माई । इलाम जिल्लाको दक्षिणी भूभागमा अवस्थित माई नगरपालिका प्राकृतिक सम्पदा, ऐतिहासिक गौरव, सांस्कृतिक विविधता, कृषि सम्भावना र पर्यटन आकर्षणले सम्पन्न स्थानीय तह हो । चुरे पहाडको काखमा फैलिएको हरियाली, कलकल बग्ने माइखोला, शताब्दी पुराना चिया बगान, लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको सुखानी, धार्मिक आस्थाका केन्द्रहरू तथा विभिन्न जातजातिको मौलिक संस्कृति यहाँका प्रमुख विशेषता हुन् ।
यही कारण माई नगरपालिका केवल प्रशासनिक इकाइ मात्र नभई प्रकृति, इतिहास र सम्भावनाको साझा पहिचान बनेको छ । इलामका १० स्थानीय तहमध्ये क्षेत्रफलका हिसाबले दोस्रो ठूलो माई नगरपालिका आज विकास र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढिरहेको छ। कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा तथा पूर्वाधार विकासका क्षेत्रमा भइरहेको परिवर्तनले माईलाई पूर्वी नेपालको सम्भावनायुक्त नगरका रूपमा स्थापित गरिरहेको छ ।
माइखोलाको नामबाट बनेको पहिचान
प्रसिद्ध माइखोलाको नामबाट नामकरण गरिएको माई नगरपालिका इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित छ । साविकका दानाबारी, चिसापानी, महमाई र लक्ष्मीपुर गाविसको केही भागलाई समेटेर गठन भएको यस नगरपालिकाको क्षेत्रफल २४६.११ वर्ग किलोमिटर रहेको छ ।

उत्तरमा इलाम र देउमाई नगरपालिका, पूर्वमा सूर्योदय नगरपालिका तथा रोङ गाउँपालिका, पश्चिममा माङ्सेबुङ र चुलाचुली गाउँपालिका तथा दक्षिणमा झापाका अर्जुनधारा, कन्काई र शिवसताक्षी नगरपालिकासँग यसको सीमा जोडिएको छ । चुरे पहाडदेखि तराईको समथर भूभागसम्म फैलिएको भूगोलले यहाँको प्राकृतिक स्वरूपलाई अद्वितीय बनाएको छ। यही विविधताले कृषि उत्पादन, जैविक विविधता तथा पर्यटन विकासका लागि प्रशस्त सम्भावना सिर्जना गरेको छ ।
माई नगरपालिकाको परिचय केवल प्राकृतिक सौन्दर्यमा सीमित छैन । यो नेपाली लोकतान्त्रिक आन्दोलनको गौरवशाली इतिहाससँग पनि जोडिएको छ । वडा नम्बर ४ मा रहेको सुखानी क्षेत्र झापा आन्दोलनका पाँच सहिदहरूको बलिदानस्थलका रूपमा परिचित छ । वि.सं. २०२९ साल फागुन २१ गते तत्कालीन पञ्चायती व्यवस्थाले बिरेन राजवंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइकेल र नारायण श्रेष्ठलाई यही जंगलमा सामूहिक रूपमा गोली हानी हत्या गरेको थियो । त्यसयता सुखानी लोकतन्त्र, बलिदान र परिवर्तनको प्रतीक बनेको छ ।
आज पनि देशभरका राजनीतिक कार्यकर्ता, विद्यार्थी तथा लोकतन्त्रप्रेमी नागरिकहरू सुखानी पुगेर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने गर्छन् । अहिले सुखानीलाई ऐतिहासिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने प्रयास भइरहेको छ । पार्क, स्मारक तथा अन्य पूर्वाधार निर्माणका कार्यले यस क्षेत्रको महत्व झन् बढाएको छ । माई नगरपालिका नेपाली चिया इतिहासको अध्ययन केन्द्रको रुपमा समेत लिन सकिन्छ ।

नेपालमा चिया खेतीको इतिहास लेख्दा माई नगरपालिकाको नाम अनिवार्य रूपमा आउँछ । इलाममा पहिलोपटक चिया रोपिएको दुई वर्षपछि वि.स १९२२ मा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले माई नगरपालिका–९ सोक्तिम क्षेत्रमा चिया रोपण गरेका थिए । त्यसयता सोक्तिम नेपालको चिया इतिहासको महत्वपूर्ण केन्द्र बनेको छ । आज पनि डेढ शताब्दीभन्दा पुराना चियाका बोटहरूले गुणस्तरीय चिया उत्पादन गरिरहेका छन् । यो केवल कृषि उत्पादन मात्र होइन, नेपालको औद्योगिक इतिहासको समेत गौरव रहेको स्थानीय अनिल तामाङ बताउँछन् ।
