Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पूर्वी पहाडमा फुटबल : खेलाडीलाई अवसरदेखि पर्यटन प्रवर्धन र आम्दानीको माध्यम

पूर्वी पहाडमा फुटबल : खेलाडीलाई अवसरदेखि पर्यटन प्रवर्धन र आम्दानीको माध्यम

  • नमीन ढकाल
  • शनिबार, भाद्र ७ २०८२


पूर्वी पहाडमा फुटबल : खेलाडीलाई अवसरदेखि पर्यटन प्रवर्धन र आम्दानीको माध्यम

इलाम : जब पूर्वी पहाडी जिल्लामा फुटबलको लहर सुरु हुन्छ चोकचोकका चिया पसलमा गफ बदलिन्छ। राजनीतिक गफ हुने चियापसल एकाएक फुटबलको माहोलमा रंगिन्छन्। बिहानको बजारमा दूध बेच्न आउनेदेखि तरकारी लिएर आउनेहरूको मुखमा एउटै स्वर हुन्छ, “आजको खेलमा को जित्ला ?” पूर्वी पहाडी जिल्लामा फुटबल प्रतियोगिता केवल खेल हैन सांस्कृतिक उत्सव पनि हो। पूर्वी पहाडमा गोल्डकप र टोलकपको परम्परा प्रजातन्त्र प्राप्तिपछिको हो।

विभिन्न अवसर र चाडपर्वमा फुटबल खेलाइन्छ। उधौली, उभौली, दशैँ, तिहार, बाला चतुर्दशी, प्रजातन्त्र दिवस, नयाँ वर्ष जस्ता विभिन्न अवसरमा फुटबल प्रतियोगिता आयोजना हुन्छन्। इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा आयोजना हुने गोल्डकप र टोलकप प्रतियोगिताले खेलाडीलाई राष्ट्रिय मञ्चसम्म पुर्‍याउने आधार तयार गरेका छन्। गाउँको खाली चौर र खेतका गराबाट सुरु भएको फुटबल मेला आज ७ देखि ११ जना खेल्न मिल्ने मैदानमा हुन थालेको छ।

गाउँको टिमले राष्ट्रिय खेलाडीहरू सम्मिलित बलियो क्लबलाई हराउँदा स्थानीय गौरवको अनुभूति हुन्छ। इलामको उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिकाको जमुना जहाँबाट नेपाली फुटबलमा छिरिङ गुरुङ र दर्शन गुरुङ नेपाली फुटबलमा पदार्पण गरेका छन्। हरेक वर्ष तिहारको पूर्वसन्ध्यामा कागे फुटबल हुने गर्छ। कागे फुटबलले करिब ५ दशकको गौरवमय इतिहास बोकेको जानकार बताउँछन्। २०८० को संस्करणका स्थानीय खेलाडीले राष्ट्रिय खेलाडी सम्मिलित झापाको मोनोल्याण्ड एफसीलाई हराउन सफल रह्यो।

गत संस्करणमा भेट्रान्स फुटबल खेल्न बेलायतबाट इलाम समाज युके भेट्रान्सको टिम जमुना आएको थियो । पूर्व राष्ट्रिय खेलाडी लोकबन्धु गुरुङ सहित बेलायतमा रहेका इलामेहरु खेलमा सहभागि भए । टिममा विशाल राई, मिन बस्नेत लगायतका पुर्व ए डिभिजन फुटबल पनि सहभागी भए । युके टिमले फुटबल मात्र खेलेन गजाधर धनमाया रंगशाला निर्माणका लागि १४ लाख रुपैया आर्थिक सहयोग समेत प्रदान गरेको कागे फुटबल आयोजक समितका सचिव दपर्ण गुरुङले बताए ।

default

ए डिभिजन लिग खेलेर फर्किएका देव लिम्बु, एरोन थापा, लक्ष्मण बेघा जस्ता नाम चलेका खेलाडी सम्मिलित टिमलाई स्थानीय खेलाडीको टिम टारी एफसीले सजिलै पराजित गर्‍यो। जमुनामा अहिले जिल्लाकै सबैभन्दा ठूलो गजाधर धनमाया रंगशाला निर्माणले तीव्रता पाएको छ। स्थानीय भट्टराई परिवारले दिएको जग्गामा ११ जना खेल्न मिल्ने मैदान तयार भएको छ। रंगशाला निर्माणका लागि संरचना बनाउने कार्य हुँदै छ।

