नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाले सेवाग्राहीलाई छिटो प्रदान गर्न कार्यालयाको काम प्रविधिमैत्री बनाएको छ । गाउँपालिकाको प्रशासनिक सेवा, आर्थिक कारोबार हाजिरी पूर्ण रुपमा प्रविधिमार्फत गरिएसँगै गाउँपालिका पेपर लेस गाउँपालिका बन्दै गएको हो ।
आर्थिक वर्ष २०७७÷७८ बाट गाउँपालिकाले आफ्नो सेवा प्रविधिमैत्री बनाउँदै आएको थियो । गाउँपालिकाले कम्प्युटर र इन्टरनेटको प्रयोगबाट सफ्टवेयरको सहयोगमा सेवा दिँदै आएको हो । जनतालाई छिटो र पारदर्सी सेवा दिने पालिकाको निती अनुसार अहिले गाउँपालिका र मातहतका कार्यालयबाट प्रदा गरिने सेवा प्रविधिमैत्री बन्दै गएका हुन् ।
हस्तलिखित र पेपरको प्रयोगबाट हुँदै आएका काम न्यूनिकरण गर्दै सबै सेवा प्रविधिमैत्री बनाउन हरेक वर्ष बजेट व्यवस्था हुँदै आएको हो । राजश्व संकलन, भुक्तानी, दर्ता चलानीदेखि कर्मचारीको बिदासम्म अनलाईनको माध्यमबाट हुँदै आएको सुचना प्रविधि शाखाका अशोक लिम्बुले बताए ।
प्रविधिमार्फत गरिएका काममा त्रुटि भएमा सच्याउन सकिने भएकाले सेवाग्रायी लामो समय लाइन बस्नुपर्ने बाध्यता हटेको छ । सबै सफ्टवेयर मार्फत हुने भएकाले पारदर्शी काम हुने गरेको छ । गाउँपालिकाको प्रमुख प्रशासकिय कार्यालय, वडा कार्यालय, बिषयगत शाखा, स्वास्थ्य संस्था र विद्यालयसम्म प्रविधि विस्तारले गाउँपालिका प्रविधिमैत्री बन्दै गएको हो ।
प्रविधिमैत्री पालिका बनाउने निति अनुसार हस्तलिखित कामलाई न्यूनीकरण गरिएको हो । गाउँपालिका मातहतका कार्यालय, शैक्षिक संस्थाका गतिविधिहरु र कर्मचारीको अनुगमन प्रविधिको माध्यमबाट हुँदै आएको प्रमुख प्रशासकिय अधिकृत कुमार बस्नेतले बताए ।
हस्तलिखित काम हुँदा कागजपत्र एक शाखाबाट अर्को शाखामा सदर गर्न पु¥याउनुपर्ने बाध्यता थियो अहिले हटेको छ । गाउँपालिकाले पोहिलो चरणमा कर संकलनको काम प्रविधि मार्फत शुरु गरेको थियो । कर संकलन प्रणाली प्रविधिमार्फत भएपछि इ–हाजरी, जिन्सी, स्टोर दाखिला, दर्ता चलानी, सिफरिस, लेखाप्रणाी, स्वास्थ्य र शिक्षा शाखासँगै पालिकामा हुने सबै काम प्रविधिमार्फत गर्दै आएको हो ।
अनलाइन मार्फत काम गरिँदा दैनिक कार्यप्रगति अनुगमन गर्न पनि सहज भएको हो । जनताको बढी मात्रामा भिड हुने योजनाको संझौतामा पनि प्रविधिको प्रयोगले छिटो र छरितो तरिकाले काम हुँदै आएको हो ।