Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

‘ब्याटल्स अफ बेगम’ : जिया-हसिनाको शक्ति संघर्षको कथा

‘ब्याटल्स अफ बेगम’ : जिया-हसिनाको शक्ति संघर्षको कथा

  • नमीन ढकाल
  • बुधबार, साउन २३ २०८१


‘ब्याटल्स अफ बेगम’ : जिया-हसिनाको शक्ति संघर्षको कथा

इलाम : बंगलादेशको राजनीति ३३ वर्षदेखि दुई शक्तिशाली महिलाको वरिपरि घुमिरहेको छ। एक हुन्, बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिवुर रहमानकी छोरी शेख हसिना वाजिद र अर्की हुन् छैटौँ राष्ट्रपति जिया उर रहमान पत्नी एवं प्रथम महिला प्रधानमन्त्री बेगम खालिदा जिया। शक्तिशाली खानदानबाट सत्ता विरासत पाएका दुई महिलाले ५३ वर्ष अघिबाट परिवारबाट पाएको शक्तिको बलमा ३३ वर्ष नेतृत्वमा रहे। सन् १९९१ देखि २०२४ सम्म बंगलादेशको राजनीतिमा शीर्ष नेतृत्व सम्हालेका छन्।

लगातार १५ वर्ष ६ महिना प्रधानमन्त्री रहेकी शेख हसिनाको अचानकको बहिर्गमनले अहिले भने बंगलादेशमा शक्ति शून्यता सिर्जना गरेको छ। हसिनाको राजीनामा र पलायनले सत्ताको बागडोर कसको हातमा जाने छ भन्ने कौतुहलता समेत देखिएको छ। बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार गठनको कुरा अघि सारेका छन्। राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद विघटन गरिएको घोषणा गरेका समेत गरेका छन्।

अब निर्वाचन नभएसम्म अन्तरिम सरकारले देश हाँक्ने छ। हसिनालाई हटाउन आन्दोलन गरिरहेको विद्यार्थी समूहले पनि यसलाई स्वीकार गरेका छन्। यसैबीच, विपक्षी बंगलादेश नेसनल पार्टी ९बीएनपी० प्रमुख र शेख हसिनाकी कट्टर प्रतिद्वन्द्वी खालिदा जियालाई जेलबाट रिहा गरिएको छ। उनी रिहा भएसँगै बंगलादेशमा बेगमलाई लिएर भएको मतभेद र संघर्ष फेरि चर्चामा आएको छ। झण्डै तीन दशकदेखि बंगलादेशको राजनीतिलाई विषाक्त बनाएको तितो प्रतिद्वन्द्वीका कारण ‘ब्याटलिङ बेगम’ वा ‘ब्याटल्स अफ बेगम’ भनेर चिनिन्छ।

हसिना देश छाडेर हिडेको केही घण्टापछि सोमबार राष्ट्रपति मोहम्मद शाहबुद्दीनले खालिदा जियाको रिहाइको आदेशमा हस्ताक्षर गरे। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको मुद्दामा १७ वर्षको सजाय सुनाइएपछि २०१८ मा जेल परेकी थिइन्। ७८ वर्षीय जिया अस्वस्थ भएर अस्पतालमा उपचार गराइरहेकी थिइन्।
तानाशाही विरुद्ध मिलेर लडे
हसिनाले पाँचपटक र खालिदा जियाले २ पटक सत्ताको बागडोर सम्हालेकी थिइन्। बंगलादेशको पहिलो महिला प्रधानमन्त्री समेत रहेकी जिया पाकिस्तानकी बेनजिर भुट्टोपछि दोस्रो महिला मुस्लिम प्रधानमन्त्री थिइन्। मार्च १९९१ देखि मार्च १९९६ सम्म र फेरि १० अक्टोर २००१ देखि २९ अक्टोबर २००६ सम्म बंगलादेशको प्रधानमन्त्री पदमा रहेकी जिया बंगलादेशका पहिलो सैन्य तानाशाह जिया उर रहमानकी पत्नी हुन्।

जियाका पति जिया उर रहमान एक प्रमुख सैन्य कमाण्डर र स्वतन्त्रता संग्रामका नायक थिए। शेख मुजिबको हत्यापछि उनले देशको शासन चलाएका थिए। उनी सन् १९७७ मा राष्ट्रपति बने र चार वर्षपछि सन् १९८१ मा उनको पनि सैनिक विद्रोहमा हत्या भयो। यसपछि बंगलादेशका सैन्य प्रमुख मोहम्मद एरशादले देशको सत्ता कब्जा गरे। एरशादलाई हटाउन हसिना र जिया दुवै मिलेर लडे। तर एरशादको विदाइपछि उनीहरू सत्ता मोहमा फसेर एकअर्काको विरुद्धमा सक्रिय हुन थाले।

जियाले पतिले स्थापना गरेको बंगलादेश नेसनल पार्टी (बीएनपी) लाई अघि बढाइन् भने हसिनाले पिताले स्थापना गरेको अवामी लिग (एएल) को नेतृत्व हाँक्न पुगिन्। सन् १९९१ मा पहिलो पटक सत्तामा आउँदा जिया माथि हसिनाको अवामी लिगविरुद्ध राजनीतिक प्रतिशोधको काम गरेको आरोप लागेको थियो। पछि हसिनाको सरकार सत्तामा आएपछि बीएनपीलाई पनि यस्तै कारबाही गरेको आरोप लागेको थियो। यो लडाइँमा अन्ततः जियालाई जेल जानुपर्‍यो।

बंगलादेशको स्वतन्त्रताको श्रेय शेख हसिनाका पिता शेख मुजिबुर रहमानलाई दिइन्छ। उनलाई बंगलादेशको राष्ट्रपिता भनिन्छ। सन् १९७१ मा बंगलादेश स्वतन्त्र भएपछि उनी देशको राष्ट्रपति बने तर सन् १९७५ मा उनको घरभित्रै हत्या भयोे। यो नरसंहार सैन्य अधिकारीहरूले गरेका थिए। यसमा शेख मुजिबसँगै उनकी श्रीमती र तीन सन्तानको पनि मृत्यु भएको थियो। त्यतिबेला देशबाहिर रहेका शेख हसिना र उनकी बहिनी शेख रिहाना मात्र बाँचे।

द इकोनोमिस्टको रिपोर्ट अनुसार मुजिबुर र जिया उर दुवै सत्तामा तानाशाही बन्दै गए र अंक मिलाउन हिंसाको सहारा लिए। यो प्रवृत्ति हसिना र जियामा पनि देखियो। ‘जब हसिना सन् २००९ मा दोस्रो पटक सत्तामा आइन् उनले आफ्ना शत्रुहरूलाई पछ्याउँदै र अंक मिलाउन थप आक्रामक दृष्टिकोण अपनाउँदै जियाका कमजोरीलाई औल्याउँदै हसिनाले पछि पारिन्’, रिपोर्टमा भनिएको छ, ‘जब शेख हसिनाल २०१४ को आम चुनाव अघि कामचलाउ सरकारलाई बाटो दिन अस्वीकार गरिन् बीनएपीले चुनाव बहिष्कार गर्दै हिंसालाई प्रोत्साहन गर्‍यो।’

तत्कालीन समयमा जियाको सजायलाई उनको विगतका कार्यहरूको प्राकृतिक परिणामको रूपमा व्याख्या गर्दै हसिनाले आफ्नो कट्टर प्रतिद्वन्द्वीलाई ‘चरम क्रूरताको प्रदर्शन’ को संज्ञा दिइन्। उनले सार्वजनिक सम्पत्ति लुट्ने र ५०० भन्दा बढी मानिसहरूलाई जलाएको आरोप लगाएकी थिइन्। २०१५ मा खालिदाले अवामी लिग सरकारलाई ध्वस्त नगरी घर नफर्किने घोषणा गर्दै क्रूर हिंसाको विकल्प रोजे भन्दै हसिनाको सार्वजनिक रुपमा नै आलोचना गरिन्।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र यसको महत्त्वपूर्ण सहयोगी जमात–ए–इस्लामीले २०१४ को चुनावमा तटस्थ सरकार अन्तर्गत चुनावको माग गरेका थिए। माग पुरा नभएपछि बीएनपीले निर्वाचन बहिस्कार गर्‍यो र संसदमा प्रतिनिधित्व नै नगरी प्रतिपक्ष बन्यो। खालिदाको पार्टीले बहिस्कार गरेको रक्तपातपूर्ण संसदीय चुनावपछि हसिनाको अवामी लिग लगातार दोस्रो कार्यकालको लागि सत्तामा आयो।
मुजिबुरको स्मृति दिवस र जियाको प्रतिशोधयुक्त जन्मदिन
उनीहरुको दुश्मनी यतिसम्म बढ्यो, खालिदा जियाले राजनीतिक प्रतिद्वन्द्वीको सीमा विस्तार गर्ने क्रममा २०१३ अगष्ट १५ मा आफ्नो जन्मदिन मनाउने निर्णय गरिन्। यही दिन रक्तपातपूर्ण सैन्य विद्रोहमा हसिनाले ३८ वर्षअघि परिवारका अधिकांश सदस्य गुमाएकी थिइन्। बीबीसीका अनुसार जियाले जानाजानी कट्टर राजनीतिक प्रतिद्वन्द्वी र प्रधानमन्त्री शेख हसिना र बाँकी बंगलादेशले राष्ट्रपिता मानेका बंगबन्धु शेख मुजिबुर रहमानको पुण्यतिथि मनाउने दिनमा आफ्नो जन्मदिन मनाउन रोजेकी थिइन्। हसिना परिवारका अन्य सदस्यहरूको मृत्यु शोकमा थिए। कुनै पनि सरकारी कागजातले बेगम खालिदा जियाको जन्म मिति अगष्ट १५ को रूपमा संकेत गर्दैन।

बेगम जियाको विवाह प्रमाणपत्रले उनको जन्म मिति ५ सेप्टेम्बर १९४५ उल्लेख छ। उनको पहिलो राहदानीले उनको जन्म १९ अगष्ट १९४५ र म्याट्रिक परीक्षामा भाग लिनको लागि उनको प्रवेश पत्रमा ९ अगष्ट १९४५ उल्लेख भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
एक-अर्काविरुद्ध घोचपेच
सत्तामा रहनका लागि हसिनाले भारतलाई बंगलादेश बिक्री गरेको आरोप समेत जियाले लगाइन्। अर्कोतर्फ, हसिनाले दक्षिणपश्चिमी तटीय जिल्ला पटुआखालीमा आफ्नो नामबाट ‘शेख हसिना क्यान्टोनमेन्ट’ राखेको नयाँ शिविरको उद्घाटन गरिन्। उनीहरूबीचको पटक–पटकको संघर्षले बंगलादेशको अर्थतन्त्र धरासायी बनेको थियो। बीएनपीले २०१३ मा निर्वाचन बहिस्कार गरेको थियो। हसिनाले पाँच वर्ष एकछत्र रुपमा शासन गरिन्। २०१८ मा २५८ सिट हसिनाको पार्टीले जित्यो। जातीय पार्टीले २७ सिट जित्यो।

जियाको पार्टी पुनः निर्वाचनमा होमिएन्। चुनावमा ४० प्रतिशतभन्दा पनि कम मतदान भएको थियो । बीएनपीले धाँधलीपूर्ण भन्दै चुनाव मानेन्। चुनाव बहिष्कार गरेको बीएनपीले समस्या समाधानका लागि हसिनाको राजीनामा र तटस्थ निकायलाई नयाँ चुनाव गराउने जिम्मा दिनुपर्ने माग गर्दै आएको थियो। सत्तामा २ तिहाई भन्दा बढी मत पाएपछि हसिनाले बीएनपीका वरिष्ठ नेता जेल पठाइए।

जियालाई सन् २०१८ मा भ्रष्टचारको मुद्दा लगाएर १७ बर्षको लागि जेल पठाइएको थियो। जियालाई यथेष्ट प्रमाणबिना नै राजनीतिक प्रक्रियाबाट अलग गर्ने उद्देश्यले मुद्दा लगाइएको बारम्बार मानवअधिकारवादीले उठाउँदै आएका छन्। एमनेष्टी इन्टरनेसनलले पनि ‘निष्पक्ष सुनुवाइको अधिकार’ नदिइएको उल्लेख गरेको थियो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि जियालाई २०१९ मा उपचारका लागि अस्पताल सारिएको थियो । २०२० मार्चमा उनलाई आफ्नो घरबाहिर जान, राजनीतिक प्रक्रियामा सहभागी हुन र विदेशी जान नपाउने शर्तमा ६ महिनाका लागि रिहा गरिएको थियो । जियाका जेठा छोरा तारिक रहमान बेलायत निर्वासन छन्।
चर्चाको केन्द्रमा हसिना
सन् २०१८ मा फोब्र्स पत्रिकाद्वारा सार्वजनिक एक प्रतिवेदनका अनुसार विश्वका १०० क्षमताशाली महिलाको सूचीमा हसिना शीर्ष २६ मा पर्न सफल भएकी थिइन् भने सोही पत्रिकाद्वारा सन् २०१७ मा सार्वजनिक सोही शीर्षकको सूचीमा उनी ३०औँ स्थानमा रहेकी थिइन्। २०२३ मा आएर उनी ४६ औँ स्थानमा पुगिन्।

यो बाहेक शेख हसिनालाई अमेरिका स्थित पत्रिकाले विदेश नीतिको आधारमा विश्वका शीर्ष १०० विश्वव्यापी विचारकको सूचीमा सामेल गरेको थियो। पद्मा सेतु काण्ड, हलमार्क सनालि बैंक काण्ड, शेयर बजार काण्ड, रानम प्लाज ध्वस र बंगलादेश सडक सुरक्षा आन्दोलन आदि उनको शासनकालका केही प्रख्यात काण्ड छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार