सन्दकपुर (जौबारी) । पूर्वी पहाडी जिल्लाका किसानलाई उन्नत जातको बिऊ आलु बिक्रि गर्दै आएको इलामको जौबारीको बागवानी केन्द्र संकटमा परेको छ । प्रदेश सरकारले वागवानी केन्द्रको दरबन्दि कटौती गरि कृषि ज्ञान केन्द्रमा समायोजन गरेपछि पूर्वी पहाडका किसान समेत चिन्तित भएका छन् ।
सन्दकपुर ५ को जौबारीमा बागवानी विकास केन्द्र २०७० सालमा स्थापना भएको थियो । आलु खेतीको अनुसन्धानसँगै बिऊ आलु उत्पादन गरि बिक्रि गर्दै आएको बागवानी केन्द्रमा जनशक्तिको अभाव छ ।

बागवानी केन्द्रले ५ हेक्टर क्षेत्रफलमा आलु खेती अनुसन्धान र बिऊ आलु उत्पादन गर्दै आएको छ । राज्यको पुनः संरचनापछि प्रदेश सरकार मातहत रहेको बागवानी विकास केन्द्र छट्टै अनुसन्धान केन्द्रमा स्थापित थियो ।
तर प्रदेश सरकारले आर्थिक वर्ष ७९÷८० मा कृषि ज्ञान केन्द्रमा समायोजन गरेपछि बागवानी विकास केन्द्र संकटमा परेको छ । वागवानी विकास केन्द्र समायोजन गर्नु अघि प्राविधिक र प्रशासनिक जनशक्ति ११ जनाको थियो ।
तर ज्ञान केन्द्रमा समायोजनपछि दरबन्दि ४ जनाको मात्रै छ । त्यसमा पनि प्राविधिक जनशक्ति १ जना मात्रै हुँदा वागवानि विकास केन्द्र संकटमा परेको केन्द्र प्रमुख बालमुकुन्द पैग्राले बताए ।
वागवानी केन्द्र जौबारीले विभिन्न प्रजातीका आलुको बिऊ उत्पादन गर्दै आएको छ । केन्द्रमा जनकदेव, खुमल उपहार, डेजिरे र स्थानीय बिटे जातको आलुको बिऊ उत्पादन हुँदै आएको हो । केन्द्रमा यस वर्ष २५ मेट्रिक टन आलुको बिऊ उत्पादन भएको छ । उत्पादित ३ सय १५ मन बिऊ आलु मध्ये १ सय २ मन बिक्रि हुन बाँकी रहेको हो । बागवानी केन्द्र कउषि ज्ञान केन्द्रको फार्म व्यवस्था शाखाको रुपमा समायोजन हुँदा झनै समस्या भएको ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले बताए ।
किसानलाई उन्नत जातको बिऊ आलु उत्पादन र बिक्रि गर्दै आएको बागवानी केन्द्र समायोजनले किसान पनि चिन्तित भएका छन् । सहज रुपमा बिऊ आलु उपलब्ध गराउँदै आएको केन्द्र पुनः बन्द हुने चिन्ता किसानमा रहेको छ ।