Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

‘सत्ता, मौनता र सामाजिक बहिष्कारको डर’ : दुर्व्यवहारमा परेका महिला खेलाडीको न्यायमा बाधक

‘सत्ता, मौनता र सामाजिक बहिष्कारको डर’ : दुर्व्यवहारमा परेका महिला खेलाडीको न्यायमा बाधक

  • नमीन ढकाल
  • सोमबार, असोज ६ २०८२


‘सत्ता, मौनता र सामाजिक बहिष्कारको डर’ : दुर्व्यवहारमा परेका महिला खेलाडीको न्यायमा बाधक

इलाम : नेपाली खेलकुद क्षेत्र अझैसम्म पुरुष केन्द्रित रुपमा नै रहेको छ। खेलमैदानमा महिला एथ्लेटहरू अझै पनि आफ्नो पहिचान, अस्तित्व सुरक्षित राख्न संघर्ष गर्नुपरेको देख्न सकिन्छ। विशेषगरी खेलकुद महासंघ, संघ–संस्था र टोलीका प्रशिक्षक वा अफिसियलहरूको शक्ति दुरुपयोग महिला खेलाडीहरूको करिअर र आत्मसम्मानका लागि ठूलो चुनौती बनेको छ।

एकातर्फ समाजको डरले दुर्व्यवहारका घटनाहरू महिला खेलाडीहरू बाहिर ल्याउन चाहँदैनन्। अर्को तर्फ घटनाको बारेका छानबिन प्रक्रिया नै पूर्णत पाउन सक्दैन। ४ वर्ष अघि नेपालको महिला उमेर समुहकी खेलाडी माथि यौन दुर्व्यवहारको विषयमा परेको उजुरीको सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयले छानबिन समिति बनायो। तर घटना हो वा हैन भन्ने बारेमा सार्वजनिक हुन सकेन।

मन्त्रालयका तत्कालीन युवा उद्यमशील विकास तथा लगानी प्रबर्द्धन उपसचिव लक्ष्मीदत्त कलौनीको संयोजत्वमा राखेपका कानुन विभागका सदस्य सहितको छानबिन समिति बनाइएको थियो। खेलकुद मन्त्रालयका प्रवक्ता विदुर प्रसाद खनालले कलौनीको संयोजकत्वमा समिति बनाएको बताइरहँदा कलौनीले घटना नभएको र छानबिन समिति नै नबनेको बताइरहे। नेपालको कानुन अनुसार १८ वर्षमुनिका बालबालिका/किशोर–किशोरीसँग यौन सम्पर्क गर्नु वा यौन दुर्व्यवहार गर्नु गम्भीर अपराध मानिन्छ।

बालबालिका ऐन, २०७५ को धारा ६६ र ६७ अनुसार १८ वर्ष नपुगेका व्यक्तिमाथि हुने कुनै पनि प्रकारको यौन दुर्व्यवहार वा सम्पर्कलाई बाल यौन दुर्व्यवहार वा बलात्कार मानिन्छ। त्यसलाई बालबालिकाको सहमति भए पनि कानुनले मान्यता दिँदैन। फौजदारी संहिता, २०७४ को धारा २१९ अनुसार, १८ वर्षमुनिको व्यक्तिसँग यौन सम्पर्क गर्नेलाई बलात्कार को अभियोगमा कारबाही हुन्छ। त्यस्तो अपराधको गम्भीरता र पीडितको उमेरअनुसार १० वर्षदेखि जन्मकैदसम्म सजाय तोकिएको छ। तर १७ वर्ष उमेर नपुगेकी बालिका माथि भएको दुर्व्यवहारको घटनाले निकास पाएन।

अझ नेपाली फुटबलको अभिभावक निकाय अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य घटना लुकाउन नै लागि परे। उनको भनाई अनुसार बालिकाको गर्भ उनको प्रेमिको रहेको थियो। र उनीहरू विवाह गर्ने तरखरमा रहेका थिए। घटनामा एन्फासँग जोडिएका प्रशिक्षकको संलग्नताको आशंका भएपनि छानबिन प्रतिवेदन सार्वजनिक नभएकाले पिडक हुन वा हैन भन्ने वास्तविकता बाहिर आउन सकेन।

अहिले ती खेलाडीलाई भारतमा लगेर विवाह गरिएको छ। नेपालको मुलुकी अपराध संहिता, २०७४ को धारा १७३ अनुसार पुरुष वा महिला दुवैको न्यूनतम विवाहयोग्य उमेर २० वर्ष तोकिएको छ। यसभन्दा कम उमेरमा गरिएको विवाह कानुनी रूपमा अवैध (अमान्य) मानिन्छ। त्यस्तो विवाह गराउने, गराउनेलाई सहयोग गर्ने वा गर्ने व्यक्तिलाई कानुनी कारबाही हुन्छ। तर गुपचुपमा विवाह गरिएको कारण कानुनको कठघरामा कोही पनि उभिएनन्।

पीडित भनिएकी खेलाडीसँग फुटबल खेलेका साथीहरूका अनुसार अहिले बच्चाको आमा समेत बनिसकेकी छन्। छानबिन समितिले बयानका लागि खेलाडीलाई बोलाउँदा डरका कारण उनले घटना लुकाउन खोजिन्। पीडित खेलाडी समाजबाट अपहेलित हुनुपर्ने डरका कारण वास्तविकता बाहिर आउन सकेन्। र छानबिन प्रतिवेदन मन्त्रालयको दराज मै थन्किरहेको छ।

खेल क्षेत्रमा विशेष गरी महिला खेलाडीहरूमाथि यौन उत्पीडन  दुर्व्यवहारको यथेष्ट तथ्याङ्क छैन। नेपालमा धेरै अध्ययन विद्यालय/विश्वविद्यालय र सार्वजनिक यातायातको सन्दर्भमा छन्, तर ‘खेल क्षेत्र’ वा ‘खेल प्रशिक्षण केन्द्रहरू’ मा गरिएको व्यापक अध्ययन कमै छन्।

नेपालको सन्दर्भमा, पितृसत्तात्मक समाज भएकाले अझै पनि महिलामाथि वर्चस्व कायम छ। विगतको तुलनामा महिलाहरू सशक्त हुँदै गएका छन् र विभिन्न क्षेत्रमा सहभागी भइरहेका छन्। खेल क्षेत्रमा समेत महिलाको सहभागिता बढ्दो छ। तर यस वृद्धिसँगै पनि महिलामाथि हुने हिंसाजस्ता गलत अभ्यासहरू अझै विभिन्न तरिकाले भइरहेका छन् जसले महिलालाई शारीरिक, मानसिक र मनोवैज्ञानिक रूपमा प्रभावित गरिरहेका छन्।

खेल क्षेत्रको कुरा गर्दा, महिला खेलाडीहरू पनि विभिन्न किसिमका हिंसाबाट पीडित भएका छन्। अनावश्यक रूपमा छोइने, अंगालोमा बेर्न खोज्ने, टिमबाट अलग्याइने, यौन सम्पर्क प्रस्ताव, जस्ता घटनाबाट महिलाहरू पीडित भएका छन्। महिलाहरू यस्ता हिंसालाई आफ्नो भित्रै थुनिरहेका छन्, किनभने उनीहरू लाज, डर, टिमबाट हटाइने भय, सामाजिक मूल्य–मान्यताको कारणले मुख खोल्न सक्दैनन्।

नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषदमा समेत खेलाडीहरूले उजुरी नगर्ने गरेको पाइन्छ। सदस्य सचिव टंकलाल घिसिङ खेलाडीहरू माथि भएको दुर्व्यवहारको उजुरी नआउने गरेको बताउँछन्। उनले सदस्यसचिव सम्हालेपछि उजुरी नआएको बताए।

नेपाली खेलकुदमा यौन दुर्व्यवहार सम्बन्धी त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तरमा चम्पा गुरुङले गरेको शोधपत्रले समेत महिला खेलाडीहरू दुर्व्यवहारको सिकार हुने गरेको देखाएको छ। फुटबल, भलिबल क्रिकेट र करातेका ४० जना अन्तरराष्ट्रिय खेलाडीहरू समेटिएको शोधपत्रमा २० प्रतिशत हिंसा प्रशिक्षण र अन्तर्राष्ट्रिय खेल प्रतियोगिता भएको देखिन्छ।

प्रशिक्षण र अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको क्रममा महिला खेलाडीहरू प्रशिक्षण स्थल, होटल, यात्रा आदिमा हिंसाबाट पीडित हुने गरेका छन्। महिला हिंसाका अपराधीमध्ये ७.५ प्रतिशत प्रशिक्षक र १२.५ प्रतिशत अन्य शक्ति र अधिकार भएका व्यक्तिहरू, प्रबन्धक र खेलाडीहरू नै थिए। शोधपत्रमा महिला खेलमा महिला प्रशिक्षक र अफिसियल हुनु पर्ने सुझाव दिएका दिइएको छ।

धेरै महिला हिंसाका घटना सार्वजनिक नगरिएको पाइएको छ। त्यसको कारणमध्ये ४२.५ प्रतिशत समाजको डर, १० प्रतिशत टोलीमा नपर्ने डर, १७.५ प्रतिशत दोषीलाई सजाय नहुने कारण र ३० प्रतिशत अन्य कारण देखाइएको छ। खेलाडी र प्रशिक्षक/अधिकारीबीचको नजिकको सम्बन्ध, खेलाडीहरूको सचेतताको अभाव, र सम्बन्धित खेल संघहरूको कमजोरीका कारण यस्ता घटनाहरू नेपाली खेलकुदमा पाइन्छ।

नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष ज्योती राणा पछिल्लो समय महिला खेलाडीहरू आफू माथि भएको दुर्व्यवहारको बारेमा खुलेर बहस गर्न थालेको बताउँछिन्। ओलम्पिक कमिटिले केही वर्ष अघि आयोजना गरेको महिला खेलाडीहरूको अवस्थाको बारेको कार्यक्रममा खेलाडी र महिला प्रशिक्षकहरूले आफु माथि हुने गरेको विभेद र हिंसाको बारेमा खुलेर अन्तरक्रिया गरेको राणाले बताइन्। सन् २०१६ मा नेपाली क्रिकेट टिमका एक जना प्रशिक्षक माथि यौन दुर्व्यवहार गरेको भन्दै खेलाडीहरूले राष्ट्रिय खेलकुद परिषदमा उजुरी दिएको घटना नेपालका मिडियाहरूमा सार्वजनिक भएको थियो।

पछि खेलाडीहरूले पत्रकार सम्मेलन गरेर प्रशिक्षक कडा स्वभावका कारण केही मतभेद भए तर त्यस विषयलाई पहिले नै समाधान गरिसकेको प्रतिक्रिया दिएका थिए। एका तर्फ केही खेलाडीहरू मौन रुपमा दुर्व्यवहार सहदैछन् भने अर्को तर्फ नेपालको संविधानले महिलालाई दिएको ३३ प्रतिशत अधिकारको दुरुपयोग समेत हुँदैछ। प्रतिशोध साध्नका लागि समेत आरोप लाग्ने गरेको छ।

सन् २०१५ मा नेपाली क्रिकेट टिममा फिजियो ऐजाज बशिर अहदम असाईलाई यौन दुर्व्यवहारको आरोपमा हटाइएको समाचार द न्यु इन्डियन एक्सप्रेसले प्रकाशन गरेको थियो। बेलफास्ट टेलिग्राफलाई उद्धृत गदै लेखिएको समाचारमा स्कटल्याण्डमा भइरहेका विश्व ट्वान्टी–२० छनोट खेल्न गएका नेपाली टोलीसँग रहेका असाईले महिला मसाजिस्टमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। समाचारमा उल्लेख भए अनुसार असाईले फुल बडी मसाज चाहेको बताएका थिए। मसाजिस्टले भित्री वस्त्र लगाउन भने पनि उनले बिना लगाएको अवस्थामा सेवा लिन आए।

उनले आफूलाई कम्मर पछाडिको भाग र ‘ग्रोइन एरिया’मा समस्या भएको भन्दै मसाजिस्टको हात जबर्जस्ती आफ्नो खुट्टाबीच लैजाने काम गरे। त्यसबेला उनी यौन उत्तेजनामा रहेको उल्लेख छ। असाईले पछि मसाजिस्टसँग माफी माग्दै १० पाउण्ड टिप दिने प्रस्ताव गरेका थिए, जुन उनले अस्वीकार गरिन्। अदालतले असाईलाई २५०० पाउन्ड धरौटीसँगै विभिन्न शर्त राखेर रिहा गरेको थियो।