खेतका गह्रा सम्याएर बनाइएका मैदानबाट खेलेर राष्ट्रिय टिममा पुगेका खेलाडीको प्रेरणाले युवा पुस्तामा फुटबलप्रतिको मोह गहिरो भएको छ। दर्शकको सहभागिता पनि यस क्रेजको एउटा मुख्य विशेषता हो। मैदानको एक कुनामा ज्येष्ठ आमा–बुबा छाता समाएर टिमलाई चियर गर्दै देखिन्छन् भने अर्को कुनामा युवाहरू ढोल, झ्याली र हुटिङ गर्दै नाचिरहेका हुन्छन्। कृषिप्रधान समाजमा यो प्रतियोगिता दैनिक जीवनको थकान भुलाउने उत्सव बन्छ।

मध्य असारमा माबुमा राँके स्मृति फुटबल प्रतियोगिता हुन्छ। झमझम पानी परिरहँदा पनि खेल हेर्न आएका दर्शक आफ्ना ठाउँ छाडेर कहीँ जाँदैनन्। छाता र रूखको ओत लागेर भए पनि आफ्नो मन पर्ने खेलाडीलाई चियरअप गर्न पछि पर्दैनन्। आयोजक सन्दकपुर खेल संघका अध्यक्ष रेखा गुरुङ राँके फुटबल प्रतियोगिताको रूपमा मात्र नबुझ्न आग्रह गर्छन्।

‘राँके स्मृति फुटबल केवल खेल मात्र हैन, माबुवासीहरूको उत्सव हो। झरीमा रुझ्दै खेलाडीसँगै दर्शकका साथै राँके फुटबलको सम्पत्ति हो।’ २०२८ साल ताकाबाट राँके फुटबल हुँदै गरेको सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष ढालबहादुर गुरुङ सम्झन्छन्। फुटबल हेर्न आउने दर्शक मात्र होइन, स्थानीय व्यवसायीका लागि पनि यस्ता प्रतियोगिता आम्दानीको ठूलो स्रोत हुन्छन्। मैदान वरिपरि अस्थायी पसल खोलेर चिया, पकौडी, मम चाउमिनदेखि चिसो पेयपदार्थ विक्री हुन्छन्।

खेल हेर्न आएका दर्शक पसलमा भीड लगाउँछन् र व्यापारीहरूका लागि त्यो दिन महिना बराबरको आम्दानी हुने गर्छ। सन्दकपुर गाउँपालिकाको टारीमा आयोजना हुने टारी फुटबल प्रतियोगितामा रैथाने खानाको परिकार चाख्न पाइन्छ। गत पसमा सञ्चालित प्रतियोगितामा मौलिक खाना याङ्वेन, वाचिपा, सेल रोटी जस्ता परिकारको स्टल राखिएका थिए। तेजेन्द्र साउदेनले घरअगाडि कटेरो बनाएर मौलिक परिकारको स्टल राखेका थिए।

वाचिपा, याङवेन जस्ता परिकार फुटबल पारखीले मन पराएका थिए। ‘फुटबलसँगै पर्यटन महोत्सव भनेर स्थानीय स्तरमा उत्पादन हुने परिकारको स्टल समेत राखेका थियौँ, सबैजनाले परिकार मन पराइदिनुभयो’, उनले भने।
अस्मिता, सुस्मिता र इन्दिरा ढकालले टारीबेसीमा फलेको धानबाट सेलरोटी बनाएर करिब २० हजार बराबरको व्यापार समेत गरे। प्रतियोगितास्थलमा टारीबेसीको तस्बिर समेत राखिएका थिए। जहाँ खेल हेर्न आउने दर्शकले तस्बिर समेत खिच्न भ्याए।

मैदान अभाव झेलिरहेको टारी फुटबल क्लबले हरेक वर्ष फरक फरक खेतमा गरालाई सम्याएर फुटबल गराउँदै आएको थियो तर अहिले ११ जना मिल्ने खेल मैदान निर्माणका लागि अभियान चलाएको क्लबका सचिव रूपेन्द्रराज नेम्वाङ बताउँछन्। मैदान निर्माणका लागि दाताबाट सहयोग प्राप्त हुने क्रम रहेको उनले बताए। सन्दकपुर गाउँपालिकाको माबुमा हुने बालाचतुर्दशी फुटबल प्रतियोगितामा वरिपरि ८-१० वटा मात्र पसल राखिएका थिए तर पसल सञ्चालनबापत आयोजकले गत वर्ष ३६ हजार आम्दानी गरेको छ। स्थानीय पसल सञ्चालकसँगै आयोजकले समेत आम्दानी गर्न सफल भएको देखिन्छ।

फुटबल खेलले स्थानीय पर्यटनको प्रवर्धन समेत गरेको छ। खेल हेर्न आउने दर्शकले नजिकै रहेका पर्यटकीयस्थलमा घुम्ने गरेका छन्। विगत २ वर्षबाट तिहारको पूर्वसन्ध्यामा सूर्योदय नगरपालिका–५ समाल्बुङमा गोरख भेट्रान्स फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ। दोस्रो संस्करणमा सिक्किमको बरमियोक नाम्फिङ भेट्रान्सले सहभागिता जनाएको थियो। टिमलाई चियर अप गर्न सिक्किमबाट धेरै दर्शकको सहभागिता थियो। उनीहरूले फुटबलसँगै श्रीअन्तु भ्रमण गर्दै खेल पर्यटनमा टेवा पुर्‍याए। सधैँ आन्तरिक पर्यटकले भरिने श्रीअन्तुको भञ्ज्याङ बजार फुटबल हुँदा सिक्किम खेल पर्यटकको चहलपहल देखिन्थ्यो।

default

कागे फुटबलमा नजिकै रहेको ढापपोखरी घुम्न सकिन्छ। टोड्के झर्ना फुटबलमा आउने दर्शक नेपालकै दोस्रो अग्लो भनिएको टोड्के झर्नामा रमाउन सक्छन्। देउमाई नगरपालिकाको चमैतामा आयोजना हुने देउमाई कप फुटबल प्रतियोगितामा आउने दर्शकले कुइभिर र पाटेनागी घुम्न सक्छन्। पर्यटनसँगै एउटा फुटबल प्रतियोगिता ८/१० परिवारलाई अस्थायी रोजगार सिर्जना हुने, होटल भरिने तथा स्थानीय उत्पादनले बजार पाउने गर्छन् तर लोकप्रियतासँगै चुनौती पनि छन्।

खेलमैदानको मापदण्ड, खेलाडीको स्वास्थ्य र प्रशिक्षण सुविधा, दीर्घकालीन प्रायोजनको व्यवस्था अझै अपूरा छन्। ग्रामीण क्षेत्रमा हुने प्रतियोगितामा मात्र हैन ठूला गोल्डकप प्रतियोगितामा समेत खेलाडीहरूको बिमा हुने गरेको थिएन। गत वैशाखमा भएको सायाबुङ फुटबल खेल्ने क्रममा टोडके झर्नाका सौजन घतानी चोटिल हुन पुगे। आयोजकले उपचार खर्च व्यहोर्न सक्ने अवस्था नभएपछि आफैंले उपचार गरे। माईजोगमाई गाउँपालिकामा आयोजित पालिका कपमा इलाम नगरपालिका र माङसेबुङ गाउँपालिका बीचको खेलमा माङसेबुङका गोलरक्षक र इलामका स्ट्राइकर निकेश तामाङ जुध्न पुगे।

निकेशको गोडा भाँचियो र गोलरक्षकको ब्युटिबोन भाँचियो। आयोजक माईजोगमाई गाउँपलिका खेलकुद परिषद्ले सामान्य उपचार खर्च दियो तर पर्याप्त थिएन। पालिकाको करिब १५ लाख रुपैयाँ खर्च गरेर आयोजना गरिएको प्रतियोगिता आयोजकले बिमाको व्यवस्थापन गरेको थिएन। जसको असर खेलाडीहरू भोग्नुप¥यो तर पछिल्लो समय बिमाको क्रम पनि बढेको देखिन्छ।

सन्दकपुर खेल संघले राँके स्मृति फुटबलमा खेलाडीहरूको बिमा गरिदिएको थियो। खेलदौरान घाइते भएका बिमाले १ लाख बराबरको जोखिम वहन गरिदिन्थ्यो र खेलाडीहरू ढुक्क भएर खेल्न सके। पूर्वी पहाडका गाउँ–गाउँमा फुटबलले एक अद्भुत आकर्षण सिर्जना गरेको छ। खेतीपाती, मेलापात र पर्व–उत्सवको व्यस्तताबीच हुने प्रतियोगिताले पूर्वी पहाडका बासिन्दालाई जीवन्त बनाइदिन्छ।

खेल सुरु हुनेबित्तिकै गाउँमा रौनक छाउँछ, मैदान वरिपरि दर्शकको भीड लाग्छ दर्शक आफ्नो मन पर्ने टोलीलाई उत्साह बढाउँछन्। यस्ता प्रतियोगिताले केवल मनोरञ्जन मात्र दिने होइन, स्थानीय प्रतिभा खोज्ने मौका पनि दिएका छन्। धेरै युवा खेलाडीले गाउँकै टोलकपबाट आफ्नो क्षमता देखाएर जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने अवसर पाएका छन्। गाउँबाटै कौशल देखाएर इलामबाट लोकबन्धु गुरुङ, नवयुग श्रेष्ठ, छिरिङ गुरुङ, दर्शन गुरुङ, एन्जिला सुब्बा जस्ता खेलाडीहरूले राष्ट्रिय टिमका नायक बनेका छन्। ताप्लेजुङका लहान सुब्बा जसले गाउँकै फुटबलबाट प्रगति गरेर नेपाल यु–२३ मा स्थान बनाए।

कोशी प्रदेश फुटबल संघका उपमहासचिव पूर्ण फत्र पूर्वी पहाड नेपाली फुटबलको जगको रूपमा लिन्छन्। ‘गाउँमा हुने साना प्रतियोगिता नै नेपाली फुटबलको मेरुदण्ड हो। गाउँगाउँका खेलबाट नै निखारिएका खेलाडीहरूले राष्ट्रिय स्तरमा अवसर पाउने हुन्’, उनले भने, ‘गाउँमा हुने साना टोलकपले पनि खेलाडीहरू बाँच्ने आधार तयार गरेको छ। फुटबलमा केही भएन भनिन्छ यहाँ धेरै भएको छ। गाउँगाउँमा फुटबल खेलेर एउटा खेलाडीको घरपरिवार चलेको छ। दिनको ४–५ हजारभन्दा बढी कमाइरहेका छन्।’

खेलाडी मात्र नभएर अहिले गाउँगाउँमा फुटबल प्रतियोगिता बढ्दै जाँदा रेफ्रीहरूलाई समेत बाँच्ने आधार तय भएको छ। सन्दकपुर गाउँपालिकामा मात्र वर्षमा १४ वटा फुटबल प्रतियोगिता हुने गर्छ। त्यही प्रतियोगिता खेलाएर नै धेरै रेफ्रीहरूले आफ्नो आधारभूत आवश्यकता पूरा गर्दै आएका छन्। इलाम जिल्लामा कति प्रतियोगिता हुन्छ भन्ने यकिन तथ्यांक नभए पनि करिब १ सयभन्दा बढी प्रतियोगिता हुने गरेको जिल्ला फुटबल संघ इलामका अध्यक्ष विक्रम श्रेष्ठ बताउँछन्।

‘कति प्रतियोगिता हुन्छ यकिन छैन तर १ सयभन्दा बढी गोल्डकपदेखि टोलकपसम्म हुन्छन्’, उनले भने, ‘गाउँका फुटबललाई व्यवस्थित गर्न फुटबल संघको अनुमति लिन आग्रह गरेका छौँ। मेरो कार्यकालमा हालसम्म १ सयभन्दा बढी प्रतियोगिता सञ्चालन गर्न अनुमति लिएका छन्।’ इलाममा हुने प्रख्यात गोल्डकप प्रतियोगिताले हरेक वर्ष हजारौँ दर्शक तान्छ।

पाँचथरका टोलस्तरीय खेलहरूले सामाजिक एकता र युवाको सहभागिता बढाएका छन् भने ताप्लेजुङमा त दुर्गम बाटो हिँडेर पनि दर्शक खेल हेर्न आउँछन्। पूर्वी पहाडमा फुटबल अब खेल मात्रै नभई गाउँको सामाजिक–सांस्कृतिक पर्वझैं बनेको छ। यसले युवालाई सपना देखाउँछ, गाउँलेलाई रोजगारी दिन्छ र गाउँलाई एकतामा बाँध्छ। इलाम, पाँचथर र ताप्लेजुङका टोलकप–गोल्डकप प्रतियोगिता साँच्चै अब स्थानीय जीवनशैलीकै हिस्सा बनिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार