Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

महिलालाई ‘बोल्ने कला’ सिकाउँदै रोङ

महिलालाई ‘बोल्ने कला’ सिकाउँदै रोङ

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर २८ २०८०


महिलालाई ‘बोल्ने कला’ सिकाउँदै रोङ

इलामको रोङ गाउँपालिका विशेषगरी ग्रामीण क्षेत्रका महिलालाई ‘बोल्ने कला’ सिकाउँदै छ । महिलाको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले उनीहरूलाई अरूका अघि निर्धक्क भएर बोल्न सिकाउन थालिएको हो । यसैक्रममा गाउँपालिकाको वडा १, शान्तिपुरमा महिलाका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

श्रीयम मिडिया प्रालिको आयोजना तथा रोङ गाउँपालिकाको सहयोगमा तीन दिने तालिम सम्पन्न भएको हो । तालिममा महिलालाई उद्घोषण र नेतृत्व विकासको सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको छ । तालिम समापन समारोहकी प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले महिलालाई घरको काममा मात्र नभई समाजको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याउन पालिकाले प्रयास गरिरहेको बताइन् ।

‘जबसम्म महिला घरभित्रै सीमित हुन्छन्, समाजमा कुनै परिवर्तन आउँदैन,’ उनले भनिन्, ‘महिलाले आफ्ना लागि र समाजका लागि आवाज उठाउन उनीहरूमा बोलीको सीप, बोल्ने तत्परता र आत्मविश्वास विकास गर्न जरुरी भएकाले तालिम सञ्चालन गरिएको हो ।’ उनले महिलामा आरक्षण सिटको मात्र भर नपरी ‘हामी पनि पुरुषसहर सबै क्षेत्रमा काम गर्न सक्षम छौं’ भन्ने भावना जागृत गर्न तालिमले सघाउने बताइन् ।

कार्यपालिका सदस्य लक्ष्मी नेपालीले महिलालाई सामाजिक संघ–संस्थादेखि राजनीतिक नेतृत्व लिन सक्षम बनाउनु आवश्यक रहेको बताइन् । ‘चुप लागेर बसिरहने हो भने हामी आफ्ना र गाउँ–समाजका समस्या बाहिर ल्याउन सक्दैनौं, समाधान गर्न सक्दैनौं,’ उनले भनिन्, ‘महिला आफ्ना र समाजका समस्या, समाधानका उपाय खोज्न तत्पर हुनुपर्छ, त्यसका लागि क्षमता विकास आवश्यक छ ।’

वडा सदस्य मनमाया राईले आफू पनि यस्तै तालिममा सहभागी भएपछि अरूका अघि बोल्न सक्ने भएको सुनाइन् । ‘हामीले जनप्रतिनिधि हुनुअघि यस्तो तालिम पाएनौं, जनप्रतिनिधि भएपछि अरूका अघि बोल्न निकै धक लाग्थ्यो,’ उनले सम्झिइन्, ‘पोहोर साल हामीले पनि यही तालिम लिएपछि बोल्न आँट आउन थालेको हो ।’ उनले महिलालाई बोलीका माध्यमबाट नेतृत्वमा ल्याउन आवश्यक रहेको बताइन् ।

वडा सदस्य रेशबहादुर राईले महिलाको क्षमता विकासले समाज परिवर्तनमा भूमिका निर्वाह गर्ने बताइन् । ‘यस्ता क्षमता र नेतृत्व विकास तालिम त आवश्यक छ नै, महिलालाई सुरुमा नधकाई आफ्ना कुरा आफैं राख्नसक्ने बनाउनु सबैले प्रयास गर्नुपर्छ ।’ अग्रज पत्रकार तथा सामाजिक अगुवा पदम विलासी राईले महिलाको सामाजिक र आर्थिक समृद्धिमा उद्घोषण तालिमले महत्वपूर्ण सहयोग गर्ने बताए ।

‘आफूलाई लागेका कुरा अरूका अघि राख्न नसकेर धेरै महिला समाजमा पछि परेको देखिन्छ,’ उनले भने, ‘महिला सशक्तीकरण र उनीहरूको बोल्ने तत्परता बढाउन तालिमले सहयोगी भूमिका निर्वाह गरेको छ । यस्ता तालिम वडा तहमा मात्र होइन, टोल–टोलमा आवश्यक छ ।’ तालिममा सहभागी ७८ वर्षीया रुक्मिणा नेउपानले जीवनमा पहिलोपटक माइक्रोफोन छुन पाएकामा खुसी व्यक्त गरिन् ।

‘उहिले हाम्रा पालमा न तालिम न नेतृत्व,’ उनले भनिन्, ‘अहिले बुढी भएपनि पहिलोपटक माइक समात्न पाइयो, अब हामीले त के गरौंला र, नयाँ पुस्ताले चाहिँ यो अवसर सदुपयोग गर्नुपर्छ ।’ ४९ जनाको सहभागिता रहेको तालिमको सहजीकरण प्रालि अध्यक्ष तथा नेपाल पत्रकार महासंघ इलाम शाखा सचिव भीम चापागाईं, महासंघ सदस्य मनोज अधिकारी र झापाकी अग्रज पत्रकार भीमा शिवाकोटीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार