Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म : अन्तु पर्यटन विकासका कथा

भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म : अन्तु पर्यटन विकासका कथा

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख २२ २०८३


भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म : अन्तु पर्यटन विकासका कथा

इलाम । इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी चरन क्षेत्र थियो। विसं २०४० सम्म यहाँ चार गाउँका मान्छेले भैँसी चराउँथे। एकापट्टि पानीको आल थियो—अरू ठाउँमा पानी सुके पनि यहाँ कहिल्यै सुक्दैनथ्यो। वरिपरि न घर थिए, न जङ्गल। तर, दिउँसै रात परेजस्तो सुनसान हुन्थ्यो। त्यही अन्तु पोखरी आसपास, जहाँ एक समय दिउँसै अँध्यारो झैँ लाग्थ्यो, अहिले भने मध्यरातसम्म उज्यालो र चहलपहलले भरिएको छ।

“हामी केटाकेटी हुँदा २०–२२ भैँसी चराएको। अन्तु डाँडा, बुधेडाँडा, उनीउटार, तकपत, छिरुवातिरका भैँसी चराउन र पानी खुवाउन यहाँ ल्याइन्थ्यो,” स्थानीय खगराज घिमिरे भन्छन्, “दुई बजेपछि अन्धकार हुने। मान्छे हिँड्नै डराउँथे। भैँसी चराउनेहरू ढाप पोखरी ९अन्तु पोखरीको पुरानो नाम० मा पानी खुवाएर बेलैमा भैँसीलाई गोठ फर्काउँथे।”

त्यो बेला काशीनाथ घिमिरे (खगराजका बुवा), तारानिधि घिमिरे, तीलविक्रम नेम्वाङ लगायतका सीमित घर थिए—त्यो पनि पोखरीभन्दा निकै पर। सडक थिएन, गोरेटो बाटो मात्र थियो। तर आज त्यही ठाउँ विश्वमै चिनिएको पर्यटकीय गन्तव्य बनेको छ। पर्यटक डुङ्गा सयर र फिसिङका लागि दिनहुँ ८०० देखि २००० सम्म आउँछन्। साँझदेखि ‘स्पिकर’ बज्छ, मध्यरातसम्म संगीतमा रमाइरहेका हुन्छन्। खानपिन, नाचगान, क्याम्पफायर—यी सबै अन्तुको नयाँ पहिचान बनेका छन्।

चरन क्षेत्रबाट पर्यटकीय गन्तव्यसम्मको यात्रा २०४० सालबाट सुरु भयो। त्यतिबेला कृष्णप्रसाद भट्टराई जिल्ला पञ्चायत सभापति थिए। जिल्ला पञ्चायतले २० हजार रुपैयाँ दिएपछि पोखरी संरक्षण अभियान सुरु भयो। स्थानीय पनि त्यसमा जोडिए। “पोखरीको पूर्व र पश्चिमतर्फ पर्खाल लगाइयो, पानी जमाइयो, सरसफाइ गरियो,” खगराज भन्छन्, “विसं २०५९ मङ्सिर २७ गते अन्तु पर्यटन विकास केन्द्र संस्था दर्ता भयो। त्यसपछि २०६२/६३ तिर नेपाल सरकारले ५५ हजार र पछि १ लाख ७० हजार बजेट दियो। त्यसले थप संरक्षणको काम अघि बढ्यो।”

पचासको दशकयता स्थानीयले यो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन कस्सिएर काम गरे। पोखरी बनेपछि सुरुमा भारतको मिरिकबाट भाडामा डुङ्गा ल्याइयो। पछि कोलकाता गएर आफ्नै डुङ्गा किनेर सञ्चालन गरियो। विसं २०६२र६३ तिर तत्कालीन सभामुख सुवासचन्द्र नेम्बाङले परेवा उडाएर डुङ्गा सञ्चालनको औपचारिक सुरुवात गरेका थिए। त्यतिबेला समिति मार्फत सञ्चालन भएको सेवा अहिले नगरपालिकाले व्यवस्थापन गरिरहेको छ।

संघीयता आएपछि सूर्योदय नगरपालिका को ध्यान अन्तुतर्फ केन्द्रित भयो। नगरपालिकाले अन्तु पोखरी र अन्तु डाँडा को पूर्वाधार विकास, संरक्षण र सौन्दर्यीकरणमा करिब पाँच करोड रुपैयाँ खर्च गरिसकेको छ। “पहिले पोखरी वरिपरि हिँड्नै नसकिने अवस्था थियो—हिलैहिलो। पर्यटक आउँथे तर पोखरी पस्न मन गर्दैनथे,” पूर्वप्रमुख रणबहादुर राई भन्छन्, “हामी आएपछि ट्र्याक बनायौं, बत्ती जडान गर्यौं। अहिले एकीकृत बस्तीको रूपमा विकास भइरहेको छ। पहिले खरका कटेज थिए, अहिले ठूला होटल बनेका छन्।”

२०७४ सालसम्म अन्तु डाँडासम्म पुग्ने सहज बाटो पनि थिएन। छिपिटारदेखि अन्तु जाने सडक अधुरो थियो। तर स्थानीय सरकारले पहल गरेर सडक माथिसम्म पुर्‍यायो। भ्यू टावर व्यवस्थित गरियो। अहिले पर्यटक सजिलै डाँडासम्म पुग्छन् र झुल्केघामको दृश्य अवलोकन गर्छन्। पहिले टिकटबाट वार्षिक एक लाख रुपैयाँ मात्र आम्दानी हुन्थ्यो, तर अहिले नगरपालिकाले आफ्नै व्यवस्थापनमा वार्षिक ५६ लाखसम्म राजस्व उठाइरहेको छ।

अन्तुमा अहिले होटल, कटेज र होमस्टे गरी करिब ११० वटा सञ्चालनमा छन्। सामुदायिक होमस्टे ५० वटा छन्। करिब ३१० जना प्रत्यक्ष रोजगारीमा छन्। पर्यटन व्यवसायीहरूका अनुसार अहिले पर्यटक अन्तुमा घण्टौँ बिताउन थालेका छन्। बोटिङ, फिसिङ, घोडचढी, क्याम्पफायर र सांगीतिक कार्यक्रमले अन्तुको बसाइ लम्ब्याएको छ।

अन्तु पोखरीमा अहिले चार वटा डुङ्गा सञ्चालनमा छन्। एउटा डुङ्गामा चार जना बस्न सक्छन् र एकपटक परिक्रमा गर्दा प्रतिव्यक्ति ५० रुपैयाँ लाग्छ। दिनभर डुङ्गा खाली बस्ने अवस्था छैन। पर्यटकको सामान्य कार्यतालिका यस्तो हुन्छ— अघिल्लो दिन अन्तु पुग्ने, पोखरी घुम्ने, राति नाचगान र रमाइलो गर्ने, अनि बिहानै उठेर अन्तु डाँडामा झुल्केघाम हेर्ने।

मेची राजमार्गको कन्यामस्थित छिपिटारबाट करिब ११ किलोमिटरको दूरीमा अन्तु पोखरी पुगिन्छ। अहिले सडक कालोपत्रे छ, जिप, कार, भ्यान र मोटरसाइकल सजिलै पुग्छन्। अन्तुबाट देखिने सूर्योदय निकै आकर्षक मानिन्छ। भदौ अन्तिमदेखि सुरु हुने यो सिजन पुस–माघ हुँदै वैशाखसम्म चल्छ।

यहाँबाट हिमशृंखला, हरिया चियाबारी, धुपी–सल्लाका वन, अलैंचीका बोट र मौसमी बाली देखिन्छन्। झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक र सिलिगुडी क्षेत्र यहाँबाट नजिकै जस्तो देखिन्छ। तराईका गर्मी क्षेत्रबाट आउनेका लागि अन्तु प्राकृतिक ‘एयर कन्डिसन’ जस्तै हो। भारतको पश्चिम बङ्गालबाट सयौँ पर्यटक वर्षेनी अन्तु आउँछन्। केही दिन बस्छन् र फर्किन्छन्।

नेपालका विभिन्न जिल्लाबाट पनि ठूलो संख्यामा पर्यटक आउने गरेका छन्। स्कुलका विद्यार्थीहरू अध्ययन भ्रमणमा समेत यहाँ आउँछन्। हाल संघीय सरकारअन्तर्गतका आयोजनाहरूले अन्तुमा थप पूर्वाधार विकास गरिरहेका छन्—ब्युटिफिकेशन, सडक ढलान, फुट ट्रेल, घेराबार र रोड विस्तार।

सूर्योदय नगरपालिकाले पर्यटनलाई नै आर्थिक समृद्धिको आधार मानेको छ। “अन्तु र कन्याम मात्र होइन, हरेक गाउँलाई पर्यटकीय रूपमा विकास गर्ने योजना छ,” कार्यवाहक नगरप्रमुख दुर्गा कुमार बराल भन्छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार