इलाम : बंगलादेशको उत्तरतर्फको दुर्गम गाउँ हो रंगाटुङी। धानबारी र हरियो खेतबीचको यो गाउँ केही वर्षअघिसम्म राष्ट्रिय स्तरको खेलसँग जोडिनु सपना मात्र थियो। ठाकुरगाउँको सीमावर्ती गाउँ रंगाटुङी—जहाँ न सडक राम्रो, न खेल मैदानको पूर्वाधार।
आर्थिक अवस्थाका कारण यहाँका अधिकांश युवतीहरू घरधन्दा, सानै उमेरमा विवाह वा सस्तो मजदुरी गर्न बाध्य थिए। सन् २०१४ मा एक पूर्व शिक्षक र किसान, मोहम्मद ताजुल इस्लामले सपना देखे, ‘हाम्रो छोरीहरू पनि फुटबल खेल्छन्, राष्ट्रिय झण्डा बोकेर मैदानमा उत्रन्छन्।’ उनले आफ्नो पसिनाको कमाइ खर्चेर एउटा सानो महिला फुटबल एकेडेमी सुरु गरे। नाम राखे, रंगाटुङी युनाइटेड वुमन्स फुटबल एकेडेमी।
२०१४ मा स्थानीय फुटबल प्रतियोगितामा प्रमुख अतिथिका रूपमा पुगेका बेला उनले सन्थाल समुदायका किशोरीहरूलाई खेल मैदानमा पूरै जोशका साथ खेलिरहेको देखे। संरचना थिएन तर जोश थियो। त्यसै क्षण उनले ठाने—‘यी प्रतिभा हराउन दिन हुँदैन।’
आफ्नै ५० बिघा जग्गामा उनले प्रशिक्षण सुरु गराए। न सुविधा थियो, न स्पन्सर। तर केही गाउँलेहरूले सहयोग गरे—जर्सी, बुट, औषधि सबै स्थानीय पसलले उधारोमा दिए। सुरुवाती दिनमा ताजुल आफैँले युट्युब हेरेर ड्रिल सिकाएर तालिम दिन्थे। उनीसँगै जोडिए गोपाल मर्मु सुगा।
सन्थाल समुदायका सुगा प्रारम्भिक प्रशिक्षकमध्ये एक मात्र थिए जसले एएफसी सी र ग्रासरुट्स प्रमाणपत्र प्राप्त गरेका थिए। सन् २०१५ देखि २०१९ सम्म उनले तालिम, रणनीति, अनुशासन र आत्मविश्वासको आधार निर्माण गरे। इस्लामले फुटबल क्लब त स्थापना गरे तर छोरीहरूलाई मैदान उत्रिएर फुटबल खेल्न सहज थिएन। छोटो कट्टु लगाएर मैदान उत्रन परिवारबाट अनुमति थिएन ।
‘केटीले मैदानमा किन दौडनुपर्छ ? किन उनीहरूले छोटो कपडा लगाउनुपर्छ ? यो त हाम्रो संस्कृतिविरुद्ध हो।’ त्यस समयमा खेपेको आरोप इस्लाम सम्झन्छन्। तर इस्लामले हार मान्ने मान्छे थिएनन्। उनी बिहान बिहानै गाउँघर घुम्थे, अभिभावकलाई भेट्थे र सम्झाउँथे, ‘फुटबलले छोरीलाई अनुशासन सिकाउँछ, स्वस्थ राख्छ। पढाइसँगै फुटबल खेल्दा उनीहरूको भविष्य उज्ज्वल हुन्छ।’
सुरूमा थोरै मात्र परिवार राजी भए, तर जब एक दुई छोरीले राम्रो प्रदर्शन गर्न थाले, गाउँकै अन्य परिवार पनि चासो देखाउन थाले। २०१८ पछि रंगाटुङी बंगलादेशकै प्रमुख महिला प्रतिभा उत्पादन केन्द्रका रूपमा स्थापित भयो। अहिलेसम्म सिनियर र उमेर समूहका २३ जना राष्ट्रिय खेलाडी यहाँबाट निस्किएका छन्, जसमा सातजना अझै सक्रिय छन्।

रंगाटुङीका उत्पादन सोहागी, कोहाती र विथिका किस्कु। सोहाती र कोहाती दिदी–बहिनी दुवै सन् २०१९ देखि बंगलादेशको राष्ट्रिय टोलीमा छन्। विथिकाले समेत उमेर समूहबाट खेलिसकेकी छन्। उनीहरूको निरन्तर उपस्थिति रंगाटुङीको प्रणालीगत सफलता देखाउँछ। सोहागी नेपालमा भएको साफ महिला च्याम्पियनसिप २०२४ को च्याम्पियन टोलीको सदस्य समेत रहेकी छन्।
मोसम्मत सगोरिकाको कथा
नेपाली महिला फुटबलले याद गर्ने धेरै बंगलादेशी खेलाडीमध्ये एक हुने १७ वर्षिया मोसम्मत सगोरिका। यु–२० बंगलादेशी खेलाडी नेपाललाई उपाधिका लागि बाधक बनेको खेल धेरैको मानसपटलमा घुमिरहेको छ। इस्लामलाई विश्वास गर्ने यिनै परिवारमध्ये एक थिइन् सगोरिका।

सगोरिकाले सानो उमेरमै बल लात मार्न रमाइलो ठान्थिन् तर उनका आमाबाबु चुपचाप भन्दै गर्थे, ‘छोरी, पढाइ गरेर छिट्टै जागिर खानु। खेलकुदले पेट भरिँदैन।’ तर इस्लाम जस्तै सगोरिका हार मान्ने पक्षमा थिइनन्। उनी इस्लामको एकेडेमीमा भर्ना भइन्। सुरुमा उनका बाबु कठोर देखिन्थे तर छोरीलाई बलसँग खेल्दै गरेको देख्दा उनको मन पनि पग्लियो। अन्ततः उनले भने ‘पढाइलाई छोड्ने छैनौँ भने फुटबल खेल्न सक्छ्यौ।’
सगोरिकाका पिता लिटोन अली बोलिदारा क्षेत्रमा रहेको एउटा सानो चिया पसल चलाउँछन्। उनको परिवारमा फुटबलको कथा भने पहिले नै सुरु भइसकेको थियो। उनका दाजु पनि फुटबल खेल्थे तर आर्थिक अभावका कारण करिअरलाई निरन्तरता दिन सकेनन्। यही परिस्थिति देखेर सगोरिकाले मनमनै ठानेकी थिइन् ‘म खेल छोड्दिनँ, चाहे कस्तो कठिनाइ आए पनि फुटबललाई निरन्तरता दिन्छु।’

त्यसपछि सगोरिकाले मैदानमै आफ्नो खेल देखाइन्। उनले यू–२० एसियन कप छनोटको फाइनलमा नेपाल विरुद्ध एक्लै चार गोल गरेर टोलीलाई नयाँ उचाइमा पुर्याइन्। उनी दक्षिण एसियाकी उदाउँदो तारा बनिन्। यु–२० आफ्नो कौसल देखाउनु अघि नै सिनियर टिममा स्थान बनाइसकेकी थिइन्।
सन् २०२४ मा भुटान विरुद्धको मैत्रीपूर्ण खेलमा सिनियर टिममा डेब्यु गर्दै ह्याट्रिक समेत गरेकी थिइन्। तर उनको चर्चा त्यसबेला हुन सकेन। जब नेपाल विरुद्ध प्रभावशाली प्रदर्शन गरिन् तब सबै नेपालीहरूले सागोरिकाको संघर्षको कथा थाहा पाए। उनी दशरथ रंगशाला भएको महिला साफ च्याम्पियन टोलीको सदस्य समेत रहेकी थिइन् तर मैदानमा नउत्रिएका कारण उनको खेल नेपाली दर्शकले हेर्न पाएनन्।

गाउँका मानिसहरूले जसलाई पहिले आलोचना गर्थे, अब भने गर्व गर्दै प्रोजेक्टरमा उनको खेल हेर्न थाले। इस्लामको सपनाले उडान भर्दै थियो। एकपछि अर्को गर्दै प्रतिभाशाली महिला खेलाडी उत्पादन भइरहेको थियो। तर एकाएक इस्लामी कट्टरपन्थीहरूको नजरमा एकाडेमीमा पर्यो। २०२४ मा जोयपुरहाटमा इस्लामी कट्टरपन्थीहरूले खेलमैदान तोडफोड गरे र दुईवटा महिला खेल रोकिदिए।
‘केटीले फुटबल खेल्नु हुँदैन’ भन्ने नारा गाउँमा गुञ्जिएको थियो। तर यस पटक, ताजुल इस्लाम एक्ला थिएनन्। गाउँकै शिक्षक, प्रहरी, प्रशासन र राजनीतिज्ञ पनि उनको पक्षमा उभिए। उनीहरूले भने, ‘यी छोरीहरूले बंगलादेशलाई चिनाउनेछन्।’
त्यस दिनपछि एकेडेमीको हैसियत फेरियो। अब त्यहाँ फुटबल मात्र होइन, सामाजिक सुरक्षा पनि पाइन्छ भन्ने विश्वास समाजमा बस्यो। अब रंगाटुङी गाउँमा बेलुकी परेपछि छोरीहरू बल खेल्दै गर्दा गाउँलेहरू चुपचाप मुस्कुराउँछन्।
पहिले आलोचना गर्ने जिब्रो अहिले गर्वका शब्द बोल्छन्। ताजुल इस्लाम टाढैबाट मैदान हेर्छन्। बालिकाहरू बलसँग दौडिरहेका छन्, छेउमै सगोरिका नेतृत्व गर्दै छिन्। उनको आँखामा चमक छ, ‘आज मसँग धनी हुने सम्पत्ति छैन, तर मसँग १७ करोडको मुलुकलाई गर्व दिलाउने सपना छ। यही मेरो सम्पत्ति हो’ इस्लाम भन्छन्।
आर्थिक समस्यासँग जुध्दै
आज रंगाटुङी एकेडेमीले बंगलादेशलाई थुप्रै राष्ट्रिय खेलाडी दिएको तर आर्थिक समस्या भने अझै पुरानै छ। मैदानमा बल कम हुन्छन्, जिम सामग्री पुराना हुन्छन्, प्रशिक्षकलाई तलब दिन पनि गाह्रो हुन्छ। ताजुल इस्लाम भन्छन्, ‘मैले मेरो सबै सम्पत्ति लगाएँ। राष्ट्रिय स्तरबाट सहयोग पाएको छैन। तर सपना ठूलो छ, हाम्रो छोरीहरूले एकदिन विश्वकप खेल्नेछन्।’

बंगलादेश फुटबल महासंघले हाल ३० भन्दा बढी महिला खेलाडीलाई मासिक १२५ देखि ३५० युरो (अन्दाजी १४६ देखि ४०८ डलरसम्म) को तलबसहित करार सम्झौता गरेको छ। केही खेलाडीहरू विदेशतर्फ पनि लागिरहेका छन्। हालसालैको टोलीका १० खेलाडी भुटानमा क्लब फुटबल खेलिरहेका छन्।
सन् २०२७ मा ब्राजिलमा हुने विश्वकप, जसमा पहिलो पटक ३२ टोली सहभागी हुनेछन्, त्यहाँ पुग्नु अहिलेका लागि ठूलो सपना हो। यद्यपि आगामी दशकभित्र विश्वकपमा छनोट हुने लक्ष्य राखिएको छ। सगोरिका दृढ भएर भन्छिन्, ‘हामीलाई विज्ञान, प्राविधिक र आर्थिक सहयोग चाहिन्छ। तर हाम्रो मिहिनेतले एकदिन हामीलाई विश्वकपसम्म पुर्याउनेछ।’
जब त्यो ऐतिहासिक क्षण आउँछ, ताजुल इस्लामदेखि अभिभावक, छिमेकी, रंगाटुङीका गाउँले र सारा बंगलादेशीहरू गर्वका आँसुका साथ टीभी पर्दा वा रंगशालाबाट हेरेर उत्सव मनाउनेछन्।
अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा