फिक्कल । मुलुक संघीयतामा प्रवेश गरेपछि पहिलो स्थानीय सरकार प्रमुखको रुपमा सूर्योदय नगरपालिकामा रण बहादुर राईको प्रवेशपछि नजर चियामा प¥यो । किसान र उद्योगीहरुले सहमतीमा चियाको मुल्य निर्धारण गर्दै आएकोमा नगर प्रमुख राईले चिया कार्यविधि भनेर ऐन बनाएर मुल्य निर्धारण गर्ने प्रयास गरे । तर उनको प्रयास सफल हुन सकेन् । नगरपालिकाले २०७५ सालमा किसानलाई हरियो चियापत्तीको मूल्य प्रतिकिलो रु ४० दिने व्यवस्थासहित ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यान्वयन कार्यविधि’ पारित गरेको थियो ।
आर्थिक समिति संयोजक समेत रहेका वडा नं ९ का वडाध्यक्ष देवेन्द्र आचार्यको नेतृत्वमा मापदण्ड कार्यान्वय समिति समेत बन्यो । तर चियाको मुल्य सम्बन्धी विवाद झन चरम उत्कर्षमा रहयो । कार्यविधि निर्माणका लागि स्थानीय सरकारले वास्तविक चिया किसानसंग नभएर चिया किसानमा नाममा विचौलियाहरुसंग छलफल गरेर कार्यविधिलाई अघि सारेको थियो । जसको मारमा किसानहरु पर्न गए । सिजनमा ९० रुपैयासम्म पाउँदै आएका किसानहरुले ४० रुपैया भन्दा बढि चियाको मुल्य पाउन सकेनन् ।
कार्यविधि बनाएर लागु गरेको ६ बर्ष हुन लागेपछि स्थानीय सरकारले समय अनुकुल परिमार्जन गर्न सकेको छैन् । मुल्यबृद्धिका कारण बजार महंगो हुँदै गएपनि चियाको किसानको उत्पादन ६ बर्ष ४० भन्दा बढेको छैन् । चियाको मुल्य समयानुकल परिमार्जन बारे नगर प्रमुख रणबहादुर राई संघीय सरकारको कारण परिमार्जनमा समस्या देखिएको बताउँछन् ।
‘संघले चाडै गछौ भन्ने भयो । कृषिको मुल्य निर्धारणको दायित्व संघीय सरकारको हो । संघ सरकारले बैज्ञानिक ढंगले मूल्य निर्धारण गछौ भनेकाले सूर्योदय नगरपालिकाले पर्खिएर बसेको हो ।’ उनले भने ‘ ३÷३ बर्षमा परिमार्जन गर्नुपर्ने हो तर संघीय सरकारले बढि चासो देखाएकाले पर्खिएर बसेका छौ ।’ उनले संघीय सरकारले चियाको मुल्य निर्धारण गर्न समस्या देखिने भएकाले समय लाग्ने भन्ने जानकारी पाएको नगर प्रमुख राईले बताए ।
कार्यविधिको मुल्य परिमार्जनमा संघीय सरकारको मुख ताक्दै
किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात एक सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने कार्यविधिमा उल्लेख छ । जसको मुल्य किसानले अहिले पनि ४० रुपैया मात्र पाउँदै आएका छन् । स्थानीय सरकारको कार्यििवधि आउनु अघि सोहि गुणस्तरको चियाले ९० रुपैया मूल्य पाउने गरेको पुर्व पत्रकार समेत रहेका चिया किसान दिनेश महतको भनाई छ । कार्यविधि आउनु अघि गुणस्तरिय चियाको ९० रुपैया पाइदै थियो । कार्यविधि आएपछि घटेर ४० रुपैया पुग्यो । किसान भन्दा पनि कार्यविधि उद्योगी पोस्ने आएको छ ।’ उनले भने ‘ नगरपालिका चिया मुल्य समायोजना भन्दा पनि नियन्त्रण गर्नका लागि कार्यविधि बनाएको हो ।’
