि भने निर्माण कार्य रोकिएको छ । अ.व. २०७६/७७ मा एककरोड ३६ लाख रुपैयाँ, २०७७/७८ मा ८४ लाख १९ हजार, २०७८/७९ मा ८४ लाख १९ हजार र २०७९/८० मा एक करोड दुई लाख ९८ हजार रुपैयाँ छुट्याइएको थियो । त्यसयता लगातार तीन आ.व.मा आयोजनाले बजेट पाएको छैन ।
नगर प्रमुख थापाले करिब ५० करोड रुपैयाँ लागत अनुमान रहेको यस्तो ठूलो आयोजना सम्पन्न गर्न स्थानीय तहको आन्तरिक स्रोतले मात्र सम्भव नहुने बताए । प्रदेश र संघीय सरकारसँग पटक पटक बजेट माग गरिए पनि प्राप्त हुन नसकेको उनले बताए ।