चिलिमकोट चिया बगान माई नगरपालिकाको अर्को चिनारी हो । हजारौं रोपनी क्षेत्रमा फैलिएको हरियो चिया बगानले यहाँको अर्थतन्त्रलाई टेवा पुर्याएको छ । स्थानीय बासिन्दाका लागि रोजगारी सिर्जना गर्नुका साथै चिया पर्यटनको सम्भावना पनि बढाएको छ । चिया बगानबीचबाट यात्रा गर्दा देखिने हरियाली दृश्यले जोकोहीको मन लोभ्याउँछ। बिहानको कुहिरो, चियाका हरिया बोट र चुरे पहाडको पृष्ठभूमिले यहाँको सौन्दर्यलाई अझ मनमोहक बनाएको छ ।
कमान छेउमा नै रहेको डुँडेहोलीमा आजकाल पानी साँजले सजिएको छ । दैनिक जसो सयौको संख्यामा डुडेहोली क्षेत्रमा फोटो खिच्न र टिकटक बनाउन आउने गरेको नमुना युवा समुहका अध्यक्ष रन्जन श्रेष्ठ बताउँछन् । ‘डुडेहोली क्षेत्रमा लगानी गरेर पार्क लगायतका संरचनाहरु बनाउने हो भने पर्यटकहरुको आर्कषण अझ बढि हुन सक्छ ।’ उनी भन्छन् ।
झापाको मुख्य केन्द्र विर्तामोडबाट कालोपत्रे सडक हुँदै करिब आधा घण्टाको यात्रामा पुग्न सकिने भएकाले आजकाल पर्यटकहरु सहज रुपमा पुग्न सक्छन् । इलामको सन्दकपुर क्षेत्रबाट उत्पत्ति भएको माइखोला माई नगरपालिकाको जीवनरेखा हो । यसले केवल सिंचाइ र खानेपानीको स्रोत मात्र उपलब्ध गराएको छैन, नगरको आर्थिक विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको छ ।
माइखोलामा निर्माण गरिएका जलविद्युत आयोजनाले राष्ट्रिय ऊर्जा उत्पादनमा योगदान पुर्याइरहेका छन् । सानिमा माई हाइड्रोपावर तथा अन्य क्यास्केड आयोजनाहरूले विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा आपूर्ति गरिरहेका छन् । जलस्रोतको सदुपयोग गर्दै माई नगरपालिकाले विकासका नयाँ सम्भावनाहरू खोजिरहेको छ। ऊर्जा, पर्यटन र कृषि क्षेत्रलाई जोडेर दीर्घकालीन समृद्धिको आधार निर्माण गर्ने प्रयास भइरहेको छ ।

माई नगरपालिका–२ र ८ मा रहेको दोमुखा क्षेत्र पूर्वी नेपालको चर्चित वनभोज गन्तव्य हो । माइखोलाको किनारमा अवस्थित दोमुखामा वर्षेनी हजारौं पर्यटक पुग्ने गर्छन् । नदीको स्वच्छ पानी, हरियाली जंगल, शान्त वातावरण तथा प्राकृतिक सौन्दर्य यहाँका मुख्य आकर्षण हुन् । यहाँ रहेको वैष्णव देवी मन्दिर धार्मिक आस्थाको केन्द्र बनेको छ । इलाम, झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी लगायतका जिल्लाबाट मानिसहरू यहाँ घुम्न आउने गर्छन् ।
परिवारसँग समय बिताउन, वनभोज गर्न तथा प्रकृतिको आनन्द लिन चाहनेहरूका लागि दोमुखा उत्कृष्ट गन्तव्य बनेको छ । माई नगरपालिकाको पर्यटकीय सम्भावनायुक्त क्षेत्रमध्ये मैनाचुली महत्वपूर्ण मानिन्छ । स्थानीय किंवदन्ती अनुसार मैनाचरीको बासस्थान भएकाले यस क्षेत्रको नाम मैनाचुली रहन गएको हो । यहाँ रहेको पाथिभरा धाम धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
स्थानीय जनविश्वास अनुसार महाभारतकालीन पाण्डवहरूले गुप्तवासका क्रममा यहाँ समय बिताएका थिए । रामले बाण हानेर पानी निकालेको कथासमेत यहाँ प्रचलित छ । मैनाचुलीबाट हिमाली श्रृंखला, तराईका फाँट तथा भारतका सीमावर्ती क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । यसले धार्मिक पर्यटनसँगै दृश्यावलोकन पर्यटनको सम्भावना पनि बढाएको छ । झाँतेचुली माई नगरपालिकाको अर्को महत्वपूर्ण पर्यटकीय स्थल हो ।
स्थानीय किंवदन्ती अनुसार वनवासका क्रममा राम र सीताले यहाँ बास बसेका थिए । जंगलमा बास बस्दा राम सीताले प्रयोग गरेका जाँतो आकारका ढुङ्गा रहेकाले स्थानीयले वन क्षेत्रको नाम नै झाँतेचुली राखेका छन् । छुरे क्षेत्रबाट झापाको समथर भूभाग तथा भारतका सहरहरू अवलोकन गर्न सकिन्छ । छुरा जस्तो अग्ला डाँडा मिलेर बनेकाले माई नगरपालिका–५ मा रहेको यस क्षेत्रलाई छुरे पर्यटकीय क्षेत्र नामाकरण गरिएको हो ।
पछिल्लो समय सडक पहुँच विस्तार भएपछि यहाँ पर्यटकको आगमन बढ्न थालेको छ । धोन्द्रे गुफा प्राकृतिक संरचनाको अद्भुत उदाहरण हो । चट्टानी पहाडभित्र रहेको यो गुफाले साहसिक पर्यटनको सम्भावना बोकेको छ । यहाँबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देख्न सकिन्छ । चट्टानी पहाड भित्र ३ मिटर लामो गुफा रहेको क्षेत्रबाट सूर्याेदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ ।
आन्तरिक पर्यटकले भ्रमण गर्न थालेपछि गुफा क्षेत्रमा पर्यटन पूर्वाधारको विकास भएको छ । महादेवलाई पुजा गर्ने जसमनि सम्प्रदायको बसोबास रहेको धोन्द्र गुफा नजिकै उनीहरुले आफ्नो धार्मिक आस्थाको केन्द्र शिव चरण कमल बिन्दु धाम निर्माण गरि पुजा अर्चना गर्दै आएका छन् । यो धाम वि.स १९९८ मा धर्मगुरु सितानन्द चाम्लिङ्ग राईले गरेका थिए । कबिर धर्मावलम्बिहरुको बसोबास रहेको वडा नम्बर ५ मा प्रत्येक महिनाको पूर्णिमाको दिन ब्रत बसि सत्सङ गर्ने अर्को धार्मिक क्षेत्र छ ।
माई नगरपालिका–६ मा रहेको कोइलादेन पर्यटकका लागि नयाँ आकर्षण बन्दै गएको छ। यहाँबाट चुरे क्षेत्र, तराईका फाँट तथा आसपासका स्थानीय तहको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । भ्यु टावर निर्माणको काम अघि बढेसँगै कोइलादेनको पर्यटन सम्भावना अझ बढेको छ । कोशी प्रदेश सरकारको लगानीमा निर्माण गरिएको गिट्टिडाँडामा अहिले पर्यटकहरुको उपस्थिती हुन थालेको छ ।
स्थानीयको प्रयासमा सौन्दर्यकरण भएपछि पर्यटकहरुको संख्या बढ्दै गएको गिट्टिडाँडा विकास समितिका अध्यक्ष सुक बहादुर राई बताउँछन् । त्यसैगरी साततले क्षेत्र पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो । सात पत्रे ढुङ्गाले बनेको पहाडका कारण यस क्षेत्रको नाम साततले रहन गएको स्थानीय विश्वास छ । यहाँ पर्यावरणीय पर्यटनको प्रशस्त सम्भावना रहेको छ ।
माई नगरपालिकाभित्र रहेका शिवपोखरी, १३ कुने सीमसार तथा हाङ्साङ थेवाथुम्बा वरक माङहिम क्षेत्र जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिन्छन् । शिवपोखरी चुरे क्षेत्रको काखमा अवस्थित धार्मिक तथा प्राकृतिक स्थल हो । यहाँको शान्त वातावरण, चराचुरुङ्गीको चिरबिर आवाज तथा प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गर्ने गर्छ । १३ कुने सीमसार क्षेत्रलाई पूर्वी नेपालको महत्वपूर्ण पर्यावरणीय सम्पदाका रूपमा हेरिएको छ। यसको संरक्षण तथा पर्यटन विकासका लागि विभिन्न योजनाहरू अघि बढिरहेका छन् ।
१३ वटा कुनामा फैलिएको क्षेत्रमा हरेक बर्ष महोत्सवसंग खेलकुदका कार्यक्रमहरु समेत आयोजना गरिदै आएको माई नगरपालिकाको कार्यपालिका सदस्य करसिं राई बताउँछन् । माई नगरपालिका विविध जातजाति, भाषा, धर्म र संस्कृतिको संगमस्थल हो । ब्राह्मण, क्षेत्री, लिम्बू, राई, मगर, तामाङ, शेर्पा, सुनुवार, मुण्डा लगायतका समुदाय यहाँ बसोबास गर्छन्। प्रत्येक समुदायले आफ्नो मौलिक संस्कृति जोगाइरहेको छ ।
