ललितपुर : दक्षिण एसियाली राष्ट्र भारत र पाकिस्तान राजनीतिमा मात्र नभई खेलकुदमा समेत चिर प्रतिद्वन्द्वीका रूपमा परिचित छन्। ओलम्पिकमा पनि भारतको प्रतिद्वन्द्वी पाकिस्तान नै हुने गरेको छ। स्वर्ण पदकको भिडन्तमा पनि अधिकांश समय भारत र पाकिस्तानबीच प्रतिस्पर्धा चलिरहन्थ्यो। ओलम्पिकमा स्वर्ण पदक ल्याउने सवालमा होस् या दक्षिण एसियाली ७ राष्ट्रको भिडमा पदक ल्याउने प्रतिस्पर्धामा पनि यी दुवै देशबीच टक्कर छ। पछिल्लो समय पेरिस ओलम्पिकमा पनि एथ्लेटिक्सको ज्याभलिन थ्रोमा भारत र पाकिस्तान नै अन्तिम स्वर्ण पदकका लागि प्रतिस्पर्धी बने।
टोकियो ओलम्पिकमा स्वर्ण जितेका भारतीय खेलाडी निरज चोपरालाई पछि पार्दै पाकिस्तानका अर्सद नदिमले पेरिस ओलम्पिकमा नयाँ ओलम्पिक रेकर्डसहित स्वर्ण जिते। टोकियोमा निरजले स्वर्ण जित्दा पाकिस्तानी खेलाडी नदिम पाँचौँ भएका थिए। नदिमले एथ्लेटिक्स अन्तर्गत पुरुष ज्याभलिन थ्रोमा ९२।९७ मिटर थ्रो गर्दै नयाँ ओलम्पिक रेकर्ड कायम गरे। एथ्लेटिक्समा पाकिस्तानले जितेको यो पहिलो स्वर्ण समेत हो। यसअघि पाकिस्तानले ओलम्पिकमा हक्कीमा तीन स्वर्ण जितेको थियो।
नदिमले सन् २००८ को बेइजिङ ओलम्पिकमा नर्वेका आन्द्रेस थोरकिल्डसेनले बनाएको ९०.५७ मिटरको ओलम्पिक कीर्तिमान तोडेका हुन्। पेरिस ओलम्पिकमा पाकिस्तानले १ स्वर्ण जित्दा भारतले २ रजत र ३ कास्य पदक जितेको छ। दक्षिण एसियामा पदक ल्याउने भारत, पाकिस्तानपछि श्रीलंका मात्र छ।
भारतको १०, पाकिस्तानको ४ स्वर्ण
भारतले अहिलेसम्म १० वटा स्वर्ण, १० रजत र २० कास्य पदक हात पारेको छ। भारतपछि अहिलेसम्म सबैभन्दा बढी पदक ल्याउने देश पाकिस्तान हो। १९ पटक सहभागिता जनाएको पाकिस्तानले कुल ४ स्वर्ण ३ रजत र ४ कास्य पदक जितेको छ। पाकिस्तानले फिल्ड हकीमा मात्रै ३ स्वर्ण, ३ रजत र २ कास्य पदक जितेको हो। थप २ कास्य पदक कुस्ती र बक्सिङमा आएको छ। १९६० मा कुस्तीमा र १९८८ मा बक्सिङमा कास्य पदक जितेको हो। थप १ स्वर्ण एथ्लेटिक्सबाट आएका हो।
सन् १९४८ मा भारतबाट स्वतन्त्र भएपछि सोही वर्ष लण्डन ओलम्पिकबाट पाइला थालेको पाकिस्तानले १९५६ को मेलवर्न ओलम्पिकमा भारतसँग नै हारेर हकीमा रजत पदक ल्यायो। चार वर्षपछि १९६० को ओलम्पिकमा पाकिस्तानले भारतलाई नै हराएर स्वर्ण पदक जितेको थियो। फेरि १९६४ मा भारतसँग हारेर रजत पदक पाउँदा १९६८ को मेक्सिको ओलम्पिकमा अष्ट्रेलियालाई हराएर फेरि स्वर्ण पदक जितेको थियो।
