इलाम । कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सुनसरी जिल्ला २१ स्वर्ण पदकसहित च्याम्पियन बनेको छ। आइतबारदेखि इटहरीमा सुरु भएको प्रतियोगिताको अन्तिम दिन सोमबार सुनसरीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेकाे हाे । प्रतियोगितामा झापाले १८ स्वर्ण पदक जित्दै दोस्रो स्थान हासिल गर्दा मोरङ १६ स्वर्ण पदकसहित तेस्रो स्थानमा रह्यो।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सम्पन्न प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाबाट छनोट भएर आएका करिब १ हजार ७ सय खेलाडी सहभागी भएका थिए। बोर्डका सदस्य–सचिव विप्लव घोषका अनुसार प्रतियोगिताले प्रदेशस्तरका प्रतिभाशाली खेलाडी पहिचान तथा राष्ट्रिय प्रतियोगिताका लागि छनोट गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु गरी ६ विधाका खेल समावेश गरिएका थिए। प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शनका आधारमा छनोट भएका खेलाडी तथा अफिसियललाई सोमबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय प्रतियोगिताका लागि बिदाइ गरेका छन्।

बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका खेलाडीले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गरे। उनले खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
यसैबीच, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशबाट ९८–९८ खेलाडी गरी कुल ६ सय ८६ खेलाडीको सहभागिता रहनेछ।

राष्ट्रिय प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन्। ती खेलमा कुल ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। एथलेटिक्समा २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ भने भलिबल र कबड्डीमा समान २–२ स्वर्ण पदकका लागि खेल हुनेछ। कराँते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने राखेपले जनाएको छ।
राष्ट्रिय प्रतियोगिताका खेलहरू काठमाडौंका विभिन्न खेलस्थलमा सञ्चालन हुनेछन्। एथलेटिक्स दशरथ रंगशाला, भलिबल राखेप कभर्डहल, कबड्डी राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र लैनचौर, कराँते कीर्तिपुर कभर्डहल, तेक्वान्दो नेपाल तेक्वान्दो एकेडेमी सातदोबाटो तथा उसु त्रिपुरेश्वरस्थित सेमी कभर्डहलमा आयोजना गरिनेछ।