इलाम । सीमित तयारी, कमजोर व्यवस्थापन र न्यून स्रोत–साधनका बीच इलाम जिल्लाका खेलाडीहरूले १६ औँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २ स्वर्ण सहित ९ पदक जितेको छ ।
उसु, कराते र एथ्लेटिक्स विधामा प्रतिस्पर्धा गरेका खेलाडीहरूले २ स्वर्ण, २ रजत र ५ कांस्य पदक जित्न सफल भएका हुन्। इलामबाट उसुतर्फ दिप्सन राई र एथ्लेटिक्समा बिवसा लामगादेले स्वर्ण जित्दै १६ औ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा छनौट भएका छन् ।
उसुतर्फ दिमन राईले रजत पदक जिते । एथ्लेटिक्समा लामगादेले ४०० मिटर दौडमा स्वर्णसंगै ८०० मिटर दौडमा कांस्य पदकसमेत जितिन् । त्यस्तै दिप्सन गुरुङले ८०० मिटर दौडमा कांस्य पदक हात पारे। करातेतर्फ अश्विन नेम्बाङले रजत पदक जित्दा जिसिता मगर, प्रश्ना कटेल र पूर्णिमा मुखियाले कांस्य पदक जित्दै इलामको पदक संख्या बढाएका थिए।
प्रतियोगितामा सहभागी खेलाडी र प्रशिक्षकहरूले अपर्याप्त तयारी, हतारमा गरिएको टोली छनोट तथा व्यवस्थापन पक्षको कमजोरीका बीच प्रतिस्पर्धा गर्नुपरेको बताएका छन्। यस्तै परिस्थितिमा पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्नु जिल्लाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
कराते प्रशिक्षक सुशान्त चापागाईंले खेलाडीहरूको संघर्ष र समर्पणको प्रशंसा गर्दै राज्यको खेल व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार न्यूनतम सुविधा र पर्याप्त तयारीको अवसर नपाउँदा पनि खेलाडीहरूले व्यक्तिगत मेहनत र आत्मविश्वासका आधारमा सफलता हासिल गरेका हुन्।
“उखरमाउलो गर्मी, शून्य तयारी र भद्रगोल व्यवस्थापनका बीच खेलाडीहरूले जिल्लाको प्रतिष्ठाका लागि मैदानमा गरेको संघर्ष पदकभन्दा पनि ठूलो उपलब्धि हो,” उनले भने, “उनीहरूले आफ्नो बल, बुद्धि र आत्मविश्वासका भरमा इलामलाई गौरवान्वित बनाएका छन्।”