१९७२ मा पश्चिम जर्मनीसँग हारेर रजत पदक जितेको पाकिस्तानले सन् १९८० मा पश्चिम जर्मनीलाई नै हराएर स्वर्ण पदक जितेको थियो। सन् १९९२ को वार्सिलोना ओलम्पिकमा हकीमा कास्य पदक ल्याएपछि त्यसपछिका ८ संस्करणमा पाकिस्तान रित्तो हात फर्किएको छ। ३२ वर्षपछि पदक र ४० वर्षपछि स्वर्ण पदक पाकिस्तानले लिएको थियो। जितेका १० स्वर्ण पदकमा ८ वटा त हकीमार्फत नै भारतले स्वर्ण जितेको छ भने थप २ स्वर्ण एथ्लेटिक्स र सुटिङमा पाएको छ।
ओलम्पिकमा भारतका लागि सबैभन्दा सफल खेल फिल्ड हकी रहेको छ। भारतले हकी मार्फत थप १ रजत र ४ कास्य पदक जित्दा दोस्रो सफल मानिएको एथ्लेटिक्समा १ स्वर्ण ३ रजत पदक जितेको छ। सुटिङमा १ स्वर्णसहित २ रजत र ४ कास्य पदक जित्दा कुस्तीमा २ रजत र ५ कास्य पदक आफ्नो नाममा लेखाइसकेको छ। सन् २००८ को बेइजिङ ओलम्पिकमा १० मिटर एयर राइफलमा अभिनव बिन्द्रले १० मिटर एयर राइफलमा तथा सन् २०२० को टोकियो ओलम्पिकमा पुरुष ज्याब्लिन थ्रोमा निरज चोपडाले एक(एक स्वर्ण जितेका थिए।
ज्याब्लीन थ्रोमा २०२४ को पेरिस ओलम्पिकमा निरज रजत पदकमा खुम्चिए। उनी पाकिस्तानी खेलाडी अर्शद नदिमसँग पराजित भए। नदिमले ९२.९७ मिटर थ्रो गर्दै ओलम्पिकमा नयाँ कीर्तिमानसहित स्वर्ण जितेका हुन्। भारतले ब्याडमिण्टनमा १ रजत र २ कास्य, भारोत्तोलनमा १ रजत र १ कास्य, बक्सिङमा ३ कास्य पदक जित्दा टेनिसमा पनि भारतले एक कास्य पदक हात पारिसकेको छ।
दोस्रो ओलम्पिकदेखि सन् १९३६ को बर्लिन ओलम्पिकसम्म हकीमा भारतले ३ स्वर्णपदक जितेको थियो। सन् १९७६ , १९८४, १९८८ र १९९२ को ओलम्पिक भारतका लागि पनि पदकविहीन बनेको ओलम्पिक थियो। सन् १९९६ को एट्लान्टा ओलम्पिकपछि भारतलाई कम्तीमा १ कास्य मात्रै भए पनि मिलिरहेको छ।
ब्रिटिस साम्राज्यको अधिनमा रहेको भारतले पहिलो सहभागितामै एलेटिक्समार्फत २ रजत पाएको थियो। दुवै पदक नोरम्यान प्रिटचार्डले ल्याएका थिए। सन् १९४७ मा ब्रिटेनबाट स्वतन्त्र भएपछि पनि भारत पाँच ओलम्पिकमा हकीमार्फत स्वर्ण ल्याउन सफल भयो। त्यतिवेला भारतलाई चुनौती दिने अर्को राष्ट्र बनेको थियो, आफूबाटै छुट्टिएको पाकिस्तान। पेरिस ओलम्पिकमा समेत भारतले हकीमै कास्य जितको छ।