लिम्बू समुदायको धाननाच, च्याब्रुङ नृत्य, राई समुदायको साकेला, मगर समुदायको हुर्रा नाच, ब्राह्मण तथा क्षेत्री समुदायको संगिनी तथा बालन, सुनुवार समुदायको स्यादर चण्डी लगायतका सांस्कृतिक प्रस्तुतिहरू यहाँका अमूल्य सम्पदा हुन् । विशेष गरी इलाममा मुण्डा समुदायको बसोबास मुख्य रूपमा माई नगरपालिकामै रहेको पाइन्छ । यसले नगरको सांस्कृतिक विविधतालाई अझ समृद्ध बनाएको छ ।
माई नगरपालिका कृषिमा आधारित अर्थतन्त्र भएको क्षेत्र हो । यहाँ धान, मकै, गहुँ, तरकारी, केरा तथा चिया प्रमुख बालीका रूपमा उत्पादन गरिन्छ । कालिखोलाको केरा देशभर प्रसिद्ध छ। यसको उत्पादन वृद्धि तथा बजारीकरणमा नगरपालिकाले विशेष ध्यान दिएको छ । त्यसैगरी पशुपालन, बाख्रापालन, राँगापालन तथा कफी खेतीलाई पनि प्रोत्साहन गरिएको छ । आधुनिक प्रविधिको प्रयोग तथा किसानलाई प्राविधिक सहयोग उपलब्ध गराएर कृषि क्षेत्रलाई व्यावसायिक बनाउने प्रयास भइरहेको छ ।
माई नगरपालिकामा स्थानीय सरकार गठनपछि शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ। प्राविधिक शिक्षा विस्तार तथा गुणस्तरीय शिक्षामा जोड दिइएको छ । स्वास्थ्य क्षेत्रमा पनि सुधारका प्रयास जारी छन् । बर्थिङ सेन्टर सुदृढीकरण, स्वास्थ्य चौकीको स्तरोन्नति तथा नगर अस्पताल निर्माणका योजना अघि बढाइएका छन् । नगर अस्पतालमा एमबिबिएस डाक्टरको सेवा उपलब्ध भएपछि सामान्य उपचारको लागि झापासम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय पत्रकार विमल दाहाल बताउँछन् ।

पछिल्ला वर्षहरूमा माई नगरपालिकाले सडक, खानेपानी, विद्युत तथा सञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । ग्रामीण सडकको ट्रयाक खोल्ने, स्तरोन्नति गर्ने तथा कालोपत्रे गर्ने कार्यले यातायात सहज बनेको छ । विद्युत विस्तार कार्यक्रमले अधिकांश बस्ती उज्यालो बनेका छन् । खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न डिप बोरिङ प्रविधि तथा मुहान संरक्षण कार्यक्रम सञ्चालन गरिएका छन् ।
माई नगरपालिका प्राकृतिक स्रोत, ऐतिहासिक महत्व, सांस्कृतिक विविधता, कृषि सम्भावना र पर्यटन अवसरले सम्पन्न स्थानीय तह हो । यहाँका चिया बगान, सहिदभूमि सुखानी, धार्मिक स्थल, चुरे क्षेत्रका पर्यटकीय गन्तव्य तथा माइखोलाले नगरलाई विशिष्ट पहिचान दिएका छन् ।
स्थानीय सरकार, नागरिक समाज, निजी क्षेत्र तथा समुदायको सहकार्यले विकासका नयाँ आयामहरू खुलिरहेका छन्। पूर्वाधार विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, शिक्षा तथा स्वास्थ्य सुधारका प्रयासले नगरको भविष्य थप उज्यालो बनाएको छ ।
प्रकृति, इतिहास, संस्कृति र विकासको अद्भुत संगमका रूपमा रहेको माई नगरपालिका आज समृद्ध नेपालको परिकल्पनालाई स्थानीय तहबाट साकार पार्ने यात्रामा अघि बढिरहेको छ। चुरेको हरियाली, माइखोलाको ऊर्जा, चियाको सुगन्ध र सहिदहरूको प्रेरणाले भरिएको माई नगरपालिका वास्तवमै पूर्वी नेपालको गर्विलो गन्तव्य हो ।
यहाँको सम्भावना जति विशाल छ, भविष्य पनि त्यत्तिकै उज्ज्वल देखिन्छ। यही सम्भावनालाई आधार बनाएर माई नगरपालिका समृद्धि, आत्मनिर्भरता र विकासको नयाँ अध्याय लेख्दै अगाडि बढिरहेको छ ।