Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

पर्यटनमा इलाम :  माईजोगमाई गाउँपालिका भित्रका ११ पर्यटकीय गन्तव्य (तस्बिरहरु)

पर्यटनमा इलाम :  माईजोगमाई गाउँपालिका भित्रका ११ पर्यटकीय गन्तव्य (तस्बिरहरु)

  • गंगा पराजुली
  • मंगलबार, माघ २३ २०८०


पर्यटनमा इलाम :  माईजोगमाई गाउँपालिका भित्रका ११ पर्यटकीय गन्तव्य (तस्बिरहरु)
इलाम (माईजोगमाई) :  हिउँसँग लुटपुटिदै, कुहिरोसँग साइनो गास्दै अनि सिरसिर चल्ने हावासँगै मनभरिका थकान मेटाउन सकिने माईजोगमाई गाउँपालिका इलामको पूर्वउत्तरमा अवस्थित छ । माईजोगमाई गाउँपालिमा  विश्वभरका असंख्य पर्यटक रमाउने पर्यटकीयस्थलले भरिपूर्ण छ । हिमश्रङ्खलाको दृश्य, प्राकृतिक सुन्दरतासँगै फकर–फरक मौसममा फुल्ने लालिगुराँस, सुनाखरीको सुगन्धले माईजोगमाई पुग्ने पर्यटकको मन फुरुङ्ग बनाउँछ । प्राकृतिक टावर झै अग्ला डाँडाहरुबाट दर्जनौ हिमालका चुचुराको दृश्यावलोकनले यहाँका पर्यटकीयस्थलमा पुग्ने जो कोहिलाई लोभ्याउँछ ।
प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, हरियाली वन जंगल, लोपउन्मुख वन्यजन्तु, चराचुरुङ्गी, सिमसार र धार्मिकस्थल माईजोगमाईमा हजारौँ पर्यटक भित्र्याउने आधार हुन् । जौबारी, फाटक, तुम्लिङ्ग, मेघमा, आहालभञ्ज्याङ्ग, थुम्के, नयाँबजार क्षेत्र अधिक पर्यटक पुग्ने माईजोगमाई गाउँपालिका भित्रका पर्यटकीयस्थल हुन् । उत्तरे पोखरी, मलु पोखरी, साङ्ग छोलिङ गुम्बा, महादेवस्थान, माइवेनी क्षेत्र, साततले झरना पनि प्रचुर पर्यटकीय संभावना भएका क्षेत्र हुन् ।
नयाँबजार 
माईजोगमाई गाउँपालिकाको केन्द्र हो,नयाँबजार । नयाँबजारको ऐतिहासिक र सांस्कृतिक महत्व छ । नयाँबजार २०११ सालमा स्थापना भएको ऐतिहासिक बजार हो । सन्त बालागुरुले बजार बसाए पछि नयाँबजारमा बालाचर्तुदशीका दिन हरेक वर्ष मेला लाग्ने गर्दछ ।

देश संघीय संरचनामा गएपछि नयाँबजार क्षेत्रमा सहरीकरण मात्रै बढेको छैन पूर्वाधार निर्माणको कामले पनि गति लिएको   छ । यहाँ पर्यटन पूर्वाधार निर्माणका काम पनि हुँदै आएका छन् । बजार क्षेत्रको नजिकै सन्त बालागुरुको प्रतिमा समेत निर्माण गरिएको छ । बालागुरुको प्रतिमासँगै बालागुरु शिवालय धाम समेत रहेको छ । शिवालय मन्दिर गुरुकुल शिक्षा अध्ययन समेत हुँदै आएकाले हिन्दु धर्मको आस्थाको केन्द्र बन्दै गएको हो । मन्दिरमा बालाचर्तुदशीको दिन मेला आयोजना हुन्छ । मेलामा नेपाल र भारतका भक्तजन, पर्यटकहरुको आवागमनले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको छ ।
नयाँबजार क्षेत्रकै दूर्गा मन्दिर बजार क्षेत्रको पर्यटनकको आकर्षण अर्को केन्द्र बनेको छ । पर्यटन प्रवद्र्धन गर्नका लागि र आपतकालिन अवस्थामा पानी प्रयोग गर्ने हेतुले पोखरी निर्माण गरेपछि पर्यटकको घुमफिरको केन्द्र बनेको हो ।
उत्तरे पोखरी 
नयाँबजारबाट ५ सय मिटरको यात्रापछि पुगिन्छ उत्तरे पोखरी । घना जंगलको बिचमा रहेको उत्तरे पोखरी प्राकृतिक सुन्दरताले भरिएको क्षेत्र हो । उत्तरे पोखरी धार्मिक हिसाबले पनि प्रख्यात छ । बालाचर्तुदशी को दिन सदबिउ छर्ने गरिएकाले पोखरीमा भक्तजनको भिड लाग्ने गरेको छ ।