खुल्ला सोच बोकेका युरोपेली र अमेरिकी मुलुकमा समेत दुर्व्यवहारको घटनाहरू उल्लेख्य रुपमा देख्न सकिन्छ। अमेरिकी जिम्नास्टिक्स टोलीका चिकित्सक लैरी नासारले वर्षौंसम्म सयौँ महिला खेलाडीलाई यौन दुर्व्यवहार गरेको घटना इतिहासकै सबैभन्दा बढि चर्चामा रहेको यौन दुर्व्यवहारको घटनाको रुपमा सार्वजनिक भएको छ।

ओलम्पिक विजेता सिमोन बाइल्स, अलि राइस्मन र म्याकायला मर्रोनीलगायत दर्जनौँ खेलाडी पीडित बनेको अन्तराष्ट्रिय संचारमाध्यममा प्रकाशन भएका छन्। नासारलाई आजीवन कैद सजाय दिइएको छ।

चीनकी टेनिस खेलाडी पेंग शुआईले पूर्व उपप्रधानमन्त्रीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। बिबिसीमा प्रकाशित समाचार अनुसार उनले पछि आरोपलाई नकारिन्। २ नोभेम्बर २०२१ मा उनले वेइबो मा एउटा पोस्ट गर्दै चीनका पूर्व उपप्रधानमन्त्री झाङ गाओलीसँग आफूलाई जबरजस्ती यौन सम्बन्धमा ल्याइएको आरोप लगाइन्।

उनले सुरुवातमा यौन सम्बन्धका लागि आफूले सहमति नजनाएको र “निरन्तर रुँदै गरेको” तर अन्ततः आफूले “सहमति जनाएको” उल्लेख गरेकी थिइन्। तर त्यो पोस्ट एक घण्टाभित्रै हराएको बिबिसीले उल्लेख गरेको छ।

सन् २०१८ मा अफगानिस्तान राष्ट्रिय महिला फुटबल टोलीका सदस्यहरूलाई फुटबल महासंघका अध्यक्ष केरामुद्दिन करिमले यौन तथा शारीरिक दुर्व्यवहार गरेको खुलासा भएको थियो। सन् २०१९ मा फिफाले गरेको छानबिनपछि करिमलाई आजीवन फुटबल गतिविधिबाट प्रतिबन्ध लगाएको थियो। त्यसपछि पक्राउका लागि वारेन्ट जारी गरिएको थियो, तर विशेष फोर्सको प्रयासबाट फरार भएका थिए।

टेनिसकी महान् खेलाडी सेरेना विलियम्सले पटक पटक आफू खेलमै निरन्तर लैगिंक भेदभावपूर्ण व्यवहार र अनलाइन दुर्व्यवहारको सामना गर्नुपरेको बताउँदै आएकी छन्। त्यस्तै, अमेरिकी फुटबल स्टार मेगन रापिनोले महिला खेलाडीमाथि हुने लैङ्गिक विभेद, यौनजन्य अपमान र होमोफोबिक टिप्पणीविरुद्ध खुलेर संघर्ष गरिन्। पुरुष खेलाडीको तुलनामा महिला खेलाडीहरूले दुर्व्यवहार भोग्ने घटनाहरू ज्यादा नै छन्।

फिनल्यान्डमा ९ हजारभन्दा बढी खेलाडीमाथि गरिएको अध्ययनले करिब तीन मध्ये एक जना महिला खेलाडीले खेलसँग सम्बन्धित ठाउँमै यौन उत्पीडनको अनुभव गरेको देखिन्छ। दक्षिण कोरियामा गरिएको अनुसन्धानमा ३७ प्रतिशतभन्दा बढी महिला खेलाडीले यौन उत्पीडन भोगेको बताएका छन्। तीमध्ये करिब ११ प्रतिशतले भने पछिल्लो एक वर्षमै यस्तो घटनाको सामना गर्नुपरेको बताएका छन्।

