काठमाडौं । सरकारले फागुन महिनाभर नसर्ने रोगको पहिचानको लागि एकमहिने नि:शुल्क राष्ट्रिय अभियान संचालन गरेको छ। मधुमेह, उच्चरक्तचाप लगायत रोगहरूको एक महिनासम्म देशभरका सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क रुपमा परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलको भनाइ छ। उनका अनुसार सबै स्थानीय तहहरूसँग मिलेर यो अभियान संचालन गरिएको समेत उनको भनाइ छ।
अभियान आज (फागुन १) देखि सुरु भएको हो। विशेषगरी ३० वर्ष माथिका सम्पूर्ण नागरिकहरुको नर्सने रोगको नि:शुल्क परीक्षण गरिने सचिव पोखरेलको भनाइ छ। ‘हाम्रोमा पढेलेखेकाहरूले नै नियमित स्वास्थ्य परीक्षण नगरेको पाइन्छ त्यसैले नसर्ने रोगको जोखिम कम गर्न नियमित परीक्षण गर्ने बानी बसाल्न हामीले आजदेखि यो अभियान संचालन गरेका हौँ। सबैले परिक्षण गरेर निरोगी बन्ने बाटोमा लाग्न आग्रह गर्दछु’ स्वास्थ्य सचिव डा पोखरेलले भने, ‘नसर्ने रोग जीवनशैली परिवर्तनबाट रोकथाम गर्न सकिन्छ कसैलाई रोग छैन भने त राम्रो भइहाल्यो। सकेसम्म रोग लाग्न नदिऔँ’, ‘तर रोग लागिसकेपछि उपचार गर्नुपर्छ। समयमै पहिचान गरौँ।’
यो अभियानमा मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण) ,रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौलासम्बन्धी रोगको जाँच उचाइ र तौलको आधारमा बिएमआई मापन नि:शुल्क परीक्षण गरिने व्यवस्था गरिएको समेत स्वास्थ्य सचिव डा पोखरेलले बताए। यसको लागि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले “नसर्ने रोग (मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका-२०८१ समेत तयार गरेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टेकुमा आयोजना गरेको अभियानको उद्घाटन कार्यक्रममा रोगहरूको स्क्रिनिङ सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट विभिन्न क्रियाकलाप गरी गरिने इपडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा यदुचन्द्र घिमिरेले बताए। डा घिमिरेका अनुसार ३० वर्षभन्दा माथिका सबै नागरिकको स्वास्थ्य जाँच नि:शुल्क गरिने गरी निर्देशिका बनाइएको छ।
‘स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट फागुन महिनाभर नसर्ने रोगको अवस्था पहिचान गर्न लक्षित उमेर समूहका व्यक्तिहरूको स्वास्थय परीक्षणका साथै स्वास्थ्य प्रवद्र्धन तथा जोखिम न्यूनीकरणका लागि बृहत् क्रियाकलापहरू सबै प्रदेश र स्थानीय तहमार्फत सञ्चालन हुँदै छ।’