पोखरी वरिपरि यात्राका लागि पदमार्ग निर्माण गरिएसँगै आन्तरिक पर्यटक आवागमन बढ्दै गएको पाइन्छ  । जसका कारण उत्तरे पोखरीको पर्यटकीय महत्व झनै बढेको हो । पोखरी वरिपरिको जंगलमा लोपउन्मुख वन्यजन्तु रेडपाण्डा र चराचुरुङ्गीको बासस्थानले गर्दा चराविज्ञसँगै वन्यजन्तु विज्ञको अनुसन्धानको केन्द्र समेत बनेको  छ ।

साङ्ग छोलिङ गुम्बा 
नयाँबजारबाट एक किलोमिटरको दुरीमा पर्ने साङ्ग छोलिङ गुम्बा पनि पर्यटकीय आकर्षणको अर्को गन्तव्य हो । बिक्रम सम्बत १९४० सालमा निर्माण भएको गुम्बामा नेपाल र भारतका पर्यटकहरुको घुमफिरको केन्द्र बनेको   छ । गुम्बाका कलात्मक आकृतिले यहाँ पुग्ने जो कोहिको मन फुरुङ्ग बनाउँछ ।

२०७२ सालको भुकम्पबाट पूर्णरुपमा क्षति पुगेको गुम्बाको अहिले पुनः निर्माण हुँदै आएको छ । ५ करोड लगानी गरि पुनः निर्माण गर्ने योजना रहेपनि अहिलेसम्म ३ करोड बढी खर्च भई रङरोगन र कलात्मक कृति बनाउने काम भइरहेको हो । गुम्बाको पुनः निर्माणमा श्रोत अभाव भएपनि दाताको सहयोगमा  यहाँ लामा शिक्षाको अध्ययन पनि गरिन्छ । गुम्बामा नेपाल, भारत, भुटानसम्मका विद्यार्थीहरुले लामा शिक्षाको अध्ययन गर्दै आएका छन् ।
ऐतिहासिक महत्व र आकर्षक बनावटले गर्दा पर्यटकको घुमफिरको केन्द्र बनेको छ साङ्ग छोलिङ गुम्बा । गुम्बा परिसर क्षेत्रमा पूर्वाधार थप गरि माईजोगमाई गाउँपालिकाले पर्यटकीय केन्द्र बनाउने योजना बनाएको छ । शिक्षा मन्त्रालय मार्फत गुम्बामा रिसे होसेर सेरेफ रडिलिङ्ग आधारभुत विद्यालय संचालन गरि लामा शिक्षासँगै आधुनिक शिक्षा समेत अध्यापन गराइदै आएको हो ।
नयाँबजारबाट उकालिएपछि पुगिने थुम्केरानी, आहालभञ्ज्याङ्ग, जौबारी, फाटक, तुम्लिङ्ग, टङ्लु र मेघमा माईजोगमाई गाउँपालिकाको पर्यटकीय कोरिडोर हो । यी पर्यटकीयस्थलमा हरेक वर्ष नेपाल र भारतबाट आउने २ लाख बढी पर्यटकहरुले घुुमिफिर गर्दै आएका छन् ।
थुम्केरानी 
माईजोगमाई गाउँपालिको केन्द्र नयाँबजार देखि ५ किलोमिटरको यात्रामा पुग्न सकिने पर्यटकीयस्थल हो, थुम्केरानी । पछिल्लो समय थुम्केरानीमा सुर्योदय र सुर्यास्तको दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकहरूको संख्या बढेको छ । इलाम सदरमुकाम इलाम बजारबाट सुर्योदय हेर्नको लागि सबै भन्दा नजिक पर्ने भएकाले पर्यटकहरुको पहिलो रोजाई थुम्केरानी बन्दै गएको हो ।

