फिक्कल । लोपोन्मुख लेप्चा समुदायले आज (सोमबार) मुख्य चाडको रुपमा २३४४ औं नामवन–नामआल–नामसुङ (नयाँ वर्ष) मनाएका छन् । सूर्योदय नगरपालिका–१० फिक्कलमा विभिन्न क्षेत्रबाट भेला भएर शुभकामना आदान प्रदान गर्दै चट्याङ बर्ष मनाएका हुन् । रोङ सेजुम ठी का बरिष्ठ सल्लाहकार प्रेम बहादुर लाप्चाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइलीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अवसरमा बुङथिङ्ग (पुजारी), लाप्चा नाटकका कलाकारहरु लगायतलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा वडाध्यक्ष पेमा उगेन लामा, प्याब्सन अध्यक्ष लाकेल लामा, नेपाली कांग्रेस सभापति जिवन नेपाल, नेकपा एमाले अध्यक्ष दुर्गादेवी भट्टराई, नेकपा एसका अध्यक्ष कमल गदाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन फुर्वा छिरिङ लाप्चा र विर बहादुर लाप्चाले संचालन गरेका थिए । लेप्चा समुदायले यो चाड असत्यमाथि सत्यको, पापमाथि धर्मको जित भई राक्षस र अन्याय–अत्याचारबाट मुक्त भएर नयाँ जीवन पाएको खुसीयालीमा मनाउँछन। घर–घरमा देवी–देवताको पूजा हुन्छ, आजको दिन भगवान्सँग आशीर्वाद माग्ने गरिन्छ । आजको दिन लेप्चा समुदायले अन्नको न्वागी खाने चलन पनि छ। ‘न्वागी’ अर्थ नयाँ बाली चढाएर खानु भन्ने बुझिन्छ।
आफूले फलाएको प्रत्येक बाली ईश्वरलाई चढाएर मात्र खाने गरेमा ‘दोष’ नलाग्ने विश्वास गरी न्वागीपूजा गरिन्छ । सूर्योदय नगरमा लोपोन्मुख लेप्चा समुदायको बाक्लो बसोबास छ। २०७८ सालको राष्ट्रिय जनगणनाले लोपोन्मुख लेप्चा समुदायको जनसंख्या केही बढेको देखाएको छ। तथ्यांकअनुसार नेपालमा लेप्चाको कुल जनसंख्या तीन हजार पाँच सय ७८ छ।
यसमध्ये एक हजार सात सय ६९ पुरुष र एक हजार आठ सय नौ महिला छन्। २०६८ सालको जनगणनामा लेप्चाको कुल जनसंख्या तीन हजार चार सय ४५ थियो। पछिल्लो गणनाअनुसार इलाममा लेप्चाको कुल जनसंख्या दुई हजार नौ सय ८३ छ। यसमध्ये एक हजार चार सय ९३ पुरुष र एक हजार चार सय ९० महिला छन्। इलामका पालिकामध्ये पनि सूर्योदय नगरमा सबैभन्दा बढी एक हजार छ सय ४० ( पुरुष आठ सय १५, महिला आठ सय २५) को बसोबास छ।
रोङमा नौ सय ९० (पुरुष चार सय ९४, महिला चार सय ९६), माइजोगमाई गाउँपालिकामा एक सय ९६ (पुरुष एक सय छ, महिला ९०) र इलाम नगरपालिकामा एक सय ५६ (पुरुष–महिला ७८ बराबरी) रहेको तथ्यांकमा उल्लेख छ।
इलामबाट झापासहित तराईका जिल्ला र विभिन्न प्रदेशमा लेप्चाको बसोबास देखिएको छ। कोशी प्रदेशमा तीन हजार तीन सय दुई लेप्चाको बसोबास रहेकामा पुरुष एक हजार छ सय ४० र महिला एक हजार छ सय ६२ छन्।