अनलाइन क्षेत्रमा समेत महिला खेलाडीहरू गम्भीर रूपमा लक्षित भइरहेका छन्। टोकियो ओलम्पिक ९२०२१० का क्रममा भएको अध्ययनअनुसार खेलाडीमाथि आएका कुल अनलाइन दुर्व्यवहारमध्ये ८७ प्रतिशत महिला खेलाडीलाई लक्षित गरिएका थिए।
​विश्व एथलेटिक्स च्याम्पियनसिप ९ओरेगन, २०२२० मा समेत ६० प्रतिशतभन्दा बढी अनलाइन दुर्व्यवहार महिला खेलाडीमाथि केन्द्रित भएको तथ्य बाहिर आएको छ। स्वीडेनमा गरिएको एक अध्ययन अनुसार करिब १६ प्रतिशत महिला शीर्ष खेलाडीले जीवनको कुनै न कुनै चरणमा यौन दुर्व्यवहार भोगेका छन्। अमेरिकामा विश्वविद्यालय स्तरका महिला खेलाडीमध्ये ३६ प्रतिशतले भर्ना भएपछिको समयमा यौन हिंसा वा उत्पीडन सहनुपरेको बताएका छन्।

स्पेन फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबिएल्सले स्पेनको महिला राष्ट्रिय फुटबल टोलीले २०२३ को महिला विश्वकप जितेपछि पुरस्कार समारोहमा जेंनी हर्मोसोको अनुमति विना उनको टाउको समातेर चुम्बन गरेका थिए। हर्मोसोले सहमति बिना भएको भन्दै आपत्ति जनाइन। यसपछि कानुनी मुद्दा उठ्यो, रुबिएल्स दोषी ठहर भए र जरिवाना समेत निर्धारण गरियो। उक्त घटनापछि स्पेनको श्रम मन्त्रालयले स्पेन फुटबल फेडेरेसन र बार्सिलोना क्लब लगायत केही क्लबहरूलाई लैङ्गिक समानता योजना र यौन उत्पीडन कार्यविधि नहुँदा जरिवाना गरेको थियो।

महिला हिंसाका पीडित खेलाडीहरू शारीरिक, मानसिक र सामाजिक रूपमा प्रभावित भएका छन्। यसले उनीहरूको खेल प्रदर्शनलाई असर पु¥याएको छ, जस्तै उर्जा गुम्नु, भोक नलाग्ने, खेलमा रुचि हराउनु, डिप्रेसन, लाज, चिन्ता आदिमा फस्दै गएको अध्ययनले देखाएको छ।

दुर्व्यवहारका घटनाहरू दबाइने मुख्य कारण मध्ये अफिसियल वा प्रशिक्षकसँग खेल जीवन टुङ्ग्याउने वा बनाउन सक्ने अधिकार देखिन्छ। यस्ता घटनाहरू प्रायः बन्द कोठा वा निजी सन्देशमार्फत हुने भएकाले प्रमाण जुटाउन गाह्रो पर्ने देखिन्छ। पीडितले कुरा राख्दा “गल्ती खेलाडीकै” भन्ने धारणा अझै समाजमा बलियो छ। खेल संघहरूले यस्ता गुनासोलाई गम्भीरतापूर्वक नलिने वा दबाउने प्रवृत्ति छ।

खेलाडी माथि हुने हिंसा र दुर्व्यवहारलाई न्यूनीकरण गर्न खेल संघ र ओलम्पिक कमिटीमा स्वतन्त्र लैङ्गिक उत्पीडन अनुसन्धान समिति गठन गर्नुपर्ने विज्ञहरूको तर्क छ। प्रशिक्षण क्याम्प वा प्रतियोगितामा महिला खेलाडीलाई महिला प्रशिक्षक वा अफिसियल अनिवार्य रुपमा राख्ने व्यवस्थाको माग रहेको छ।

मिडिया र नागरिक समाजले यस्ता घटनालाई छोप्ने मात्र होइन, न्यायको प्रक्रियासम्म लैजाने दबाब कायम राख्न जरुरी छ। तर खेल संघका पदाधिकारीले गरेको यौन प्रस्तावको जानकारी मिडियाले नै दबाउने गरेका छन्। महिला खेलाडीहरूले खेल मैदानमा जित्नु भन्दा पहिले आफ्नो शारीरिक, मानसिक र सामाजिक सुरक्षाका लागि लड्नु पर्ने बाध्यता छ।

यौन दुर्व्यवहारविरुद्ध खुलेर बोल्ने महिलाहरूले मार्ग प्रशस्त गरिरहेका छन्, तर प्रणालीगत सुधार र दृढ राजनीतिक इच्छाशक्ति बिना यो मौन पीडा अन्त्य हुने छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार