इलाम। नेपाली भूमिमा चिया खेती शुरुआत भएको एक सय ६० वर्षपछि इलाममा पहिलो पटक चिया सम्वन्धी प्रविधिको पढाइ सुरु गरिएको छ । निर्यात वस्तुमध्ये विदेशी मुद्रा आर्जनका लागि पनि एक हिस्सा बन्न थालेको नेपाली चियाको क्षेत्रमा यो पढाइ निकै महत्त्वपूर्ण मानिएको छ ।
नेपालीहरूले अहिलेसम्म भारत र अन्य मुलुकहरूमा रोजगारीको क्रममा गएर सिकेकै भरमा तयारी चिया बनाउने गरेका थिए । यसपटकदेखि भने नेपालमै चिया प्राविधिक पढाइ सुरु गरिएको इलामको साखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयका प्रमुख दीपक खनालले जानकारी दिए । खनालका अनुसार देश भर बाट ४० विद्यार्थीले पहिलो पटक यो शिक्षालयमा चिया प्रविधि पढ्दैछन् । चिया प्रविधि प्रि–डिप्लोमा तह ९अप्रेन्टिसिप मोडिलाटी० मा रहेर चिया प्रविधिसम्बन्धी कक्षा सुरु गरिएको शिक्षालयका प्रमुख खनाल को भनाइ रहेको छ ।
चिया प्रविधि पढाइका लागि दुई वर्षे पाठ्यक्रम भने यसअघि नै स्वीकृत भइसकेको थियो । ‘यो शिक्षामा विद्यार्थीहरूले पहिलो तीन महिना शिक्षालयमा अध्ययन गर्नेछन् । त्यसपछि उद्योगहरूमा चिया प्रविधि सिकाइको अभ्यास हुनेछ, ‘यो पढाइमा ८० प्रतिशत चिया कारखानामा अभ्यास र २० प्रतिशत शिक्षालयमा पढाइ हुनेछ ।’प्रमुख खनालले भने, विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउन इलामका तीनजुरे चिया उत्पादक सहकारी संस्था, उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, हिमालयन साङ्ग्रिला, कञ्चनजङ्घा टी स्टेटलगायत करिब १५ कारखानामा व्यवस्था मिलाइएको छ ।
‘नेपालमा चियासम्बन्धी प्रविधि सिकाइको पढाइ कतै पनि छैन । गुणस्तरीय तयारी चिया निर्माणका लागि भारतबाटै प्राविधिकहरू ल्याउनु पर्ने बाध्यता छ, ‘शिक्षालय प्रमुख खनाल भन्छन्, ‘नेपालमै दक्ष जनशक्ति उत्पादन गर्दा त्यो जनशक्ति देशभित्र खुलेका चिया उद्योगहरूमा खपत हुनसक्छ ।’
विदेशीले मन पराउने राम्रो र गुणस्तरीय चिया कसरी बनाउने भन्ने मुख्य हात भने चिया बनाउने प्राविधिकहरूकै हातमा हुन्छ । अहिलेसम्म भारत र अन्य मुलुकहरूमा गएर सिकेकै भरमा नेपालीहरूले तयारी चिया बनाउने गरेका छन् । गोल्डन, गोल्डन पर्ल, ओलङ, ह्वाइटलगायत अनेक स्वादका चिया बनाउँदै आएका इलामस्थित जसवीरे चिया उद्योगका सञ्चालक तथा प्राविधिक शरद सुब्बा अहिलेसम्म अरुबाट सिकेकै भरमा सबै उद्योगहरूमा नेपाली चिया बन्ने गरेको बताउँछन् । अहिलेसम्म विशेषगरी भारतमा सिकेरै नेपाली उद्योगहरूले चिया बनाउँदैछन् । कतिपय उद्योगहरूमा त भारतीय नागरिक नै चिया प्राविधिक छन् ।
चिया प्रविधि पढाइका लागि यो वर्ष कोशी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ । मन्त्रालयको सहयोग हुन्जेल यो शिक्षा लिने विद्यार्थीहरूले बिना खर्च अध्ययन गर्न पाउनेछन् । चियाको मुख्य क्षेत्र रहेको इलाममै चिया प्रविधि पढाइ हुँदा चिया क्षेत्रका लागि पनि उत्साहजनक विषय रहेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई बताउँछन् ।
‘विश्वमै गोल्ड मेडल पाएको नेपाली चियाका लागि अझ गुणस्तरीय चिया उत्पादनका लागि दक्ष जनशक्ति आवश्यक छ, ‘राईले भने, ‘अब तालिमको सिकाइको भरमा मात्र होइन पढेरै आउने जनशक्तिले त्यो पुरा गर्छ भन्ने अपेक्षा छ ।विस १९२० सालमा इलामबाट सुरु भएको चिया खेती अहिले विस्तार भई देशका दर्जन बढी जिल्लाहरूमा फैलिएको छ।