कार्यविधि आए लगतै किसानहरुले उत्पादनको उचित मुल्य नपाएपछि सडकमा पोखेर नै विरोध जनाएका थिए । कार्यविधिपछि उद्योगीहरुले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दरभाउमा चिया खरीद गर्न नसक्ने भन्दै उद्योग बन्द गरेका थिए । १५ असार २०७६ मा देशभर धान दिवस मनाइरहँदा सूर्योदय नगरपालिका अगाडीको मेची राजमार्गभरी हरियो चियापत्ती पोखिएको थियो ।
नगरको हस्तक्षेप अघि किसानले सिजन अनुसार उत्पादन भएको हरियोपत्तीको मुल्य उद्योगीबाट पाएकै थिए । नगरपालिकाले ल्याएको कार्यविधीका कारण ३ दिन उद्योग बन्द हुन पुग्यो । सबै पक्ष वीच भएको सहमतीमा दुई पात एक सुईरो भएको चियाको मुना मात्र उद्योगीले नगरले तोकेको मुल्यमा खरिद गर्ने सहमती थियो तर १२ घण्टा नवित्दै एसोसिएसनसंग आवद्ध उद्योगले कार्यविधी पालनाका लागी केही किसानको पत्ती मापदण्ड अनुसार नभएको भन्दै फर्काइदियो ।
एकपछि अर्को गर्द किसानहरुले चिया ल्याएर नगरपालिका जाने बाटोमा विच्छयाइदिए । नगर अघिको कालोपत्रे सडक एकै छिनमा हरियो देखिन थाल्यो । हातमा कलिलो पत्ती बोकेका किसान भन्दै थिए ‘यस्तो चियामा कस्तो मापदण्ड पुगेन रु कस्तो चिया चाहिएको हो रु उनीहरुको एउटै आवाज थियो हाम्रो मेहनतमा दलालीहरु कहिले सम्म रजाई गर्छन । किसानलाई समस्यामा पार्ने उद्योगी नभइ जनप्रतिनिधी रहेको आरोप किसानहरुको थियो । यस्तो समस्या हरेक बर्ष किसानहरु लिएर स्थानीय सरकासम्म जाने गरेका छन् । किसानहरु आफ्नो उत्पादनको सहि मुल्य माग्न सरकारसम्म पटक पटक जाने गरेका छन् ।
स्थानीय सरकारको ध्यान नपुग्दा किसानहरु चिया खेतीबाट विस्तारै पलायन हुँदै गएका छन् । चुनावको बेला चियाको समस्या समाधान गर्ने आश्वासन बाँडेका जनप्रतिनिधिले समस्या कानमा तेल हालेर बसेको कारण किसानका समस्या ज्यूका त्यू छन् । कार्यविधि बनाएको लगतै नगरपालिकामा आयोजित अन्तरक्रियामा तत्कालिन चिया विस्तार योजना फिक्कलका प्राविधिक विवेक भण्डारीले एक केजी चिया उत्पादनका लागि किसानले ३८ रुपैया ५० पैसा लागत लाग्ने बताएका थिए । उनको भनाईलाई आधार मान्ने हो भने किसानले उद्योगसम्म चिया पु¥याउदाको लागत ४० रुपैया भन्दा माथि हुन जान्छ ।
उद्योगी र चिया खरिदकर्ताले अधिकतम ४० देखि २० रुपैयासम्म चियाको मुल्य तोक्ने गरेका छन् । दोश्रो कार्यकाल समेत नगर प्रमुख रहेका रण बहादुर राई आफ्नो पहिलो कार्यकालमै चियाको मूल्य निर्धारणका विवादास्पद कानुन किसानको अनुकुल नभएपछि चियाको नियमनमा असफल बनेको प्रस्ट देखिन्छ । विसं १९२० मा इलामबाट चिया खेतीको व्यावसायिक सुरुवात भएको इतिहास छ ।
तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा चीन भ्रमणबाट फर्कँदा चिनियाँ जातको बिरुवा उपहारस्वरूप ल्याएको र उक्त चियाको बिरुवा इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापालाई दिएपछि थापाले इलामको माटोमा चियाको बोट रोपेको इतिहास छ । त्यसपछि पूर्वी पहाडका पाखा पखेरामा चिया खेती हुँदै अहिले जिल्लाका अधिकांश ठाउँमा खेती भए पनि पछिल्लो समय चियामा समस्या झेल्नुपरेका कारण खेती विस्तार हुन सकेको छैन ।


