इलाम : विद्यार्थी आन्दोलन कति शक्तिशाली हुन्छ भन्ने उदाहरण बंगलादेशको वर्तमान अवस्थालाई हेरे पुग्छ। लगातार १५ वर्ष ६ महिना सत्ताको बागडोर सम्हालेकी प्रधानमन्त्री शेख हसिना विद्यार्थी आन्दोलनको कोपभाजनमा परेर राजीनामा दिँदै देश छाडेर भाग्न बाध्य भइन्। बंगलादेशमा केही सरकारी पदमा महिला, जातीय अल्पसंख्यक र शारीरिक रूपमा अपांगता भएका व्यक्तिका लागि पनि आरक्षणको व्यवस्था छ।
एकतिहाइ पद भने ‘युद्धको समयका नायक’ वर्गीकृत मानिसका सन्तानका लागि छुट्याइएको थियो। यो व्यवस्था भेदभावपूर्ण भएको भन्दै असन्तुष्टि बढेको थियो। सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका थिए। सन् २०१८ मा विरोध प्रदर्शनपछि हसिना नेतृत्वको सरकारले त्यस्तो आरक्षण प्रणाली खारेज गरेको थियो । तर गत जुनमा अदालतले त्यस्तो प्रणालीलाई ब्युँताएपछि विद्यार्थी पुनः आन्दोलनमा उत्रेका थिए। अन्ततः त्यही आन्दोलन हसिनाको पतनको कारण बन्यो।
लामो विरोध प्रदर्शनपछि हिंसाको रूप लिएसँगै उनी प्रधानमन्त्री पदबाट राजीनामा दिएर उनी देश छाडेर भाग्न बाध्य भइन्। स्थानीय मिडियाले आफ्नी बहिनीसँग सैन्य हेलिकप्टरमा चढेको देखाएको केही समयपछि सैन्य प्रमुख जनरल वाकेर–उज–जमानले अन्तरिम सरकार गठनका लागि राष्ट्रपतिको निर्देशन खोज्ने योजना घोषणा गरे।
सत्तामा उदय
सन् २००९ जनवरीमा प्रधानमन्त्रीको रुपमा निर्वाचित भए यता उनको कार्यकाल लगातार १५ वर्ष ६ महिना रहयो। यो अवधिमा उनी चारपटक प्रधानमन्त्री चुनिइन्। त्यसअघि पनि उनले जुन १९९६ देखि जुलाई २००१ सम्म सत्ताको बागडोर सम्हालेकी थिइन्। २८ वर्षको अवधिमा २० वर्ष भन्दा बढी उनी प्रधानमन्त्रीको रूपमा सत्तामा रहिन्। २८ सेप्टेम्बर १९४७ मा जन्मेकी ७६ वर्षीय हसिना गत जनवरीमा सबै प्रमुख विपक्षी दलले चुनाव बहिस्कार गर्दा लगातार पाँचौँ कार्यकालका लागि निर्वाचित भइन्।
हजारौँ विपक्षी सदस्य चुनावको जेलमा परे। हालसम्म देशको नेतृत्वमा रहेकी उनी बंगलादेशको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहने व्यक्ति हुन्। बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर र इन्दिरा गान्धीभन्दा धेरै चुनाव जितेर उनी विश्वको सबैभन्दा लामो समय सेवा गर्ने महिला सरकार प्रमुख पनि थिइन्। यी बंगलादेशी नेतृले सन् १९८१ देखि बुबा शेख मुजिबुर रहमानले स्थापना गरेको अवामी लिगको नेतृत्व गरिरहेकी छिन्।
प्रतिद्वन्द्वी खालिदा जियालाई हराएपछि हसिना पहिलो पटक सन् १९९६ मा निर्वाचित भएर सत्तामा आएकी थिइन्। भारतसँग पानी सन्धि गर्ने र देशको दक्षिणपूर्वी क्षेत्रमा विद्रोहीसँग सन्धि गर्ने श्रेय हसिनालाई दिइन्छ। तर, उनीमाथि धेरै सम्झौतामा भ्रष्टाचार र भारतको प्रभावमा रहेको आरोप पनि लागेको थियो। पछि २००१ को चुनावमा उनको राजनीतिक सहयोगी–प्रतिद्वन्द्वी, बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० का जियासँग हार्न पुगिन्। राजनीतिक परिवारका उत्तराधिकारी यी दुई महिलाले तीन दशकसम्म बंगलादेशको राजनीतिमा प्रभुत्व जमाए। उनलाई ‘ब्याटलिङ बेगम’ पनि भनिन्छ।
पहिलो सफल कार्यकाल
प्रधानमन्त्रीको रूपमा उनको पहिलो कार्यकाल आर्थिक प्रगति र पूर्वाधार विकासले फड्को मारेको थियो। उनले बंगलादेशी अर्थतन्त्रलाई उदार बनाउँदै विदेशी लगानी आकर्षित गरिन्। नागरिकको जीवनस्तरमा भएको वृद्धिले उनी चर्चाको पात्र बन्न पुगिन्। यसरी, बंगलादेशले कपडा निर्यातमा उछाल देख्यो र उद्योगको लागि विश्वव्यापी हब बन्न सफल रहयो। शिक्षा र स्वास्थ्य हेरचाहमा दिएको ध्यानले उनको विश्व राजनीतिमा चर्चामा रहन पुगिन्। विशेषगरी विद्यालय तहका बालबालिकालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने उनको प्रमुख कार्यक्रम थियो।
यद्यपि, न्यायपालिकासँगको उनको सम्बन्ध यस समयमा तनावपूर्ण रहयो। जसले गर्दा राजनीतिकरण र स्वतन्त्रताको क्षयीकरणको आरोप लाग्यो। विशेष गरी इस्लामवादी जमात-ए-इस्लामी पार्टी विरुद्धको उनको दमनलाई मानवअधिकार समूहहरूको पनि आलोचना गरेको थियो। प्रधानमन्त्रीको रूपमा उनको कार्यकाल छोटिएको थियो जब बंगलादेश सन् २००६-२००८ को अवधिमा देश सैन्य शासनमा प्रवेश गर्यो।
देशले हिंस्रक सडक आन्दोलन पनि भोग्यो, जस्तै हालका महिनामा देखिएका छन्। सन् २००१ बाट २००८ सम्म उनी विपक्षी दलको नेताको रूपमा रहँदै निरन्तर सरकार विरोधी गतिविधिमा सक्रिय रहिन्। २००७ मा सैन्य सहयोगमा फक्रुदिन अहदमले अन्तरिम प्रधानमन्त्रीको कार्यभार सम्हाले। २००९ मा हसिना भारी जीतसँगै सत्तामा फर्किएर आफ्नो पकड सुदृढ पारिन्। धाँधली र धम्कीको आरोपबाट गुज्रिएर चुनावमार्फत थप दुई कार्यकाल समेत जित्न सफल रहिन्।
जब बुबासहित परिवारका सदस्य हत्या भयो
१५ अगस्ट १९७५ मा विद्रोही सेनाका अधिकारीहरूले सैन्य विद्रोहको क्रममा आफ्नो व्यक्तिगत निवासमा परिवारका अधिकांश सदस्यसहित बंगलादेशका तत्कालीन राष्ट्रपति शेख मुजिबुर रहमानको हत्या भएको थियो। हसिनाले आफ्ना बुबा आमा र तीन भाइहरू गुमाउन पुगिन्। हत्याका बेला हसिना र उनकी बहिनी शेख रेहाना विदेशमा थिए। पारिवारका सदस्य गुमाएपछि उनीहरूले पश्चिम जर्मनीस्थित बंगलादेशका राजदूतको घरमा शरण लिएका थिए। पछि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको आह्वानमा उनीहरूले भारतमा राजनीतिक शरण लिए । सैनिक शासकले स्वदेश फर्किन प्रतिबन्ध लगाएपछि हसिना करिब ६ वर्ष भारतमै रहिन्।
१६ फेब्रुअरी १९८१ मा अवामी लिगको अध्यक्ष भएपछि उनी मे १७ मा बंगलादेश फर्किइन् । त्यतिबेला उनलाई हजारौं समर्थकले स्वागत गरेका थिए। उनले अन्य राजनीतिक दलहरूसँग मिलेर जनरल हुसेन मोहम्मद एर्शादको सैन्य शासनविरुद्ध सडकमा प्रदर्शन गर्दै लोकतन्त्रको माग गरेकी थिइन्। देशमा भएको विद्रोहले शेख हसिनालाई ‘नेसनल आइकन’को रूपमा स्थापित गरेको थियो। यद्यपि उनी पनि २००४ मा राजनीतिक र्यालीमा भएको ग्रिनेड आक्रमणबाट जोगिएकी थिइन्। आक्रमणका कारण उनको श्रवणशक्तिमा क्षति पुगेको थियो।
निरंकुश बन्दा पतन
लामो समय सत्ता नेतृत्वमा रहेकी हसिनालाई विपक्षीहरुले लगातार बढ्दो निरंकुशताको आरोप लगाउँदै आएका छन्। र उनीबाट देशको लोकतन्त्रलाई खतराको रूपमा औल्याउँदै आएका छन्। उनकै कार्यकालमा सन् २०१८ मा प्रतिद्वन्द्वी जियालाई भ्रष्टाचारको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो। हसिना र जियाबीचको तिक्त राजनीतिक प्रतिस्पर्धाका कारण बंगलादेशमा बम विस्फोट, अपहरण र गैरन्यायिक हत्याका घटना सामान्य बनेको विश्लेषक बताउँछन्।
समाचार एजेन्सी एपीद्वारा उद्धृत विश्लेषकका अनुसार धेरैले वर्तमान अस्थिरता र अशान्ति हसिनाको बढ्दो अधिनायकवाद लकिर र कुनै पनि हालतमा नियन्त्रणको भोकको परिणामको रुपमा चित्रित गरेका छन्। अधिनायकवादका कारण राजीनामाको माग बढ्दै गए पनि हसिना अडिग रहिन्। उनले आन्दोलनकारीलाई ‘आतंकवादी’ भन्दै आलोचना गर्दै आएकी थिइन्। फलस्वरुप ढाका र देशका अन्य भागहरूमा सरकारी जागिरहरूमा आरक्षण खारेज गर्ने मागका साथ शुरु भएको विरोध प्रदर्शन व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भयो। त्यही नै उनको पतनको कारण बन्यो।
हसिनाले देश छाडेपछि बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले तत्काल अन्तरिम सरकार गठन हुने र संसद् विघटन हुने बताएका छन्। विद्यार्थी आन्दोलनका संयोजकहरूले नोबेल पुरस्कार विजेता डा। मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको खाका अघि बढाउने घोषणा गरेका छन्।


