इलाम । गत चैत १७ गते, मंगलबार साँझ करिब ७ बजिसकेको थियो। आकाशबाट सिमसिम पानी झरिरहेको थियो, र मेची राजमार्गको लसुने खण्डमा केही दिनअघि खसेको सुख्खा पहिरोले पूर्वी पहाडकै ‘लाइफलाइन’ मानिने सडकलाई अझै असहज बनाइरहेको थियो।
केही समयअघि पूर्ण रूपमा अवरुद्ध बनेको उक्त सडकमा आवागमन अझै सहज भइसकेको थिएन। त्यसैबीच, झमक्क अँध्यारोले ढाकिसकेको त्यो जोखिमपूर्ण क्षेत्रमा, सर्वसाधारण सुरक्षित यात्राको उपाय खोजिरहेका थिए। तर त्यहीँ, जोखिमलाई बेवास्ता गर्दै एक व्यक्ति भने मेशिन र प्राविधिक टोलीलाई निर्देशन दिँदै थलिएको सडक पुनः सञ्चालनमा ल्याउन तल्लीन थिए। ती व्यक्ति थिए—सडक डिभिजन कार्यालय इलामका प्रमुख इन्जिनियर पवन भट्टराई।
चैत महिना, जब धेरैका लागि खेतीपाती र घरभित्रको न्यानो प्राथमिकता हुन्छ, भट्टराईका लागि भने मेची राजमार्गका जोखिमपूर्ण घुम्तीहरू, पहिरोका थुप्रा र मेची करिडोरका खोलाहरूमा निर्माणाधीन बेलिब्रिज नै चिन्ताको विषय बनेका छन्।
२०८१ असोज ३ गते जिम्मेवारी सम्हालेयता भट्टराईको दैनिकी एसीयुक्त कार्यकक्षमा भन्दा बढी सडकका मोड, पहिरो र खोलाका किनारमै बितिरहेको छ। उनका लागि यो जिम्मेवारी केवल सरकारी जागिर होइन, संकटमा परेका पहाडवासीको भरोसा बन्ने मानवीय प्रतिबद्धता हो।
उनको कार्यकाल सुरु हुन नपाउँदै प्रकृतिले इलाम र पाँचथरलाई कठोर परीक्षा लियो। २०८१ असोज १२ गते, पाँचथरको हेवाखोलामा रहेको बेलिब्रिज बाढीले बगायो। त्यस्तै, इलामको माईखोला खण्डमा पहिरोले हप्तौँसम्म सडक अवरुद्ध बनायो। त्यसले इलामसहित पाँचथर र ताप्लेजुङको जनजीवन अस्तव्यस्त बनायो। त्यही समयदेखि भट्टराईले विश्राम पाएका छैनन्।
बाढीले बगाएको बेलिब्रिज पुनर्निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा २०८२ जेठ ३१ गते हेवाखोलामा जडानकै क्रममा बेलिब्रिज नै भाँचिन पुग्यो। यस्तो प्राविधिक र प्राकृतिक चुनौतीले जोकोहीलाई निराश बनाउन सक्थ्यो, तर भट्टराई पछि हटेनन्। वैकल्पिक सडक र डाइभर्सन निर्माणमा उनी आफैं टोलीसहित २४ सै घण्टा खटिए। तर चुनौती यतिमै सीमित रहेन।
२०८२ असोज १८ र १९ गतेको भीषण बाढीले इलामका पुवाखोला र माईखोलामा राखिएका बेलिब्रिज बगायो। साथै, मेची करिडोरअन्तर्गत बेलासेमा रहेको पक्की पुलसमेत भाँचियो। ठाउँठाउँमा सडक क्षतिग्रस्त भई मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध बन्यो।
बिपद् यति गम्भीर बन्यो कि सरकारले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गर्नुपर्यो। जिल्लाका अधिकांश सडक सञ्जाल एकैपटक अवरुद्ध हुँदा इलाम सदरमुकाम र गाउँबस्तीबीचको सम्पर्क मात्र होइन, एक जिल्लाबाट अर्को जिल्लासम्मको यातायात नै ठप्प बन्यो। “सडक बन्द हुनु भनेको केवल गाडी रोकिनु होइन,” भट्टराई भन्छन्, “यो बिरामीको उपचार रोकिनु हो, विद्यार्थीको भविष्य रोकिनु हो, भान्साको नुन–तेल रोकिनु हो। जब पहिलो गाडी गुड्छ, तब मात्र लाग्छ—जीवन फेरि लयमा फर्कियो।”
परम्परागत ‘हाकिम’ को छविभन्दा फरक, भट्टराई ‘प्रमुख’ भन्दा बढी ‘सहकर्मी’ जस्ता देखिन्छन्। बिहानको झिसमिसेदेखि मध्यरातसम्म उनी फिल्डमै भेटिन्छन्। केही दिनयता उनी बेलासे र पुवाखोलामा बेलिब्रिज जडानको काममा प्रत्यक्ष संलग्न छन्—ताकि आगामी बर्खामा इलाम सदरमुकाम ‘टापु’ मा परिणत नहोस्।
उनको नेतृत्वमा काम गर्ने टोलीले ‘हाकिम’ होइन, ‘साथी’ पाएको अनुभूति गर्छ। निर्देशन मात्र दिने होइन, आफैं अग्रपंक्तिमा उभिएर काम गर्ने शैलीले भट्टराईलाई फरक बनाएको छ। यसैले, इलामका पहिरो र बाढीले बारम्बार परीक्षा लिइरहँदा पनि, पवन भट्टराईजस्ता कर्मशील नेतृत्वका कारण जनजीवन पुनः लयमा फर्किने आशा जीवित छ।
उनको कथा कुर्सीमा बसेर आदेश दिने हाकिमको होइन—हिलो, पहिरो र जोखिमबीच उभिएर सेवा गर्ने एक जिम्मेवार अभियन्ताको कथा हो। नयाँ बुलन्दबाट