इलाम बजारदेखि सोयाङ हुँदै नयाँबजारसम्म गाडीबाट १ घन्टामा पुग्न सकिन्छ, थुम्केरानी । नयाँबजार बास बसेर बिहानै ३० मिनेटमा पुग्न सकिने भएपनि अहिले थुम्केरानी क्षेत्रमा नै होमस्टे संचालनमा आएका छन् । 

असोज, कात्तिक, मंसिर, चैत्र र बैशाख महिनामा थुम्के क्षेत्रमा बढी पर्यटकहरु पुग्ने गरेका छन् । समुुद्री सतहको २ हजार ४ सय मिटर उचाईमा रहेको थुम्केरानीको पहिचान यतिमा मात्रै समिति छैन ।
थुम्केरानी क्षेत्रबाट इलामका १० वटै स्थानीय तहसँगै तराईका फाटहरु पनि मज्जाले दृश्यावलोकन गर्न सकिन्छ । आँखै अगाडी नियाल्न सकिने छिमेकी देश भारतका पर्यटकीय सहरहरु दार्जिलिङ्ग, कर्साङको दृश्यले हरेक पर्यटकको मन फुरुङ्ग बनाउँछ । यहाँ पुग्ने पर्यटकले घना जंगल, फराकिला फाटहरु, हिमश्रृङ्खलासँगै लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको दृश्यावलोकन गर्न सक्नेछन् ।

लोपउन्मुख  र अति नै बहुमुल्य केशर खेती इलाममा पहिलो पटक थालिएपछि थुम्केरानी क्षेत्रको महत्व झनै बढेको छ । सहरी क्षेत्रबाट नजिक भएकाले अहिले थुम्के क्षेत्रमा खानेपानी, भ्युटावर, पार्क, सडक, गोलघर र पदमार्ग निर्माणको काम गरिँदै आएको छ ।
आहालभञ्ज्याङ्ग 
थुम्केरानीबाट तीन किलोमिटर यात्रामा पुगिने क्षेत्र हो आहालभञ्ज्याङ्ग । माईजोगमाई गाउँपालिका–२ मा अवस्थित आहालभञ्ज्याङ्ग विश्वभरबाट लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको हेर्न आउने पर्यटकहरुको बासस्थानको क्षेत्र हो । सन्दकपूर र माईजोगमाई गाउँपालिका भित्रका घना जंगलमा सरक्षित लोपउन्मुख सूचिमा पर्ने रेडपाण्डा अवलोकनका लागि नेपाल र भारत भएर तेस्रो मुलकका पर्यटक आहालभञ्ज्याङ्ग पुग्ने गरेका छन् ।
रेडपाण्डाका माध्यमबाट पर्यटन प्रवद्र्धनका कामको थालनीले आहालभञ्ज्याङ्ग क्षेत्रमा होमस्टे संचालन भएका हुन् । होमस्टे संचालनले स्थानीयबासीको आयआर्जनमा वृद्धि मात्रै भएको छैन, गाउँमा रोजगारीका अवसर थपिएका छन् । आहालभञ्ज्याङ्ग क्षेत्रमा बौद्ध धर्ममा आस्थाको केन्द्र बौद्ध गुम्बा समेत रहेको छ । गुम्बाले धार्मिक पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको छ ।
जौबारी 
आहालभञ्ज्याङ्गबाट ३ किलोमिटर उकालो पार गरेपछि पुगिन्छ, सुन्दर हिमाली व्यपारिक तथा पर्यटकीय केन्द्र जौबारी । जौबारीलाई इलामको मुस्ताङ समेत भनिन्छ । हिमाली चुचुरासँग कुम जोड्दै, लालिगुराँसको फुलमा रम्दै र प्राकृतिक छटामा स्वर्गीय आनन्द लिन सकिन्छ जौबारीमा । जौबारी क्षेत्र, देशको संघीय संरचना पछि सन्दकपर गाउँपालिका–५ र माई जोगमाई गाउँपालिका–२ मा अवस्थित छ ।
मोति झै टल्किने हिमाल र अनेकौँ परिकल्पनासँगै उदाउने सूर्योदयको दृश्यमा रम्न सकिने जौबारी पछिल्लो पटक नेपाल र भारतसँगै तेस्रो मुलकका  पर्यटकहरुको गन्तव्यस्थल बनेको हो । वर्षातयामको झरि, हुस्सुकुहिरो र हिउँदमा पर्ने बाक्लो हिमपात जौबारीमा पर्यटक तान्ने माध्यम हो । जौबारी पुग्दा स्वर्गीय आनन्द मोति झैँ टल्कने हिमालको दृश्यबाट लिन सकिन्छ ।  झरि, हुस्सुकुहिरो र हिउँदमा पर्ने बाक्लो हिउँको चिसोको वास्ता नगरि जौबारी पुग्ने पर्यटकलाई स्थानीयले न्यानो स्वागत गर्छन् ।
वर्षातसँगै बाक्लो हिमपात हुँदा जौबारीमा हिउँ खेल्ने पर्यटकहरुको भिड नै लाग्छ  । हिमाली क्षेत्रमा पाइने दर्जनौँ प्रजातिका जडिबुटी, असंख्य चराहरु, नेपाल र भारतका मनोरम दृश्यहरुले जौबारी पुग्ने हरेकको मन लोभ्याउँछ । भारतीय सीमा क्षेत्रबाट नजिकै रहेको जौबारी बजार प्रदेश नम्बर एककै प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर तिर लम्किएका पर्यटकको बास बस्ने रमणिय क्षेत्र हो । चित्रै चित्राले बनेका कलात्मक काठेघरहरुमा बस्दै स्थानीय शेर्पा, तामाङ, राई र गुरुङ जातीको परम्परागत संस्कृति र रसहसहनमा लुटपुटिदै अनि नेपाली गाउँघरहरु दृश्यअवलोकन गर्न बाह्य मुलकका धेरै पर्यटकहरु वर्षेनी यहाँ आउने गरेका छन् ।
नेपाल भारत सीमा क्षेत्रको जौवारीले अर्को पहिचान समेत स्थापित बनाएको छ । नेपाली किसानलाई आधुनिक कृषि प्रणालीको विकासमा सहयोग पु¥याउने हेतुले नेपाल सरकारले नेपाल कृषि अनुसन्धान परिषद् नार्क र आलुबाली तथा बागबानि विकास केन्द्र जौबारीमा पुनः स्थापना गरेपछि कृषि क्षेत्रमा लाग्ने किसानको अध्ययन अवलोकन केन्द्र समेत बनेको छ ।
लामो समय सरकारी उदासिनताले उजाड र खण्डहर बनेको आठ हजार ४ सय ४५ रोपनीमा फैलिएको आलु विकास क्षेत्र हाल आएर हराभरा बन्दै छ । हुस्सु र भुई कुहिरो लुकामारी खेल्ने जौबारी, तालपोखरी क्षेत्र अहिले कृषि बैज्ञानिकहरु र कृषि मजदुरहरुको ज्ञान सिप र पसिना बगाउने कर्मथलो बन्दै गएको हो ।
अहिले सन्दकपूर गाउँपालिका र माईजोगमाई गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकता दिएसँगै जौबारी पुग्ने आन्तरिक पर्यटकको संख्या बढेको   छ । यहाँ खोलिएका होमस्टे ग्रामिण होटेलहरु पर्यटकहरुलाई सेवा र सुविधा त दिएसँगै मनग्य आर्थिक आर्जनबाट स्थानीयबासी स्वरोजगार समेत भएका छन् । गाउँपालिकाको लेकाली क्षेत्रमा लोपउन्मुख गिद्धहरुको विचरणको दृश्यले आहा, जौबारी देश विदेशका पर्यटकको मन मुटुमै धड्किरहन्छ  ।
भारतपट्टि सिंहलिला संरक्षित क्षेत्र भएकाले माईजोगमाई गाउँपालिकाको माथिल्लो क्षेत्रमा वन्यजन्तु र चराचुरुङ्गीहरु आरक्षण क्षेत्रबाट सहजै आउजाउ र बसोबास गर्ने गरेका छन् । नेपाल भारत सीमा सुरक्षासँगै अपराध नियन्त्रण गर्न जौबारीमा अहिले नेपाल सरकारले शसस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्प नै स्थापना गरेपनि पर्यटकले निर्वाध रुपमा घुमफिर गर्न पाएका छन् ।
फाटक 
जौबारीबाट २ किलोमिटरको यात्रामा पुगिने क्षेत्र हो फाटक । फाटक क्षेत्र पर्यटकहरुले नेपाल र भारतका दर्जनौ हिमश्रङ्खलासँगै ग्रामिण भु–भागको दृश्यावलोकन गर्ने विश्वभरमा लोकप्रिय गन्तव्य हो । नेपाल भारतको सीमा रेखामा पर्ने फाटकमा नेपालबाट भारत र भारतबाट नेपाल आउजाउ गर्ने सडक जोडिएको   छ ।
फाटकबाट कंचनजंघा, कुम्भकर्ण, मनास्लु लगायतका हिमश्रङ्खालाको दृश्यमा रमाउन सकिन्छ ।  नेपाल भारतसँगै युरोपसम्मका पर्यटकहरुको गतन्तव्यस्थल  माईजोगमाई गाउँपालिका २ मा अवस्थित तुम्लिङ्ग, टङ्लु र मेघमा पर्दछन् ।
तुम्लिङ्ग 
फाकटबाट डेढ किलोमिटरको यात्रामा पुगिने तुम्लिङ्ग क्षेत्र साविक जोगमाई गाविसको शीरमा अवस्थित छ । २ हजार ९ सय ७० मिटर उचाईमा रहेको गुरुङ समुदायको बसोबास भएको क्षेत्र हो, तुम्लिङ ।
कञ्चनजंघा हिमश्रृङखला आँखै अगाडी देखिने तुम्लिङ क्षेत्र भारतीय सिंहलिला राष्ट्रिय निकुञ्ज भएकाले चराविज्ञ, प्रकृतिप्रेमिसँगै सयौँ पर्यटक  विश्वभरीबाट आउने गरेका छन् । सबैभन्दा धेरै हिमश्रङ्खला दृश्यावलोकन गर्न सकिने विश्वको एक मात्र पर्यटकीय क्षेत्र सन्दकपूर दैनिक पदयात्रामा निस्किएका सयौँ पर्यटकहरुको बासस्थानको केन्द्र हो, तुम्लिङ ।
तुम्लिङबाट ल्होत्से, सगरमाथा, लगायत दर्जनौँ हिमश्रङ्खलाहरु समेत देखिन्छ । भारतका पर्यटकले रुचाएको १० गन्तव्यमा पर्ने पर्यटकीयस्थलमा तुम्लिङ पर्दछ । नेपाल भारत सीमा क्षेत्र मानेभञ्ज्याङबाट करिब साढे १० किलोमिटर र इलामको फिक्कल चौकबाट नयाँबजार जौबारी हुँदै २९ किलोमिटरको यात्रामा तुम्लिङ पुगिन्छ ।  तुम्लिङ कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरमा भारत भएर जाने पर्यटकहरु बास बस्ने ठाउँले सु–परिचत छ ।
पवित्र जोगमाई खोलाको शिर समेत रहेकाले तुम्लिङको धार्मिक महत्व बढेको छ । भारतपट्टि सिंहलिला राष्ट्रिय निकुञ्ज रहेको तुम्लिङ क्षेत्रमा नेपालपट्टि मात्रै मानव बस्ति भएकाले यी बस्तिहरु पर्यटकले भरिभराउ हुन्छन् ।
तुम्लिङ क्षेत्रमा सबैभन्दा बढी भारत भएर पर्यटक आउँछन् । यहाँ पर्यटकीय सिजनको तीन महिनामा मात्रै ४५ हजार पर्यटकहरुले बास बसि सन्दकपुर पदयात्रा गरेको तथ्याङ्क छ ।  तुम्लिङबाट अघि बढेपछि पुगिने पर्यटकीय क्षेत्र हो, टङ्लु, गुराँसे अनि विश्वको सबैभन्दा धेरै वुद्ध मुर्ती भएको रमणिय क्षेत्र मेघमा । हामीले चै तुम्लिङको यात्रापछि टङ्लुको भ्रमण गर्ने योजना बनाएका छौँ ।
टङलु
तुम्लिङबाट बाट २ किलोमिटरको उकालो पार गरेपछि पुगिन्छ प्रकृतिले सिघारिएको क्षेत्र  टङलु । टङ्लु क्षेत्र समुन्द्र सतहबाट ३ हजार ७० मिटर उचाईमा पर्दछ । हिमाली दृश्य र प्रकृतिसँगै रमाउनका लागि हजारौँ पर्यटकमाझ टङ्लुले हरेक वर्ष लोकप्रियता कमाएको छ । हिमालसँगै कुम जोडाएर फोटो खिच्न पाउँदा टङ्लु पुग्ने जो कोहिको मन फुरुङ्ग बनाउँछ ।
मौसम खुल्ला भएको बेला भारतका सहर, नेपालको कोशी नदि समेत प्रष्टसँग देख्न सकिन्छ, टङ्लुबाट । साँझको समयमा झिलिमिल कर्साङ र दार्जिलिङको दृश्य अनी टङ्लुको पोखरी माथिको डाँडामा रमाउन पाउँदा आहा टङ्लु पुग्नुको मज्जा बेग्लै । नेपाल र भारत सीमा क्षेत्रमा पर्ने टङ्लुमा भारतपट्टि गेष्टहाउस संचालनको रहेको छ भने नेपाली बस्तिमा होमस्टे बास बसी पर्यटक रमाउँछन् ।
मेघमा 
टङ्लुबाट डेढ किलोमिटर यात्रामा पुगिने पर्यटकीय क्षेत्र हो मेघमा । २ हजार ६ सय मिटरको उचाइमा रहेको मेघमा क्षेत्रमा विश्वभरमा धेरै मुर्ति भएको बौद्ध धर्ममा आस्था राख्ने एक मात्र ऐतिहासिक गुम्बा हो । भारतपट्टि सिंहलीला नेश्नल पार्क क्षेत्र रहेको नेपाली बस्ती मेघमा धार्मिक हिसावले लोकप्रियता कमाएको हो ।
नामकै हिसाबले मेघमा प्राय जहिले पनि बादलले ढाकिरहन्छ । मेघमा घुम्न आउने पर्यटकलाई बौद्ध विहारले स्वागत गर्छ । यहाँको अलौकिक मौसमले छिनछिनमा विहारलाई लुकाउँदै प्रकट गराउँदा पर्यटकको मन फुरुङ्ग बनाउँदछ ।
सन् १९५० को दशकमा निर्माण भएका गुम्बा मध्येको एक हो मेघमा   गुम्बा ।  जसको नाम सांग्छेन उग्ययुर होसेल डेछेन छोलिङ गुम्बा हो । दक्षिण एसियामा सबैभन्दा धेरै मुर्तिहरु भएको गुम्बामा बुद्धको १०८ कर्मलाई झल्काउँछ । अहिले यो विश्वमा सबैभन्दा बढी मुर्ति भएको एक मात्र गुम्बा हो । बुद्ध धर्मावलम्बीहरुको भनाइ अनुसार वर्तमान दुनियाबाट अलग्गिने यात्राको क्रममा बुद्धको विभिन्न रुपको पुरा गर्नका लागि जति पनि रुप भेटिन्छन त्यो मानिसको कर्ममा निर्भर गर्ने गुम्बाभित्र रहेको मुर्तीले प्रस्ट झल्काउँछ ।
लेकाली बस्ति भएकाले मेघमा क्षेत्रमा वर्षातमा झरि कुहिरो र हिउँदमा हिउँले ढपम्क ढाक्छ । कुहिरो, झरी अनि हिउँ स्थानीयबासीको पर्यटक तान्ने माध्यम भएका छन् । मेघमामा भारतको दार्जिलिङ र नेपालबाट इलामको फिक्कल नयाँबजार हुँदै वर्षमा हजारौँ पर्यटक पुग्ने गरेका छन् ।
गुराँसे 
पर्यटकीय क्षेत्र मेघमा र तुम्लिङको बिचमा अवस्थित छ, गुराँसे । गुराँसे पुग्न मेघमाबाट डेढ किलोमिटर र तुम्लिङबाट २ किलोमिटर यात्रा गुर्नुपर्छ । इलामको प्रशिद्ध जोगमाई खोलाको मुहान क्षेत्र रहेको गुराँसे क्षेत्रमा सानो बस्ति पनि छ ।
बस्तिमा हिमाली क्षेत्रको पदयात्रामा निस्किएका पर्यटकहरुको खाना र बास बस्दै आएका छन् ।  गुराँसे क्षेत्रमा बौद्ध धर्मका अनुयायीले गुम्बा माने निर्माण मात्रै गरेका छैनन्, हिमाली चट्टानमा आकर्षक ढङ्गले कुदिएका बौद्ध लिपिले हरेक पर्यटकको ध्यान आकृष्टि गर्छ । गुराँसे क्षेत्रमा होमस्टे संचालन भएपछि पर्यटकहरु बास बस्नका लागि सहज भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार